कमरेड, राजावादी नै हौं त हामी ?

  • नारायण नेपाल

कमरेड किरण, माओवादीको पालुङटार बैठक आसपास तपार्ईंसँग लामो छलफल गरेका थियांै । पार्टी संसद्वादमा गयो, मचाहिँ त्यता जान्न भनेर आश्वस्त पारेपछि आन्दोलन नयाँ शिराबाट उठ्ने आशा र अपेक्षा गरेका थियौं ।

संसद्वादमा नफस्ने र फस्न नदिने अठोटलाई सलाम दिएर आएका थियौं तर आजको चर्तिकला हेर्दा लाग्छ, हिजो कहाँ जान हिँडेका थियाँै, कहाँ आइपुग्यौं । भन्नुहोस् पूर्व जान हिँडेको किन पश्चिम पुगियो । अचार खान भनेर रछ्यानमा गोलभेडाको बिउ रोप्दा धतुरो किन फल्यो ? आजभोलि माओवादी आन्दोलनको बद्नामी नेताको भ्रष्ट चरित्रले भएको हो । मानांै, माओवाद भनेको पित्तलको जलप लगाएको गजुर हो, जुन खुइलिएपछि कुरूप देखिन्छ । हिजो वर्गसंघर्षको भट्टीमा सुन सावित भएको माओवादी आज किन पित्तलमा परिणत भयो ? नीति बेठीक हो कि नेता ?

जातीय पहिचान र आत्मनिर्णयको अधिकारको मालेमावादी आधार के हो ? बिरालो बाँधेर बाउको श्राद्ध गर्ने उखानझैं लेनिनकालीन सोभियत रसियाको आत्मनिर्णयको अधिकार र स्वायत्तताको परिभाषा नेपालमा लागू हुन्छ ? फेरि अलग–अलग राज्य बनाएर लेनिनले झैं स्वायत्तता दिने हो कि के हो ? नेपालमा केन्द्रीकृतविरुद्ध स्वयं पञ्चायतले पनि स्वायत्तता र विकेन्द्रीकरणको कुरा नगरेको हो र ? हामीले उठाउने सत्ताको वर्गदृष्टिकोण र वर्गचरित्रको प्रश्न मुख्य होइन र ? तर वर्गको कुरा छाडेर कसले फसायो जातमा माओवादी आन्दोलनलाई ? कुन दुलोबाट कसरी पश्चिमा साम्राज्यवादको एजेण्डा छि¥यो ? के आजको दुनियाँ र नेपालमा क्रान्तिकारी माक्र्सवादको विकास सम्भव छैन ? छ भने कसरी ? पछिल्लो समय तपार्ईंहरूले भारतीय हस्तक्षेपविरुद्ध बनाएको संंयुतm मोर्चाले नेपाली बाम समर्थकको मन जित्न सफल भएको छ । यो देखावटी ओठे कुरा मात्र हो कि व्यावहारिक नै छ ?

माओ दिवसका दिन कुपण्डोलको एक कार्यक्रममा तपार्ईंले भन्नुभएछ– पहिचान छाडे, संघीयता छाडे । कमरेड विप्लव राजावादी नै हुन् त ? के त्यस्तै हो ? बाहिर–बाहिर काँधमा काँध मिलाउने र भित्र–भित्र धारेहात लगाउने पारा के हो ? संयुक्त मोर्चा बनाउने, कार्यगत एकता गर्ने, सार्वजनिक मञ्चमा बसेर जोडतोडले भाषण ठोक्ने तर बन्द कोठाभित्र कार्यकर्तालाई भड्काउने ? संसद्वादीसँग बालुवाटारमा हिमचिम गर्ने, साम्प्रदायिकतावादी र पृथकतावादीसँग आन्दोलनको मोर्चा कस्ने, क्रान्तिकारीसँग मोर्चा बनाउने तपार्ईंको दृष्टिकोण के हो ? नेपालका मधेसी दल र जनजातिको नाममा इण्डो पश्चिमा एजेण्टले फैलाएको विषाक्त चेतनाविरुद्ध तराई, मधेस, पहाड र हिमाल सबैतिर जाति–जनजातिका उत्पीडित श्रमिक गरिब वर्गलाई माक्र्सवादले सिकाउने कुरा के हो ? कि उनै पश्चिमाकै खैंजडीमा नाच्ने हो कम्युनिष्ट पनि ? यो पारा देख्दा हामी गोठाले जाँदा गोठाले गीत गाएर गोठाली मायाले जिस्क्याएझैं पो लाग्यो त कमरेड !

माया तिमी बेसारे निकै छौ
जसलाई भेट्यौ उसैलाई ठिक्कै छौ
झ्याम्मै माली गाई जुन तन्त्र आए नि
हाम्लाई उत्तिकै ।

नेपालको संघीयता र ०७२ को संविधानले देशलाई शान्ति र समृद्धि दियो कि अराजकता र द्वन्द्वमा धकेल्यो ? जातीय संघीयता र जातीय साम्प्रदायिकताको विषालु वायु किन मडारियो नेपाली समाजमा ? वर्ग संघर्षका मुद्दा किन ओझेल परे त यसबारे माक्र्सवादी धारणा के हो ? महाभारतकालीन युद्धको गुरु भीष्मपितामहले झैं तपार्ईं पनि सत्य पाण्डव नै हुन्, मचाहिँ कौरवको पक्षमा लागें भने झैं सोच त बनाउनुभएको होइन ? कर्णाली र कोसीमा मात्र भारतीय हस्तक्षेप छ कि देश सिक्कीमीकरण नै भएको छ । कोशी र कर्णाली बाहेकका एजेन्डामा पनि मोर्चा कस्दा के बिग्रन्छ ?

राजनीतिमा पहिचान नभएको नेता र पिँध नभएको पानी थाप्ने लोटा उही हो भन्ने गरिन्छ । हाम्रो नेपालमा कम्युनिष्ट राजनीतिको आधार के हो ? पहिचान के हो ? नेपालको राजनीति अर्थतन्त्र र सामाजिक रूपान्तरणको आन्दोलनमा मालेमावादको पहिचान कसरी झल्कने ? त्यो कसरी आमजनताले देख्ने र बुझ्ने ?

टिप्पणीहरू