मान्छे, चित्र हैन चरित्रको पूजा गर « Jana Aastha News Online
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022

मान्छे, चित्र हैन चरित्रको पूजा गर

प्रकाशित मिति :  २४ पुष २०७३, आईतवार ०७:५७


  • संकेत कोइराला

एकदिन प्रचण्ड र बाबुराम भट्टराई कतै गइरहेका बेला अकस्मात् एउटा भालु देखा परेछ । भालु देख्नेबित्तिकै बाबुरामलाई कुनै छनक नै नदिई प्रचण्ड हत्त न पत्त एउटा रूखमा उक्लिएछन् । र, हाँगामा छेकिएर बसेछन् । हेर्दाहेर्दै भालु भट्टराई छेउमै आइसकेछ । अक्कल र अनुभवले खारिएका उनलाई सुझेछ– ‘भुइँमा मरे जसरी लम्पसार परेर सुत्यो भने भालुले केही गर्दैन ।’ भालु आएर तलदेखि माथिसम्म शरीरका हरेक भाग सुँघेछ । सास पनि रोकेर सुतेका भट्टराईको शरीर मृत ठानेर भालु केही नगरी बाटो लागेछ । भालु बाटो लागेपछि रूख चढेका प्रचण्ड तल ओर्लिएर सोधेछन्– ‘भालुले तपार्ईंंको कानमा के साउती ग¥यो कमरेड ?’ रिसले आगो भएका भट्टराईले जवाफ दिएछन्, ‘भालुले भविष्यमा त्यस्ता साथीहरूसँग नहिँड्न सचेत गरायो, जसले आपत विपतमा आफ्नै साथीलाई बिर्सन्छन् र आफ्नो मात्र स्वार्थ हेर्छन् ।’

नयाँ पार्टी जन्माउनुको बाध्यता सम्भवतः डा. बाबुराम भट्टराई यस्तै घटनाको बेलिविस्तार लाएर गर्छन् होला । उमेर घर्किंदै गएपछि आफ्ना पालाको अन्तरंगमा रमाउनु उत्तरार्धको दिनचर्या हो । नेपालमा कम्युनिष्ट आन्दोलनको वर्ष जति पुग्यो, सोही अनुपातमा फुट्दै जानुको रहश्य पनि यही हो । कुर्सीमा बसेकाले कुर्सी बाहिर रहेमध्ये जसलाई खतरा ठान्छ , उसलाई ‘गद्दार’ को क्याप्सुल ख्वाइदिएपछि त्यो बाटोमा सधैं आफ्नो मात्र गाडी गुडाउन पाइने आकांक्षाका कारण घात, प्रतिघात पुस्तौनी उपहार बन्दै आएको छ । नेपालमा मात्र किन ? कम्युनिष्ट नामभित्र छिरेका झुसिलकिराका कारण यो आन्दोलन विश्वमै मानमर्दनको श्रृंखला बन्दै आएको छ । वर्ग शत्रुको नाममा संसारमा लाखौं–करोडौं मान्छे मारिएका छन् । अफगानिस्तानका कम्युनिष्टले सत्तामा जान राजा जाहिर शाहलाई हटाएर १५ लाख जनता मारे ।

ल्याटिन अमेरिकामा १ लाख मारिए । कम्बोडियामा १४ वर्षमा २० लाख मारिए । राजा नरोतम सिंहानुकलाई अपदस्थ गरेपछि पोलपोटले नरसंहार आरम्भ गरे । पूर्वीयुरोपका हंगेरी, पोल्याण्ड, अल्बानिया, पूर्वी जर्मनी, चेकोस्लोभाकिया र रुमानियाजस्ता राष्ट्रमा कम्युनिष्टको विरोध गर्ने १० लाख मारिए । किम इल सुङको शासनकालमा उत्तर कोरियामा कम्युनिष्टविरोधी २० लाख मारिए । चीनमा माओका पालामा लालसेनाले ६ करोड ५० लाखको सफाया गरे । सन् १९१७ को जनक्रान्तिपछि त्यहाँ करिब २ करोड मान्छे मारेर ७० वर्ष शासन चलाइयो । मांसाहारी वृक्षमा फस्टाएको यो परिवर्तन पानीको फोकाभैंm भयो । नेपालको संसद्मा झन्डै ७० प्रतिशत कम्युनिष्ट प्रतिनिधिको वर्चश्व छ । तर यहाँको क्रान्ति पनि कार्यकर्तालाई पुसको जाडोमा आइसक्रिम बेच्न पठाएर आपूm वातानुकूलित कोठामा क्रान्तिका गफ चुट्नुशिवाय केही भएन ।

पद नपाउञ्जेलका क्रान्तिकारीहरू पद पाउनासाथ आज्ञाकारी हुने प्रवृत्तिले यहाँका कम्युनिष्ट रिमिक्स ¥याप गीतजस्ता भएका छन् । छिनेर पेन्सिलको टुप्पोजत्रो हुँदा पनि क्रान्ति र धम्कीको भाषा नछोड्ने रोगबाट कोही निरपेक्ष देखिँदैनन् । केपी ओलीले प्रधानमन्त्री भएलगत्तै एक वर्षभित्र तुइन हटाउने फाइल सदर गरे । उही दर्शनबाट दीक्षित प्रचण्ड आए, उनले त झन् खोलै नभएको ठाउँमा पुल बनाउने खालका उडन्ते निर्णय गर्न थाले । मोबाइलमा फोर जी भिœयाउने सरकार तुइनका विषयमा माथापच्ची गरेर बस्छ । आफ्ना सन्तानलाई तुईनको एकदिने पाहुना बनाएर हेर त राजनीतिका हेड सरहरू ! जिन्दगीको मूल्य कति रहेछ ? थाहा पाउनेछौ । ती साना बालबालिकाले दैनिक भोगेको सास्ती तिमीहरूप्रतिको श्राप हो । यस्ता विषयलाई राजनीति बनाउनु आमाको पवित्र दशधारा दूधसँग खेल्नुजस्तै हो । पहिला पो पाप धुरीबाट कराउँथ्यो । तर अहिले पाप वायुको गतिमा बग्छ । हरेक व्यक्तिको मन, मस्तिष्कमा सल्बलाउँछ । नेपालमा चिमोटेको पीडाले अमेरिकामा बस्ने मुच्र्छा पर्छ । त्यसैले कुर्सीलाई गैंडाको छालाजस्तो ढालतरबार बनाउनेहरूको ओरालो यात्रा सुनिश्चित छ ।

०१५ सालमा अभूतपूर्व मत ल्याएपछि कांग्रेसजनमा उत्साह छायो । बिपी प्रधानमन्त्री हुने निश्चित भयो । तर बिपी पत्नी सुशीलाले पतिलाई सम्झाउँदै भनिन्, ‘राजाको भित्री इच्छा सुवर्णसमशेरलाई प्रधानमन्त्री बनाउने छ । त्यसैले तपार्ईंं यसपटक उहाँलाई छाडिदिनुस् ।’ बिपीले नमानेपछि सुशीलाले आफ्नो निर्णय सुनाउँदै भनिन्, ‘तपार्ईंंकी अर्धांगिनी भएर जानुपर्ने औपचारिक कार्यक्रमबाहेक अन्यत्र उपस्थित हुन सक्दिन । प्रधानमन्त्रीको सरकारी निवासमा पनि मेरो बस्ने इच्छा छैन ।’ सुशीलाले बिपी प्रधानमन्त्री रहुञ्जेल सरकारी निवास टेकिनन् । आखिर सुशीलाको दूरदृष्टि सही प्रमाणित भयो । पति सरकारमा पुगेको १६ महिनामै राजनीतिक ‘कु’ को शिकार भए । उनले सिफारिस गरेको व्यक्ति सुवर्णसमशेर ‘कु’ को अघिल्लो दिन राजाको इशारामा भारत रवाना भए । थाहा छैन– एकमुठी खरानीका लागि घरमा आगो लगाउन पति उक्साउने बालुवाटारे लेडीफष्र्टले सुशीला कोइरालाको यो महानतालाई किन आत्मसात् गर्न सक्दैनन् ?

गणतान्त्रिक नेपालको कार्यकारी निकाय प्रधानमन्त्री कार्यालयको कार्यप्रणालीबाटै स्पष्ट हुन्छ– सिंगो सिंहदरबार बोधार्थ निकायबाहेक केही होइन । मुख्य सचिवका अतिरिक्त चारवटा सचिव छन् । सहसचिव, उपसचिव, शाखा अधिकृतको संख्या पनि मनग्य छ । त्यहाँ रहेका चार सय बढी कर्मचारीको एक मात्र काम प्रधानमन्त्रीलाई सहयोग गर्नु हो । तर, बालुवाटारले सचिवालयका नाममा खडा गर्ने चण्डमुण्ड, हुक्के ढोके, नन्दी भृङ्गीका अगाडि यो शक्ति निरीह र अल्टर हुन्छ । प्रधानमन्त्रीको निजी सचिवालयका नाममा खडा हुने समानान्तर सरकार, जसको काम अघोषित रूपमा दलालीलाई संस्थागत गर्नेबाहेक केही भएको छैन । राजनीतिक भागबण्डामा ‘सेटिङ’गर्ने कर्म यही मण्डलीबाट हुने गरेको विगत इतिहास अहिले पनि उही लिगमा दौडिएको छ । लोकसेवा लडेर आएका कर्मचारीलाई पार्टीको झण्डा भिराएर अदलबदल गर्नेदेखि रसातलसम्म पु¥याउने खेलकुद यही कथित शक्तिकेन्द्रबाट हुन्छ । बालुवाटारको नम्बर नदेखिने फोनबाट दर्जनौं प्रधानमन्त्री भएर फोन दबाउँछन् । थानकोट, कालिकोटदेखि पेटिकोटसम्मका काम मिलाउन दबाब दिन्छन् ।

सन्तान नभएका केपी ओलीलाई फास्टफुड कल्चरमा हुर्किएका रेडिमेड बा भन्नेहरूले त छाडेनन् भने सन्तान हुनेको हविगत के होला ? पैसा भएको कन्तुरमा मुसाको खुट्टा प¥यो भने त ऊ अरू बेला भन्दा बढी उफ्रिने तागत राख्छ भने अहिलेका प्रधानमन्त्रीका छोरा अदीप्त प्रकाश भए पनि सत्ता र शक्तिबाट उनमा बढेको चमक सवैले अनुभव गरेकै छन् । त्यसो त एउटा अनौठो सुयोग मान्नुपर्छ– नेपाली राजनीतिका शीर्षस्थ नेताका सन्तानको नाम प्रकाश जुरेको छ । जेलका कुनामा सल्लाह गरेर यो नाम राखेको त पक्कै होइन होला । आफ्नो शेषपछि समाजमा सूर्यजस्तै ओजस्वी, तेजस्वी होउन् भन्ने उनीहरूको सपनाले चाहिँ हावा खाएको छ । बिपीपुत्र प्रकाश, मनमोहनपुत्र प्रकाश, गणेशमानपुत्र प्रकाश, प्रचण्डपुत्र प्रकाश कुनै प्रकाशमा बाउको नाम धान्ने क्षमता देखिएन । कसैको दबाबमा गलत काम गर्नुभन्दा कार्यालय पुगेर दिउँसै निदाउने कृष्णप्रसाद भट्टराईको दैनिकी बरु अब्बल प्रमाणित भयो । कोही कसैप्रति पूर्वाग्रह हैन, आफ्नो सचिवालयको वजनतर्पm प्रधानमन्त्री सचेत नहुने हो भने सरकारको मर्यादा एउटा पेटी ठेकेदारबाट अर्को पेटी ठेकेदारको अदलीबदलीमा सीमित हुनेछ । प्रधानमन्त्रीको मर्यादा पनि देउराली अबिर दलिएको रातो ढुंगाजस्तै औपचारिकताको शिर झुकाइमा सीमित हुनेछ । ढुंगाको अबिर पानीले पखालेका दिन त औकात उही म्याउकै अवस्थामा झर्ने दिनको पर्खाइ हो । पुलिसले घेरा हालेर ठूलो भइने भए त अपराधीलाई पनि सेन्ट्री दिएर सयौं जेलमा रातदिन पुलिसले रुँगेकै छ ।

सरकारका मन्त्रीहरूलाई लाग्दो हो– सृष्टिको शुरुवात उनीहरूले शपथ लिएपछि बल्ल भएको हो । उनीहरूले बोलेको शब्द ब्रह्म वाक्य हो । अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेका थिए– ‘सरकार भनेको सिंहमाथिको सवारी जस्तै हो । झरौं उसैले आहार बनाउने, नझरौं हात गलेर फतक्क हुने ।’ तर हाम्रो परिवेशमा सरकारको आसन विलासिताको चरम विन्दु हो । जहाँ पुगेपछि कालिदासहरू रातारात चाणक्य हुन्छन् । मूर्खहरू सरस्वतीका वरद्पुत्र हुन्छन् । पानीमरुवाहरू वीर हनुमान कहलाइन्छन् । गाउँका कुखुरा चोरहरू मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन् । अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ– यही हो प्रजातन्त्रको सुन्दर अभ्यास । अहिले त झन् अराजकतालाई संघीय र समावेशी गणतन्त्रको पदवी भिराइने अभ्यास तीब्र गतिमा भएका छन् ।

ठूलो भएर के गर्नु कैंचीले छुट्याउने काम गर्छ तर हेपिएको त्यही सानो सियोले हरदम जोड्छ । त्यसैले मानिसले जोडिने कर्म गर्नुपर्छ । फाटेको त बादल मात्र राम्रो हो नि ! सिक्न टाढा जानै पर्दैन । मानिसले किन दुःख पाउँदो रहेछ भन्ने उत्तर खोज्न निस्कँदा सिद्धार्थ राजकुमार भगवान गौतम बुद्ध भएर प्रकट भए । कार्पेन्टरको छोरो यशुक्रिष्ट भएर उदाउलान् भनेर कसले विश्वास गरेको थियो ? प्रजातन्त्रको जननी बेलायतलाई मान्यौं तर हामी त्यस्तो पावन भूमिका नागरिक हौं, जनकपुरका राजा जनकले आफ्नी छोरी सीताको विवाह गर्दा समेत प्रजातान्त्रिक प्रक्रिया अपनाएर बरको छनौट गरे । धनु उठाउने प्रतिस्पर्धामा अब्बल ठहरिएपछि अयोध्याका राजकुमार रामले सीताको हात थाम्ने अवसर पाए । धार्मिक ग्रन्थबाट नै लोकअभ्यास गरिएको त्यो भूमिलाई तँछाड मछाडको केन्द्र बनाइएको छ । सवैको अस्तित्व देखिने सलादजस्तो लोकतन्त्र छोडेर हामी जसको लाठी, उसको भैंसीतर्पm उन्मुख छौं । शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ ।

जीवन असन्तोष हो, जो सँग जे छ त्यसले हुँदैन पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ । नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो नि ! हाम्रो समाजमा एकथरि मान्छे छन्, जसलाई गंगा आए गंगै ठीक, जमुना आए जमुनै ठीक । अर्काथरि मान्छे जो यति अतिवादी छन् कि समाधानभित्र पनि समस्या खोजिदिन्छन् । तेस्रोथरीको त रोगै विचित्रको छ, उनीहरू संसारका भएजति सबै दुःख बटुल्छन् अनि खोज्छन्– सुख ।

जो कसैको कुरा सुन्दैन त्यो असफल । जो सबैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ, नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन् । तर, म त भन्छु– त्यो वर्ग भडखारोमा परेर अहिले मासुभात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । सुखी हुने उपायः आपूmसँग जे छैन, त्यो बिर्सनु नै सुख हो । मानिस बाँच्छ वर्तमानमा तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाऊँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छ । भाकल गरिन्छ । कति निर्दोष पशुपक्षी बलि चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने ? प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा । अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रूपमा समर्पित हुने मान्छे आफ्नै आँखाअगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ । एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर, धेरैको संवेदनाले छुँदैन । आजको मानिस चित्रको पूजा धेरै र चरित्रको कम गर्छ । मानिसले चित्रको होइन, चरित्रको पूजा गर्नुपर्छ । जुन दिन तपार्ईंं चरित्र र चित्रको भेद खुट्याउन सफल हुनुहुनेछ । मान्नुस् तपार्ईंं आत्मज्ञानी हुनुभयो ।

मन्दिरमा त मोबाइलको मोहले छाड्दैन भने फेरि शान्तिको खोजी कसरी पूरा हुन सक्छ ? अध्यात्म शास्त्रमा हैन भावमा हुन्छ । लाटोलाई पनि चिनीको स्वाद थाहा हुन्छ । नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ । कक्षाको सबैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ । कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाले शिक्षक पनि सफल हु“दैन । जिन्दगी लिकमा गुडेको रेल र सडकमा गुडेको गाडीजस्तो गुड्दैन । जसरी खोलाको पानीका लागि बाटो खनिएको हु“दैन, त्यसरी नै जिन्दगीको बाटो पनि अनिश्चित हुन्छ । मन सफा सेतो कपडाजस्तै हो । यसलाई जुन रंगमा डुबाइदियो, त्यसमा त्यही रंग चढ्छ । मानिसले पन्छी जसरी आरामले उड्न सिक्यो । माछासरह पानीमा पौडन जान्यो । तर, मान्छे जसरी पृथ्वीमा रहन भने अभैm जानेन ।


प्रतिक्रिया दिनुहोस !