ज्योतिषको प्रधानमन्त्री

ज्योतिषको प्रधानमन्त्री

नयाँ प्रधानमन्त्रीमा फेरि पुरानै मान्छे आएको छ । नाम हो शेरबहादुर देउवा । यो उहाँको पाँचौँ पटकको सत्ता यात्रा हो । अब एउटै मान्छे यसरी घरी घरी प्रधानमन्त्री बनिरहेको केही मान्छेलाई मन नपरेको पनि हुन सक्छ ।

तर मन नपरेर के गर्नु, ज्योतिषले नै उहाँलाई सात चोटिसम्म प्रधानमन्त्री बन्ने योग छ भनेका छन् । अब ज्योतिषले भनेको कसले टार्न सक्छ ? अर्को दुई चोटी त उहाँलाई फेरि प्रधानमन्त्री बनाउनु नै छ ।

श्री देउवालाई जनताले त प्रधानमन्त्री बनाएको हुँदै होइन । किनभने गएको चुनावमा उहाँको पार्टी नराम्ररी हारेको थियो, सबैलाई थाहा छ । तर जनताले प्रधानमन्त्री नबनाए पनि ज्योतिषले बनाइदियो । यदि ज्योतिष नभएको भए उहाँ यसरी फेरि प्रधानमन्त्री बन्नुहुन्थ्यो ? त्यो त सम्भवै थिएन । चुनाव हारेको मान्छे पनि कहीँ प्रधानमन्त्री बन्छ ? हिसाबले त नबन्नुपर्ने हो । तर बनिदियो ।

ज्योतिषको कारणले । राजनीतिमा लाग्नेहरूले बुझ्नुपर्ने कुरा हो यो । ज्योतिष साथमा छ भने जनताले भोटै नदिए पनि प्रधानमन्त्री बन्न सकिन्छ । भोट भनेको त आउन पनि सक्छ, नआउन पनि सक्छ ।

भोटको के भरोसा ? भरोसा गर्न सकिने त ज्योतिषलाई मात्रै हो । ज्योतिषमाथि भरोसा गरेको कारणले के फल प्राप्त भयो, देखिहाल्नुभयो । देख्नुभएन ?

टिप्पणीहरू