दुई तिहाइदेखि बालकाेटसम्म

दुई तिहाइदेखि बालकाेटसम्म

अन्ततः प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बाहिरिनुभयो । उहाँ त जे गर्दा पनि निक्लन मान्नुभएको थिएन । आखिर सर्वोच्च अदालतले निकालिदियो । यो एक किसिमले सर्वोच्चबाट घोक्राइएकै हो ।

कुनै बेला उहाँ यो देशको दुई तिहाइ बहुमतवाला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यस्तो दुई तिहाइ आजसम्म कसैलाई पनि प्राप्त भएको छैन । उहाँ त्यस्तो कसैलाई पनि प्राप्त नभएको बहुमतवाला प्रधानमन्त्री हुनुहुन्थ्यो ।

त्यसपछि त्यो दुई तिहाइ बहुमत खस्केर सामान्य बहुमतमा झर्‍यो । त्यसको पनि बाल मतलब भएन । किनभने उहाँसँग बहुमत सामान्य मात्र भए पनि शक्ति भने असामान्य खालकै थियो ।

पछि त्यो सामान्य बहुमत पनि तल झरेर अल्पमतमा पुग्नुभयो । दुई तिहाइ बहुमतको प्रधानमन्त्री, त्यसरी खस्केर अल्पमतमा पुग्नु साँच्चिकै दुःखद् कुरो थियो ।

तर, उहाँलाई भने त्यति हुँदा पनि कुनै फरक परेको थिएन । अन्ततः उहाँसँग त्यो अल्पमत पनि रहेन । र, सरकारबाट घाक््रयाएर निकालिनुभयो । उहाँ राजीनामा दिएर निक्लिनुभएको थिएन । मत कम आएर निक्लिनुभएको थिएन । उहाँ त सिधा सर्वोच्चबाट घोक्राएपछि मात्रै निक्लिनुभएको हो ।

कुनै बेला दुई तिहाइ बहुमत भएको प्रधानमन्त्री आज आफ्नै कारणले घोक्राईबाट निक्लिनु पर्‍यो । कति विडम्बना !

टिप्पणीहरू