देउवाले पनि बदला लिए के होला ?

देउवाले पनि बदला लिए के होला ?

लोकतान्त्रिक शासन व्यवस्थामा शासकहरुमा पनि लोकतान्त्रिक चरित्रको अपेक्षा गरिएको हुन्छ । शासकहरु जति लोकतान्त्रिक हुन्छन्,शासन व्यवस्था पनि त्यति नै लोकतान्त्रिक हुन्छ । अर्थात् शासकीय चरित्रले लोकतन्त्रको मूल्य निर्धारण गरिरहेको हुन्छ । तर,कहिलेकाहीँ शासकहरुमा सत्ता र शक्तिको यति धेरै उन्माद चढ्छ कि उनीहरुका गतिविधि लोकतन्त्रका लागि खतरा बनिरहेका हुन्छन् । त्यस्ता शासकहरु सत्ता र शक्तिको आडमा फरक विचारलाई निस्तेज पार्न आलोचकमाथि प्रतिशोध साँध्ने गर्छन् ।

भन्न त राजनीतिमा स्थायी शत्रु र मित्र दुवै हुँदैनन् भनिन्छ । अर्थात् अन्य शक्तिसँगको सम्बन्ध सापेक्षतामा निर्धारित हुन्छ । शत्रु या मित्र जे किटान गरे पनि ऊसँगको सम्बन्ध लोकतान्त्रिक मूल्य,मान्यताका आधारमा कायम हुन्छ,हुनुपर्छ । तर,शासकमा लोकतान्त्रिक चेत र चरित्रको अभाव हुँदा सत्तालाई बदला लिने शक्तिका रुपमा प्रयोग गर्ने गरेको देखिन्छ । लोकतन्त्रको लामो अभ्यास गरिसकेका कतिपय मुलुकमा समेत यदाकदा यस्ता घटना सुन्ने गरिएको छ ।

भारतमा मोरारजी देसाइको शासनपछि सत्तामा आएकी काँग्रेस आइकी नेतृ इन्दिरा गान्धीले साह आयोग गठन गरेर नेताहरुमाथि बदला लिएको इतिहास छ । नेपालमै पनि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर दलका नेताहरुलाई बदला लिएका थिए । भ्रष्टाचार नियन्त्रणको आवरणमा गठन गरिएको शाही आयोगले दलमाथि नै नियन्त्रणको प्रयास गरेको थियो ।

बाँस्कोटाको लेनदेनको प्रमाण पुगेन तर पाठकको पुग्यो । दुबैको हकमा अडियो मात्र बाहिरिएको हो,एक सुको बरामद भएको हैन । लोकमानले नेतालाई १३ पन्ने भराएर दु:ख दिँदाको परिणाम के भयो ?

दलीय व्यवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविक हो, यसलाई प्रतिशोधको राजनीति भन्न मिल्दैन । तर,संवैधानिक निकाय र आयोगमाथि एकलौटी गरेर विरोधीलाई तर्साउनु चैं प्रतिशोधको राजनीति हो । गणतन्त्र प्राप्तिपछि पनि यस्ता प्रयास बेलाबेला भएको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो साढे तीन वर्षे प्रधानमन्त्रीकालमा यस्ता प्रयास धेरै भए ।

ओलीले सत्ता र शक्ति हातमा हुँदा संवैधानिक निकाय र आयोगमा आफ्नो अनुकूलका मान्छे भर्ति गर्दै जानुभयो । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आफू अनुकूलको ऐन पनि बनाउनुभयो । त्यहि ऐनको बलमा संवैधानिक नियुक्तिमा एकछत्र गर्नुभयो । जसको अन्तर्निहित उद्देश्य पार्टीभित्र र बाहिरका विरोधी खेमालाई तर्साउनु देखिन्छ । आवश्यक पर्दा प्रयोग गर्ने गरी मसँग राज्यका सबै शक्ति तैनाथ छन् भन्ने सन्देश दिएर विरोधका स्वर मत्थर पार्ने रणनीतिका साथ यस्तो गरिएको बुझ्न सकिन्छ ।

शक्तिशाली सरकारको नेतृत्व गर्दा मात्र होइन,अल्पमतमा पर्दा पनि उहाँले सत्ताको आडमा विपक्षी खेमालाई साइजमा राख्ने प्रयास गर्नुभयो । सेनापति पूर्णचन्द्र थापा,अख्तियार प्रमुख नवीन घिमिरे,प्रधानन्यायाधीश चोलेन्द्र समशेरलाई मध्यराति लाइन लगाएर बालुवाटारमा भेट्दै उहाँले ‘मैले चाहे जे पनि गर्न सक्छु’ भन्ने सन्देश प्रवाह गरि नै रहनुभयो ।

ओलीले आफूविरुध्द आवाज उठाउने आफ्नै पार्टीका नेताहरुलाई पुराना निर्णयका फाइल पल्टाएर मुद्दामा फसाउने तयारी गरेपछि तत्कालीन नेकपामा लफडा निम्तिएको थियो । प्रचण्डलाई लडाकू शिविर घोटाला काण्डमा जेल पुर्याउने र माधव नेपाललाई ललिता निवास जग्गा प्रकरणमा फसाउने ओलीको योजना चुहिएपछि प्रचण्ड-नेपालको गठवन्धन बलियो हुँदै विभाजनसम्मको अवस्था बनेको भन्नेहरु पनि छन् ।

त्यस्तै,वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरण र सुन काण्ड छानविन गर्ने नाममा तर्साएको चर्चा पनि थियो ।

ओली सिंगापुर उपचार गर्न जानुपूर्व बालुवाटार जानुभएका माधव नेपालमाथि गरिएको दुर्व्यवहार बदलाको भावनाबाटै प्रेरित थियो । नेता नेपालले स्वास्थ्य लाभको कामना गर्दा ‘मलाई तपाईंको कामना चाहिंदैन’ भनी सबैका अगाडि बेइज्जत गरेर ओलीले आफूमाथि राजनीतिक प्रतिशोध साँधेको नेता नेपालको गुनासो थियो । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई सर्लाहीमा सर्प पालनका नाममा ७० करोड तलमाथि पारेको भन्दै अनावश्यक हल्ला चलाएको गुनासो पनि छ । हुँदै नभएको सर्प उत्पादन केन्द्रलाई रकम दिएको र त्यसैको मुद्दा उल्टिने हल्ला चलाएर ओलीले बदला लिन खोजेको एमालेका कतिपय नेताहरु अहिले पनि बताउँछन् ।

अब नयाँ सरकारले पनि यस्तै बदलाको भावनाले काम गर्यो भने के होला भन्ने प्रश्न उब्जन्छ । ओलीका खासपात्र भनेर चिनिएका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि ७० करोड घुस बार्गेनिंग गरेको आरोप छ । ओम्नी र यति प्रकरण पनि छँदैछ । ७० करोड अडियो काण्डको ओली आफैले डिफेन्ड गर्नुभएको थियो । यति र ओम्नीको पनि उहाँले जमेर प्रतिरक्षा गर्नुभएको हो ।

तत्कालीन अख्तियार आयुक्त राजनारायण पाठकले भक्तपुर इञ्जिनियरिङ्ग कलेजको प्रमुख सङ्ग बाँस्कोटाको जस्तै रकम बार्गेनिङ्ग गरेको अडियो टेप सार्वजनिक भएको थियो । उस्तै घटनामा बाँस्कोटाको केस केही नभए पनि पाठकलाई भने मुद्धा चलाइयो । बाँस्कोटाको लेनदेनको प्रमाण पुगेन तर पाठकको पुग्यो ।दुबैको हकमा अडियो मात्र बाहिरिएको हो,एक सुको बरामद भएको हैन । लोकमानले नेतालाई १३ पन्ने भराएर दु:ख दिदाको परिणाम के भयो ?

त्यसैले,राजनीतिमा बदलाको भावना एकछिनको सत्ता तुजुक त होला तर त्यो आफ्नैलागि प्रत्युत्पादक बन्न सक्छ । कतिपयले त यी मुध्दाहरु ओझेलमा पार्नका लागि पनि सत्तामा रहिरहन सबै खालका हर्कत गरिएको दाबी गर्ने गरेका छन् ।

टिप्पणीहरू