दुई तिहाइ आक्रोश

सर्वोच्चको फैसला आएपछि कमरेड झनै उत्तेजित बन्नुभएको छ । मैले त सोचेको थिएँ, यो फैसला आएपछि कमरेड नुन खाएको कुखुराजस्तै हुनुहुनेछ । तर, उहाँ त भाङ खाएको कुखुराजस्तो पो बन्नुभएछ । अत्यन्त क्रोधित भई डाङडाङ डुङडुङ गर्न पछि पर्नुभएन ।

यस्तो डरलाग्दो अवस्थाबीच सोधेँ, ‘कमरेड, सर्वोच्चको फैसला त यहाँले सुनिहाल्नुभयो । अब के हुन्छ ?’

मतिर पुलुक्क हेर्नुभयो । साथै सोध्नुभयो, ‘केचाहिँ के हुन्छ ?’

‘मतलब तपाईंको आन्दोलन । के अब आन्दोलन रोक्नुहुन्छ ?’ सोधेँ ।

प्रश्न भुइँमा खस्न पाएको थिएन, बुर्लुक्क उफ्रिनुभयो, ‘कसले भन्यो आन्दोलन रोकिन्छ ? अब त यो आन्दोलन पहिलेभन्दा ठीक दोब्बर गतिले माथि जान्छ ।’

‘किन कमरेड ? पहिलेभन्दा दोब्बर गति किन ? अहिलेको गति ठीक छैन ?’ आश्चर्य मान्दै सोधेँ ।

‘दोब्बर नपारी त हुँदै भएन नि,’ उहाँले खुलाउनुभयो, ‘अस्तिसम्म सरकारविरुद्ध मात्रै आन्दोलन गरे पुग्थ्यो । अहिले सर्वोच्चविरुद्ध पनि आन्दोलन गर्नुपर्ने भयो । अनि दोब्बर नपारी भयो ?’

अस्तिसम्म एक तिहाइ मात्रै पुगिरहेको कमरेडको आक्रोश अहिले दुई तिहाइ पुगिसकेको रहेछ । जे होस्, जाडोमा मज्जाले टायर ताप्न पाइने भयो !

टिप्पणीहरू