मिडियाले मच्चाएको अर्को कञ्चन रेग्मी प्रकरण

लोकतन्त्र आएको अपराधी जोगाउन हो ? कि दलित समुदायका व्यक्तिले हत्या गरे भने उन्मुक्ति दिन हो ? अपराधलाई कुनै जात, क्षेत्र र लिंगका नाममा उन्मुक्ति दिन सिफारिस गर्ने कस्ता व्यक्ति र आयोग होलान् ? अझ प्रहरीले भन्दा चर्काेसँग प्रहरी हिरासतमै बयान लिने मात्रै नभई उल्टो बयान प्रहरीलाई दिन लगाइएको र प्रहरीले साक्षी बकपत्र गराउँदासमेत खल्तीभरि मोबाइल लिएर रेकर्ड गर्न जरुरी ठानिएको एउटा प्रसंग हो, काभ्रेको सानो वाङथली घटना ।

आफ्नै श्रीमान्ले भैंसीझैं कुटेर भाग्दै गर्दा लक्ष्मीको निधन भएपछि दलित भएकाले फसाउन खोजिएको भन्दै विज्ञप्ति निकालेर अपराधी जोगाउने प्रयासमा अधिकारकर्मी लागेका छन् । अझ सासूले समेत बुहारी त्यो डाँडाबाट पार गरी कि गरिन हेर त ? भनेरसमेत हत्याको ढाकछोप प्रयास गरेकी थिइन् । आमालाई पोलमा बाँधेर मलमूत्र खुवाउँदै कुटेको २४ घण्टापछि मृत्यु भएको बताउने छोराले समेत बयान बदलिसकेका छन् । उनकै आँखासामु आमालाई बाबु मिलनले कुटेका थिए । त्यही क्रममा आफूलाई गाई बिक्री गर्ने विषयमा सल्लाह गर्न गाउँ पठाएर बोल्दै गरेकी आमा फर्कंदा मरिसकेकी थिइन् । ओछ्यानमा तातो रगत बगेको थियो । गलामा भएको सुन विनाको पोतेको झुत्तोबाट गेडाहरू छरिएका थिए । लाठी मझेरीमा थियो तर रक्ताम्मे अवस्थामा ।

पानीको जग लक्ष्मीको शव अगाडि थियो । नीलो ब्याग लिएर माइत हिँडेकी भनिएकी लक्ष्मीसामु रातो ब्यागको पोको थियो । शुरुमै मिलनलाई हिरासतमा राखेर अनुसन्धान नै शुरु नहुँदा जेलभित्र लुगा सिउने कल राख्न मिल्ने कि नमिल्ने सोधेका थिए । हिरासतमा रहेको बेला नै उनले अपराध स्विकारेका हुन् । पछि दलित आयोगका व्यक्ति र अन्यले हत्या नस्विकार्दा चार दिनअघि कुटपिट गर्ने हिरा लामा र उनकी आमा काइली तामाङ फस्छन् भन्दै सिकाएपछि उनले बयान बदलेका थिए । प्रहरीले बयान बदलेपछि पोलिग्राफसमेत लियो र ढाँटेको पत्ता लाग्यो । शुरुमा ससुरालीले कुटेरै मारिस् हैन मेरी छोरी भनेर जिल्ला प्रहरी कार्यालयभित्र आक्रमणको प्रयास गरेको थियो । प्रहरीले नै रोकेपछि ससुरालीले मिलनविरुद्ध किटानी जाहेरी दर्ता गरे । त्यही विषयमा केही दलित अधिकारकर्मीले लक्ष्मीको निर्दोष श्रीमान्लाई फसाएर प्रहरीले नै जबरजस्ती उजुरी दिन लगाएको गलत बयान दिएका थिए ।
केही अधिकारकर्मी शुरुदेखि नै लक्ष्मीलाई बोक्सी आरोपमा कुटपिट गरी मलमूत्र खुवाएर हत्या गरेको आशयका साथ प्रस्तुत भए । सञ्चारकर्मी पनि भावनामा बहकिए । घटना अर्कै थियो । लक्ष्मीले चाहिँ काइली तामाङलाई बोक्सीको आरोप मात्रै लगाएकी थिइनन् परपुरुषसँग ५५ वर्षीया वृद्धाले सम्बन्ध राखेको समेत बताएकी थिइन् । प्रहरीले उक्त घटनाबारे २१ जनासँग बयान लिइसकेको छ । घटनाका साक्षी प्रमाण संकलन गरी प्रहरीले सरकारी वकिलमार्फत अदालत बुझाएको हो । प्रहरी अनुसन्धानमा दलित महिलालाई बोक्सी आरोपमा दिसा खुवाएर कुटपिट गरी हत्या गरिएको नभई श्रीमान्को कुटाइबाट मृत्यु भएको तथ्य र अनुसन्धानबाट खुलेको छ ।

मृतक सानोवाङथली गाविस–७ की ३२ वर्षीया लक्ष्मी परियारलाई श्रीमान् मिलन परियारले २४ मंसिर बिहान कुटपिट गरेपछि सहन नसकी भाग्दै गर्दा घरबाट केही पर लडेर मृत्यु भएको अनुसन्धानले देखाएको छ । २४ मंसिरमा स्थानीय सामाजिक विषय पढाउने शिक्षक हिरा लामा र उनकी ५५ वर्षीया आमा काइली तामाङलाई चार दिनअघि लक्ष्मीले बोक्सी भन्दै प्याच्च बोलेपछि सहन नसकी कुटपिट गरेको र सुँगुरको दिसा मानिसको शौचालयमा लगेर गालातिर दलिदिएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘श्रीमतीलाई कुटेर मिलन दुई वर्षको छोरा बोकी छिमेकीको घर पुगी लक्ष्मी मरिहाली– बल्ल आनन्द भयो, यो छोरो हेरिदिनुस् है भनेका थिए,’ सानोवाङथली–७ का राजु लामाले भने । ७ बजे लक्ष्मी र मिलन घरबाट सँगै निस्किएलगत्तै मिलन छिमेकी घरमा पुगेका थिए भने लक्ष्मी उता गएर ढलेकी थिइन् । लक्ष्मीलाई कुटिरहेको स्थानीय ७० वर्षीय छिरिङ तामाङले देखेर किन झगडा गरेको भन्दै उँभो लागेका थिए । उनी माझीफेदा गाविसको घ्यावामा जान लाग्दा मिलनले लक्ष्मीलाई कुटिरहेका थिए । उनको कुटाइबाट लक्ष्मीको घाँटीको पोते छिनेको थियो भने रगतको आहाल बनेको थियो । लक्ष्मीको मुखभरि रगत भएपछि मिलनले जगमा पानी ल्याएर धुँदै गरेको स्थानीयले देखेका थिए ।

लक्ष्मीलाई कुटेपछि घटना लुकाउन मिलनले गरेका अनेक प्रयास सार्थक हुन नसकेको तथ्यले पुष्टि गरेका छन् । लक्ष्मीले छेडुप लामाको भंैसी काटेकी थिइन् । भोलिपल्ट २१ गते घरबाट एक घण्टा टाढाको बाटो डाँडाखर्क पुगेर प्याजको बेर्ना ल्याई लगाएको, २२ गते श्रीमान् मिलनसँग भञ्ज्याङ पुगेर ३० किलोको चामल एक घण्टाको बाटोमा बोकेर ल्याएको, २३ गते स्थानीय स्तरमै आइन्दा त्यसो नगर्ने शर्तमा मिलापत्र गर्दै पुरानो माइली विकलाई कुटेको ५ हजार र भैंसी काटेको एक हजार तिर्ने सहमतिपछि गाउँकै विवाहमा पुगेर दुई बटुका जाँडसमेत खाएको बताइन्छ । २३ मंसिरमा श्रीमान् मिलन घरमा नसुती बिहानै जेठो छोरालाई पाँचभाइ तामाङको घरमा गाई बिक्री गर्नेबारे खबर गर्न पठाएर लक्ष्मीलाई लाठाले आक्रमण गरेका थिए । लक्ष्मीको नाकबाट रगत मात्रै बगेको थिएन, दाहिने आँखामा ठूलो चोट थियो, तीन वटा दाँत मात्रै बाहिर निस्किएका थिए । छातीभन्दा मुनि स्तननजिकै नीलडाम थिए । बायाँ खुट्टामा चोट थियो ।

उनीसँगै रातो जग र रातो झोला थियो । जुन श्रीमान्ले नै लगेर राखिदिएको खुलेको छ । उनले शुरुमा माइत जान्छु भनेर हिँडेको, आफूले एक लाठी मात्रै हानेको बयान दिएका थिए । मरणासन्न हुनेगरी कुटेर श्रीमान्ले छिमेकी भरत बिकको घरमा निरमाया तामाङलाई श्रीमती मरेको खबर गरेका थिए भने केही घण्टापछि प्रहरीलाई श्रीमती झुन्डिएर मरेको बताएका हुन् । मृतक लक्ष्मीले पटक–पटक गाउँका महिलालाई बोक्सी, रण्डीजस्ता शब्द प्रयोग गर्दै आएकी थिइन् । ०७१ सालमा आइन्दा त्यसो नभन्ने भन्दै प्रहरीचौकी चौवासमा मिलापत्रसमेत भएको थियो ।

यता, दलित आयोग, मानवअधिकार आयोगले समेत घटनाको अनुसन्धान गरेका छन् । अनुसन्धानमा मिलन र परिवारका अन्य सदस्य दोषी देखिए पनि कारबाहीका लागि भन्दा पनि जोगाउने षड्यन्त्र भएको भन्दै स्थानीयहरूले आपत्ति जनाएका छन् । आयोगको टोलीसँग गाउँलेले अझै खुलेर कुरा गर्न सकेका छैनन् । काठमाडांै लैजाने र वास्तविक कुरा भने दुःख पाइने भन्दै देखेको कुरासमेत भन्न डराएको स्थानीय सिएम तितुङले बताए । मिलनले कुटेको देख्ने अर्की प्रत्यक्षदर्शी पवित्रा खरेलले समेत घटनाबारे मुख खोलेकी छैनन् ।

सञ्चारमाध्यममा एकोहोरो लक्ष्मीलाई नै बोक्सी आरोप लगाएर दिसा खुवाई पोलमा बाँधेको झुटो खबर प्रकाशन भएपछि स्थानीय छक्क परेका छन् । एसपी सहकुल थापाले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगी अदालतमा पेश भएको बताए । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ, रिपोर्टमा कुटपिटबाट मृत्यु भएको उल्लेख छ,’ थापाले भने, ‘घटनाबारे तथ्य नयाँ–नयाँ फेला परेपछि सबै राखेर बुझाइएको छ ।’

– मोतीराम तिमल्सिना

टिप्पणीहरू