यता नियुक्ति,उता तुरुन्तै आपत्ति

यता नियुक्ति,उता तुरुन्तै आपत्ति

प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा खम्बबहादुर खातीलाई नियुक्त गरेपछि कांग्रेस निकट कानुन व्यवसायीहरु चिढिएका छन् । कांग्रेसमै समर्पित पुराना कालोकोटधारीहरुलाई बाइपास गर्दै सुदूर पश्चिमको आफ्नै भेगीयलाई महान्यायाधिवक्ता बनाइएको भन्दै उनीहरूले मन दुखाएका हुन् ।

खातीलाई प्रम देउवाको सिफारिसमा हिजै राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा नियुक्त गरिसक्नुभएको छ । कांग्रेसनिकट कानुन व्यवसायीका अनुसार वरिष्ठ अधिवक्ता खाती नेपाल बारका निवर्तमान महासचिव र मृदु भाषी हुन् । जेठ ७ को प्रतिनिधिसभा विघटनविरुद्ध रिट लेखनमा उनको सँलग्नता थियो । उनी निवर्तमान महान्यायाधिवक्ता रमेश बाडालभन्दा जुनियर मानिन्छन् ।कांग्रेसी कोटाबाट महान्यायाधिवक्ता बनेका खातीभन्दा वरिष्ठ कालोकोटधारीहरु बद्रीबहादुर कार्की,महादेव यादव,श्रीहरि अर्याल,बाबुराजा जोशी,शेरबहादुर केसी,हरिहर दाहाल,गुणनिधि न्यौपानेलगायतको नाम आउँछ । हुन त महान्यायाधिवक्ता नियुक्ति प्रधानमन्त्रीको निजी अधिकारको बिषय भए पनि अनुभवी र पाका मान्छेलाई छाडेएको आरोप छ ।

उता यसअघिका सबै महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमै राष्ट्रपति कार्यालयमा प्रधान न्यायाधीशबाट हुँदै आएकोमा नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ ग्रहण सर्वोच्चमै भएको छ । सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार अघि साढे दुई बजे रामशाह पथमै खातीलाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

टिप्पणीहरू