जताततै लागूऔषध कारोबारी पक्राउ

जताततै लागूऔषध कारोबारी पक्राउ

मुलुकका विशेषगरी तराइका जिल्लाहरुमा लागूऔषध कारोबारी बढ्दै गएपछि पक्राउ समेत पर्न थालेका छन् । सोही क्रममा सर्लाही, पर्सा, झापा, कैलाली र दाङमा लागूऔषधसहित ९ जना पक्राउ परेका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौली खोला नजिकबाट झण्डै ७७ किलो लागूऔषध गाँजा सहित स्थानीय ३० वर्षीय अशोककुमार लामालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।

अपरिचित ३ जनाले प्लाष्टिकको बोरामा काँधमा र लामाले बा.५२ प १९३२ नम्बरको मोटरसाइकलमा गाँजा ल्याउँदै गरेको अवस्थामा प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीलाई देख्नासाथ उनीहरु गाँजा हालिएको बोरा मकै बारीमा फालेर चार जना फरार भएका थिए ।

तीमध्ये मोटरसाइकल चालक लामालाई पक्राउ गरे पनि अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उता पर्साको वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट लागूऔषध १ सय ५० एम्पुल नुर्फिन, १ सय ४८ एम्पुल डाइजेपाम र १ सय ५० एम्पुल फेनारगनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको बनेपा नगरपालिका–१० बस्ने २७ वर्षीय सविन हुमागाई र साँगा नगरपालिका–१३ बस्ने ४४ वर्षीय कृष्ण खड्का रहेका छन् ।

शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पाइन्टको कम्मर पेटीमा बेरी ल्याएको उक्त लागूऔषधसहित फेला पारेको हो ।

त्यसैगरी झापाको भद्रपुर नगरपालिका–३ देउनिया पुल नजिकबाट १२ ग्राम ४ सय ५० मिलिग्राम ब्राउनसुगरसहित बिर्तामोड नगरपालिका–३ बस्ने २२ वर्षीय चन्दन रजकलाई प्रहरीले पक्राउ गरेको छ ।

मे.९ प २०८० नम्बरको मोटरसाइकललाई सीमा प्रहरी चौकी पृथ्वीनगर र बिओपी पृथ्वीनगरबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरीले टोलीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला परेको हो ।

कैलालीको टीकापुर नगरपालिका–६ नारायणपुर शिविरबाट करिब १५ ग्राम ५६ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय ३६ वर्षीय लोकेन्द्र साउद र २८ वर्षीय धन सिंह सुनार रहेका छन् । स्थानीय खोका पसल अगाडि लागुऔषध कारोबार भइरहेको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सतिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

दाङमा पनि प्रहरीले लागूपदार्थ कारोबार गरिरहेकालाई पक्रेको छ । लमही नगरपालिका–९ तल्लो अमिलिया चोकबाट करिब १ सय १३ ग्राम ब्राउनसुगरसहित दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाँके जानकी गाउँपालिका–३ मुक्ति नगर बस्ने ३६ वर्षीय राजा योगी र डुडुवा गाउँपालिका–९ खडैचा बस्ने ३० वर्षीय राजु दर्जी रहेका छन् ।

टिप्पणीहरू