टोपी दिवशमा धोतीका कुरा « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

टोपी दिवशमा धोतीका कुरा

प्रकाशित मिति :  २४ पुष २०७३, आईतवार ०७:३९


  • रमण पनेरु

जर्मनी बसाइको सुरुवाती दिनमा नेपाली हुँ भन्दा नेपालबारे जिज्ञाशा राख्ने धेरै हुन्थे । कतिले चीन र भारतसँग जोडेर मेरो राष्ट्रियतालाई परिभाषित गर्ने कोसिससमेत गर्थे । म सकेसम्म सबैलाई स्पष्टीकरण दिँदै हिँड्थें । देश र संस्कृतिको महत्व त्यति नै बेला मलाई अनुभूति भएको हो । देशमा छँदासम्म कसैलाई आफ्नो परिचय दिइरहनु परेन । देशबाहिर जाँदा सबैले त्यही नै मागे । अरूलाई परिचय दिनुअघि आफंै पनि जान्नुपथ्र्यो । त्यसैले ती दिनमा मैले आफंैलाई चिन्ने अवसरसमेत प्राप्त गरेँ । देशबारे धेरै कुरा जान्ने अवसर पनि त्यही थियो । ‘यो मेरो देशको धेरै परम्परागत पोशाकमध्येको एक हो । पहिले यसैलाई राष्ट्रिय पोशाक पनि भनिन्थ्यो । अहिले अन्य संस्कृतिको समेत सम्मानार्थ योलगायत अन्य थुप्रै जातजातिका पोशाकलाई राष्ट्रिय पोशाक भनेर चिनिन्छ ।’

यति भनेर म परम्परागत पोशाक पहिरिएका नेपालीको चित्र सबैसामु प्रस्तुत गर्थें । त्यहाँ मधेसी, गुरुङ, थारू, नेवारलगायत समुदायको पहिरन लगाएका मानिस हुन्थे । सबै मुख बाएर त्यो तस्बिर अवलोकन गर्थे ।

‘गणतन्त्रले हामी नेपालीलाई कति समृद्ध बनाएछ । हामीमाझको विविधतालाई स्वीकार गर्दा र सम्मान गर्दा हामी कति समृद्ध सावित हुनेरहेछौँ ।’ म मनमनै गम्थँे । अनि देशको अन्य विविधताबारे बोल्न थाल्थें ।

‘एक सय २३ वटा छन् ।’

‘भाषा कि उपभाषा ?’ शिक्षिकाले प्रश्न राख्थिन् ।

‘भाषा ।’ सगौरव भन्थेँ ।

‘प्रत्येक भाषासँग संस्कृति जोडिएको छ । प्रत्येक संस्कृतिसँग भेषभूषा पनि जोडिएको छ । त्यसैले यतिधेरै पोशाकलाई राष्ट्रिय पोशाक भनेको हो ।’ नेपालसम्बन्धी हरेक जानकारीमार्फत उनीहरूले मेरो राष्ट्रियतालाई सदर गर्दै जान्थे । म आफ्नो पहिचान अनुमोदित भएकोमा गद्गद् हुन्थेँ । कक्षाको अन्त्यमा फोटो खिच्नेहरूको लाइन लाग्थ्यो । यो क्रमलाई पछिल्ला अन्तर्राष्ट्रिय महोत्सवमा समेत निरन्तरता दिएँ । आफूसँग भएको दौरा–सुरुवाल र टोपी लाएर केही नेपाली खाना अनि तस्बिरका साथ सधँै भाग लिइरहेँ ।

गत आइतबार अर्थात् जनवरी १ तारिखका दिन नेपाल तथा विदेशमा विभिन्न कार्यक्रमसाथ टोपी दिवश मनाइयो । चौथो टोपी दिवशसम्म आइपुग्दा देशमा निकै परिवर्तन भइसकेका छन् । हरेक कुराको पक्ष–विपक्षमा हुने तर्क यसपालि टोपी दिवशका सन्दर्भमा पनि भए । टोपी दिवश मनाइनुलाई स्वागत गर्ने एकथरी देखिए भने अर्काथरीले टोपीले एउटा निश्चित संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले टोपीबाट राष्ट्रियता परिभाषित गर्नु संकुचित विचारधारा भएको भने । टोपी दिवशको औचित्यमाथि प्रश्न खडा गर्नेमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि थिए । उनले संविधान र राष्ट्रिय गानमा समेत बहुजातीयता र बहुसंस्कृतिलाई स्विकारिसकेपछि पनि एकल संस्कृतिका कुरा कति जायज भन्ने प्रश्न तेस्र्याएका थिए । उनको प्रश्नले केही साथ पाए पनि धेरैले विरोध जनाए ।

तर्कसाथ विरोध गर्नु एक हुन्छ, बेतुकका कुरा गरेर गाली–गलौजमा गएर विरोध गर्नु अर्को । फलानाले जे भने पनि म विरोध गर्छु भनी कुरेर बसेकाहरू पनि हुन्छन् । कोही सबैले गाली गरिराखेका बेलामै पनि गाली गरौँ भन्ने खाले पनि हुन्छन् । आखिर जति गाली गर्न पनि छुट भएका बेला न हो गाली गर्ने !

भट्टराईका कुरालाई पूर्वाग्रहरहित नजरले हेर्ने हो भने गलत मान्न सकिन्न । एक जमानामा हाम्रो राष्ट्रिय पोशाक दौरा, सुरुवाल र टोपी थियो । ०६२÷६३ को जनआन्दोलनपश्चात् बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिकताको सम्मानार्थ दौरा, सुरुवाल र टोपी मात्रै नभएर देशभित्र लगाइने सबै जातजातिका पोशाक राष्ट्रिय पोशाक हुन् भनिसकिएको छ । त्यसै कुरालाई राष्ट्रिय गानमा ‘बहुजाति, भाषा, धर्म–संस्कृति छ विशाल’भनेर समावेश गरिएको छ । त्यस अर्थमा बाबुराम भट्टराईले टोपी दिवशको औचित्यबारे प्रश्न खडा गर्नु खासै उदेक मान्नुपर्ने कुरा होइन । सांस्कृतिक विविधता मानिसकेपछि कुनै एक संस्कृतिसँग जोडिएको टोपीलाई राष्ट्रियतासँग गाँस्नु नेपालको नयाँ स्थापित बहुसांस्कृतिक राष्ट्रियताको भावनाविपरीत छ ।

टोपी बहस अलि बढी नै भइसकेपछि कोशेलीमा प्रकाशित एक ‘नेपाली टोपीको इतिहास’ शीर्षकको लेखमा डा. माधवप्रसाद पोखरेलले नेपाली टोपीको इतिहास खोतल्ने क्रममा ढाकाटोपी बंगलादेशबाट सेन राजासँगै मकवानपुर राज्य(पाल्पा) हुँदै भित्रिएको र कार्चोपी टोपी टर्की र कास्मिरबाट नेपाल पसेको भनेर जरो खोतलेका छन् । सोही लेखले पनि टोपी र राष्ट्रियताबीच साइनोको आयु बाहिर ल्याएको छ । त्यसैले टोपी दिवश मनाउनु राष्ट्रप्रेम हुने र त्यसको विरोध गर्नु त्यसमा भएको कमजोरी र असमावेशी चरित्रमा आँैला ठड्याउनु अराष्ट्रिय हुने कुरा उति तर्कसंगत देखिँदैन ।

टोपीलाई आधुनिक समयमा धेरैले अपनाइसकेको भए पनि सबैले अपनाएका छैनन् । यदि, अपनाउन चाहँदैनन् भने पनि त्यो उनीहरूको स्वतन्त्रताको विषय हो । टोपी अपनाउनेहरूजत्तिकै टोपी नअपनाउनेहरू पनि राष्ट्रपे्रमी हुन् । तर, आफूले गर्ने गतिविधिलाई राष्ट्रिय भन्नु र अरूले गरेका जति सबैमा राष्ट्रद्रोह देख्नु संकीर्ण मानसिकता राख्नु हो ।

टोपीले तराईलाई कत्तिको प्रतिनिधित्व गर्छ भन्ने कुरामा एक जना मधेसी मित्रले सामाजिक सञ्जालमा लेखेका थिए, ‘म सम्झन्छु, हाम्रो गाउँको फोेटो स्टुडियोमा एक नेपाली टोपी हुने गथ्र्यो ।’ उनले त्यसको अर्थ उति खुलाउन नचाहे पनि मैले यसलाई आफ्नै किसिमले अथ्र्याउने चेष्टा गरेको छु, ‘नागरिकताका लागि ढाकाटोपी लगाएको फोटो अनिवार्य हुने भएकाले सो टोपी स्टुडियोमा राखिएको हुनुपर्छ । अर्थात् दैनिक जीवनयापनका क्रममा टाउकामा गम्छा बाँध्ने र धोती या लुंगी लाउनेले पनि नागरिकताका लागि फोटो खिच्नुपर्दा ढाकाटोपी लगाएको फोटो अनिवार्य हुनुपर्ने । मानांै टोपी लाउनु नेपाली हुनु हो । यो कुरालाई अलि गहिरिएर विचार गर्ने हो भने टोपी संस्कृति किन संकीर्ण छ भनेर बुझ्न गाह्रो हुँदैन ।


प्रतिक्रिया दिनुहोस !