दूध, तरकारी आफैं किन्न जान्छन् मन्त्री ?

दूध, तरकारी आफैं किन्न जान्छन् मन्त्री ?

एमाले साना दुःखले बनेको होइन । सामन्ती शासन फालेर कम्युनिष्टको शासन व्यवस्था ल्याउन जनतालाई जगाउँदै हिँडेका कमरेडहरूको सुखानीको जङ्गलमा कत्लेआम भयो । जनताको गीत गाउँदै गर्दा छिन्ताङ र पिस्करमा गोलीले भुटेर अरु कमरेडको हत्या गरियो । लामो समय जेलनेल र यातना पाउने त कति हो कति । अहिले पनि जीवितै छन् लामो समय जेल बसेका नेता ।

कसैको एकलौटी प्रयास, योगदान, समर्पण र बलिदानले मात्रै एमाले बनेको होइन । धेरैको अमूल्य रगत र पसिना परेको छ, आजको एमाले निर्माण हुनुमा । यसकारण कसैको लहडमा, कसैको दम्भमा, कसैको स्वेच्छाचारितामा एमालेलाई बिग्रन दिनु हुँदैन, भड्खालोमा पर्न दिनु हुँदैन । एमालेलाई जोगाउनु पर्छ । राजा मरेर रजाइँ हराउन्न भन्ने त उखानै छ, डराउनु पर्दैन । सानो दुःखले बनाएको एमाले होइन भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

देशको बदनाम हुन्छ भन्दै कथित सुन्दरताको बहाना देखाएर खाना खुवाउनसमेत बन्द गराउने अमानवीय काम एमालेको सरकारले गरेको देख्दा मुख लुकाएर थाल थापी पेट भर्न बाध्य ती मान्छेले के भने होलान् ?

नदीे किनार बाँसका भाटाले बारेको झुपडी बनाएर बस्नेहरू हुँदा खाने मान्छे हुन् । तिनले गिट्टी कुट्छन् बगरमा, व्यापारीको गोदाममा सिमेन्टका बोरा बोक्छन्, सडक कालोपत्रे गर्न अलकत्रामा गिट्टी पकाउँछन् चर्को घाममा । तर, तिनैलाई सुकुम्बासी भन्छ एमालेको सरकारले र पुलिस लगाएर लाठी बर्साउँछ, डोजर चलाएर तिनको रात काट्ने झुपडी भत्काइदिन्छ । ठेलामा तरकारी, फलफूल बेचेर बेलुकाको छाक किनी बालबच्चाको पेट भर्न भनी चोराहमा खडा भएकी महिलाको फलफूल र तरकारी राखेको ठेला बीच बाटोमा घोप्ट्याइदिन्छ एमाले सरकारको नगर प्रहरीले । गरिबले छोराछोरीको स्कुलको फिस तिर्न, ड्रेस किन्न, जुत्ता किन्न तथा बिहान कालो चिया खानेगरी बेच्न ठिक्क पारेको घरपाला रक्सी घोप्ट्याइदिन्छ एमालेको पुलिसले ।

कम्युनिष्ट शासन व्यवस्था स्थापना भयो भने खान, लाउन र बस्न समस्या झेल्नु पर्दैन, स्कुल पढाउन चिन्ता लिनु पर्दैन, बिरामी परे उपचार पनि गर्छ कम्युनिष्टको सरकारले भनेर भोट हालेका ती गरिबले रात काट्न बनाएको आफ्नै झुपडी त्यहि भोट हालेकै दलको सरकारले आँखाकै सामुन्ने डोजर लाएर भत्काइदिँदा, बेचेर बेलुकाको छाक किन्न डुलाउने फलफूल र तरकारीको ठेलागाडा आफैले चुनेको प्रतिनिधिले प्रहरी खटाएर सडकभरि पोखिदिँदा, बेच्न लगेको रक्सी पोखिदिँदा अथवा गरिबले उपचार गराएको पैसा तिर्न नसकी अस्पतालको बन्धक बन्नुपर्दा ती तमाम दुखियाको मन हाँस्दो हो कि रुँदो हो ?

कोरोनाको कारण धेरै मजदुरको आम्दानी बन्द भयो । महामारीले भन्दा भोकले पो मर्ने हुन् कि भन्ने तहमा पुगे मजदुर । तिनको भोक देखेर केही मनकारी मान्छेले खाना उपलब्ध गराउन पहल थाले । देशको बदनाम हुन्छ भन्दै कथित सुन्दरताको बहाना देखाएर खाना खुवाउनसमेत बन्द गराउने अमानवीय काम एमालेको सरकारले गरेको देख्दा मुख लुकाएर थाल थापी पेट भर्न बाध्य ती मान्छेले के भने होलान् ? पाषाण हृदय भएको योभन्दा अर्को उदाहरण अरु कुनै हुन सक्ला? के यस्तै एमाले बनाउन भनेर दुःखकष्ट झेलेका थिए त ती सबै मानिसले र अहिलेकाले पनि ? कसले बनायो यस्तो एमाले ?

अब सही मानेमा मालेको अर्थ आउने बनाउने हो भने अबको नेतृत्व नयाँ जगबाट उठ्नुपर्छ । यथास्थितिको एमाले कांग्रेस जत्तिको पनि लेफ्ट छैन, बरु यसले त समाजमा कम्युनिष्ट पार्टीको नाम पो बदनाम गरिरहेको छ । यति कुरा भन्नलाई रकेट साइन्स जान्नु पर्दैन ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ, क्यानाडाका प्रधानमन्त्रीको । उनी स्टेशनमा चियाको कप लिएर पिउँदै थिए, सफाइकर्मीसँग ठोक्किए र चिया भुइँमा पोखियो । तिनले त्यो पोखिएको चिया आफैं पुछे । सत्य हिन्दी च्यानलका सम्पादक आशुतोष भन्दै थिए टिभीमा, चार जना मान्छे बेलग्रेडमा संसद् भवन अगाडि हिँडिरहेका थिए । एउटी युवती छिटोछिटो हिँडेर नजिक पुगिन् र केही कुरा गर्दै आफूले लगेको कागजपत्र तीमध्ये एक जनालाई दिइन् । सोधपुछ गरेपछि थाहा लागेछ सामान्य नागरिक युवतीले आफ्नो समस्या लेखेर दिएकी रहिछन् र ती लिने व्यक्ति सर्बियाका प्रधानमन्त्री रहेछन् ।

अमेरिकी पूर्वराष्ट्रपति ओबामाले पनि तरकारी किन्न ट्रली गुडाउँदै हिँडेको वा गोलो मुढामा बसेर रेष्टुरेण्टमा चिसो पिउँदै गरेको भिडियो भेटिन्छ यु ट्युबमा । के एमालेका मन्त्री, प्रधानमन्त्री एक्लै कुनै सेक्युरिटी साथमा नराखी गाेंगबु बसपार्क वा एयरपोर्ट जालान् कहिल्यै ? घर नजिक कुनै पसलमा गएर तरकारी वा दूध किन्लान् ? प्रधानमन्त्री वा राष्ट्रपतिलाई संसद् भवनको ढोकाबाहिर दौडिँदै गएर आफ्नो समस्या अवगत गराउन सकिने माहोल छ देशमा ?

संसद् भवनमा त प्रवेश नै गर्न सकिन्न । उनीहरू आउने–जाने कुरालाई सवारी भन्छन् र छुट्टै प्रकारको रहस्यमय बनाउँछ सुरक्षा निकायले । आउने–जाने बाटोलाई घण्टौं पहिलेबाट सिल गरिन्छ, मान्छे मात्रै होइन चरोमुसो समेतको आवतजावतमा पूरा रोक लगाइन्छ । सवारी नसकेसम्म सबैलाई घण्टौंसम्म त्यहीँ बाटोमा कुर्न बाध्य पारिन्छ । समयको नाश, जाम, इन्धनको नाश यस्ता कुराको कुनै अर्थ छैन ।

अरुका पनि कुरा उस्तै छन्– बडेमियाँ तो बडेमियाँ, छोटेमियाँ भि सुभान अल्ला भनेजस्तो कथित सुरक्षाका नाममा साथमा हतियार राख्ने, घरमा सुरक्षाकर्मी राख्ने, भेट्न पिएसँग नाम लेखाउनुपर्नेजस्ता कुरा गर्न मन पराउनेहरू धेरै छन् एमालेमा । हिजो चिया पसलमा सँगै खाने मान्छेसँग र अझ भनौं आफैँलाई भोट हालेकासँग डराउने, गाडीको ढोका खोलिदिन एडिसी चाहिने मान्छेहरूको एमाले बनाउन दुःख–कष्ट गरेका, बलिदान दिएका थिए होलान् त ती तमाम अग्रजले र अहिलेका अरूले पनि ? निश्चय नै थिएनन् ।

र अन्त्यमा,

एमाले नाम हो । नामबाहेक अरु अर्थमा यसलाई बुझ्न सकिने अवस्था छैन अर्थात् एकीकृत माक्र्सवादी लेनिनवादी अर्थ आउने, गुण झल्किने एमाले छैन यो । यदि, अब सही मानेमा मालेको अर्थ आउने बनाउने हो भने अबको नेतृत्व नयाँ जगबाट उठ्नुपर्छ । यथास्थितिको एमाले कांग्रेस जत्तिको पनि लेफ्ट छैन, बरु यसले त समाजमा कम्युनिष्ट पार्टीको नाम पो बदनाम गरिरहेको छ । यति कुरा भन्नलाई रकेट साइन्स जान्नु पर्दैन ।

टिप्पणीहरू