कसरी तयार भयो एकताको कागजात

कसरी तयार भयो एकताको कागजात

दिनभरिले नपुगेर राति १० बजेसम्म यता–उता गर्दै १० बुँदे कागज त तयार भयो । तर, जुन उद्देश्यका साथ त्यसो गरियो, भोलिपल्ट केही न केही ! संसद विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको निम्ति परमादेश माग गर्दै सर्वोच्चमा दायर रिटउपर सोमबार फैसला हुने कुराले अत्यासमा पर्नुभएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार घुमारो भाषामा ‘हस्ताक्षर फिर्ता’ का प्रसंग राखिएको १० बुँदे सहमति निर्माणको अन्तर्कथा जनआस्थालाई प्राप्त भएको छ । यद्यपि, सोमबार अपराह्न २ बजे सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि २८ घण्टे परमादेश जारी गरेसँगै बालुवाटारको तर्फबाट एकताको प्रयत्न रोकिएको छ ।

खासमा आइतबार मध्यरातसम्म भए पनि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २३ सांसदको हस्ताक्षर अदालतबाट फिर्ताको सन्देश दिनैपर्छ भन्ने बटमलाइन थियो, ओलीपक्षीय कार्यदल सदस्यका लागि । तर, माधवपक्षीय कार्यदल सदस्यहरु सहमतिको मस्यौदामा उल्लेखित छैठौँ बुँदालाई लिएर सहमत हुन सकेनन् । घनश्याम भुषाल र रघुजी पन्तले पटक–पटक सोधिरहे, ‘यसको व्याख्या के हो ? यसबारे प्रष्ट नभई हस्ताक्षर गर्न सकिँदैन ।’

छैठौँ बुँदामा भनिएको थियो, ‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णयअनुरुप अगाडि बढ्नेछौँ ।’ त्यसलाई ओली पक्षले हस्ताक्षर फिर्ताको रुपमा बुझेको थियो । तर, त्यो कुरा मान्न माधवपक्ष तयार थिएन ।

एमालेको आन्तरिक एकताका निम्ति गठित कार्यदलले आइतबार राति टुंगो लगाएको १० बुँदे सहमतिमा हस्ताक्षर नगर्नुभएका माधवपक्षीय नेता रघुजी पन्तले सोमबार दिउँसो गर्नुभएको छ ।

आइतबारचाहिँ सञ्चो भएन भन्दै उहाँ साँझ वार्तास्थलबाट घर पुग्नुभएको थियो । रघुले हस्ताक्षर नगरेको विषयलाई अर्थपूर्ण मानियो । तर, स्वयं उहाँले अर्का कार्यदल सदस्य घनश्याम भुषाललाई फोन गरेर भन्नुभयो, ‘तपाईंले सही गरेको ठाउँमा मलाई सही गर्न के गाह्रो भयो र ? ल्याउनुस्, म गर्छु !’ त्यसपछि घनश्याम उहाँको घरमै पुगेर सहमतिमा हस्ताक्षर गराउनुभयो । र, त्यही कार्यदलको रिपोर्ट बुझाउन सोमबार साँझ भीम रावल बालुवाटार पुग्नुभयो ।

कतिपयले भीम ओलीपक्षीय स्थायी कमिटी बैठकमा भाग लिन गएको भने पनि उहाँ कार्यदलमा रघुजीको हस्ताक्षरसहितको सहमति पत्र बुझाउन जानुभएको थियो । त्यही १० बुँदे सहमतिपत्र हिजो मंगलबार वरिष्ठ नेता माधव नेपाललाई पनि बुझाइएको छ ।

वार्तामा ब्रेक

यही कुरा भीम रावल र घनश्यामले माधव नेपाललाई भेटेरै भन्नुभयो । तर, माधवले मान्नुभएन । ‘यो हस्ताक्षर फिर्ताको प्रसंग होइन भनेर उनीहरुलाई प्रतिवद्ध गराएपछिमात्रै कुरा अगाडि बढ्छ, नत्र बढ्दैन’, माधवले भीमलाई भन्नुभयो । फर्किएपछि त्यही कुरा उठ्यो । तर, ओलीपक्षीय कार्यदल सदस्यहरुले ‘हस्ताक्षर फिर्ता नभएको’ भन्ने शव्द राख्न चाहेनन् । अनि, घनश्यामले ‘लौ त, अब यो (वार्ता) ब्रेक गरौँ’ भन्दै उठेपछि माधवपक्षीय सदस्य एकसाथ उठे । उनीहरु हलकै एउटा कुनामा आपसमै केही सल्लाह गर्दै थिए । प्रदीप ज्ञवालीको आग्रहमा फेरि बस्ने कुरा भयो । तर, रघु पन्तलाई सञ्चो नभएका कारण घरतिर लाग्नुभयो ।

वार्ता ब्रेक गर्ने भनेर घनश्यामहरु उठेपछि त्यहीँबाट माधवसँग मोबाइलमा सम्पर्क भयो । हस्ताक्षर फिर्तामै ओलीपक्षको अडान रहेको रिपोर्टिङ पाएपछि माधवले ‘सहमति प्रक्रियालाई अलिकति पछाडि लगौँ’ भन्नुभयो । त्यसकारण लम्बिँदै–लम्बिँदै राति १० बजेको हो । ‘उहाँहरु हस्ताक्षर फिर्ताको भाषा राख्न तयार हुनुभएन, तर व्याख्याको माध्यमबाट हामीले हस्ताक्षर फिर्ता नलिने कुरामा सहमत हुनुभएको छ’, घनश्यामले फेरि माधवलाई फोनमै सुनाउनुभयो । तर, माधवले फेरि पनि अलिक लम्ब्याउन भन्नुभयो ।

घनश्यामहरु कस्तो परिबन्दमा पर्नुभयो भने, त्यत्रो दिन वार्ता गरेर अन्तिममा सही गर्दिनँ भन्दा एकता नै नचाहने रहेछन् भन्ने पर्ने भयो । सही गरौँ, मुख्य नेताले नमानिसकेको अवस्था † आपसमा सल्लाह भयो । भीम रावलले ‘उहाँ (माधव) लाई सम्झाउने, बुझाउने कुरामा लाग्ने हो, अहिले सही गरौँ’ भनेपछि एकछिन सोच–विचार गर्दै घनश्यामले र त्यसपछि सुरेन्द्र पाण्डेले सही गर्नुभयो । यतिबेला रातको १० बजेर २० मीनेट गएको थियो ।

फुटाउने फर्मुला

२७ गतेसम्म पनि केपी ओली माधव पक्षलाई फुटाउनेतिर नै लाग्नुभयो । मर्न लागेको अफ्रिकी बालकलाई गिद्धले पर्खिएजस्तो स्थितिमा एउटा पक्ष प्रस्तुत भयो । ‘यिनीहरु कतिबेला गल्छन् र माधव नेपाललाई सिध्याऔँ’ भनेजस्तो अवस्था सिर्जना भएको एक सदस्यले जनआस्थालाई बताए । त्यसमध्ये बालुवाटारभित्र भीम रावलको अलिक बढी एक्सेस भएको चर्चा माधवपक्षीय नेताकै बीचमा चलिरहेको थियो ।

जबरजस्ती फिर्ता

आइतबार कार्यदल सदस्यहरु सिंहदरबारको छलफलमै थिए, उता बालुवाटारमा ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइयो । माधवपक्षीय सदस्यले आपत्ति जनाए । त्यो बैठक बसेर २३ जनाको हस्ताक्षरसमेत फिर्ता लिएको एकपक्षीय घोषणा गर्ने उद्देश्य थियो । त्यसपछि ‘हामी हस्ताक्षर फिर्ता गर्दैनौँ’ भनेर लडाइँ लड्न माधवबाट आफूपक्षीय सदस्यहरुलाई भनियो ।

माधवको जित

वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उहाँपक्षीय सदस्यहरुकै दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ । तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गर्नुभयो ।

उहाँको शर्त थियो ०७५ जेठ २ मा पुग्ने । १० बुँदेले त्यहाँ पु¥यायो । हस्ताक्षर फिर्ता नलिने कुरा थियो, लिनु भएन । जेठ २ को बैठक बस्ने भन्नुभएको थियो र त्यो बैठकले पूर्वमाओवादीलाई ल्याउने कुरा थियो । १० बुँदेभित्र केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य थप गर्नेमात्र भाषा छ । तर, छलफलमा आएको कुरा हो, ती १० प्रतिशतमा धेरैजसो माधवपक्षीय हुने ।

टिप्पणीहरू