थितिको के ठेगान !

थिति बसाल्ने ठाउँमै बेथिती भएपछि के लाग्छ र ? न्यायाधीशबीचको टकरावका कारण सर्वोच्चमा भद्रगोल चलेको हो । उच्च अदालतका रिक्त ८३ न्यायाधीश नियुक्तिको प्रक्रिया अवरुद्ध नहोस् भन्नका लागि न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाशको चिठी बुझिसकेका वरिष्ठतम् न्यायाधीश बैधनाथ उपाध्यायलाई अझै छुट्टी दिएकी छैनन् ।

उपाध्यायले पुस मसान्तमा ६५ वर्षे उमेरहदका कारण अवकास पाउँदै छन् । अवकास पाउनु एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार न्यायपरिषद्ले त्यस्ता न्यायाधीशलाई पहिल्यै पत्र दिने गर्दछ । तर, उपाध्यायले मागेर पनि पाएनन् । यसको कारण हो, बैधनाथ बिदा बस्नासाथ वरिष्ठतम् न्यायाधीशका हैसियतले गोपाल पराजुली न्यायपरिषद् सदस्य हुन्छन् । उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सुशीलाले बनाएको योजनामात्र असफल हुँदैन, गोपालले छानीछानी आफ्ना निकटस्थ ल्याउने खतरा रहने कारण बैधनाथलाई बिदा नदिइएको सर्वोच्चस्रोतले जनाएको छ ।

बैधनाथ पूर्वप्रधानन्यायाधीशहरु विश्वनाथ र केदारनाथकै भाइ हुन् । उनलाई विश्वनाथले पक्कापक्की प्रधानन्यायाधीश हुने गरी ०४८ सालमा कानुन व्यवसायीमध्येबाट पुनरावेदनमा नियुक्त गरेका थिए । तर, सर्वोच्चमा विश्वनाथ र मीनबहादुर रायामाझीबीच टकरावको शिकार बैद्यनाथ बने, जसका कारणले प्रधानन्यायाधीश बन्ने बरियता मीनबहादुरले बिगारिदिए ।

अहिले फेरि यस्तै भएको छ । पहिला सुशीला कार्कीले सजाय गरेको मुद्दामा विपक्षीले निस्सा माग गरे । गोपाल पराजुलीसहितको बेञ्चले निस्सा दिने भन्यो । तर, आफ्नो निर्णयको प्रतिरक्षा गर्न प्रधानन्यायाधीश भएको मौकामा एउटा बेञ्च खडा गरी पराजुलीले दिएको निस्सा खारेज भएको छ ।

मुद्दा हो, पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताको । भ्रष्टाचारसम्बन्धी मुद्दामा न्यायाधीश छँदै सुशीला कार्की र तर्कराज भट्टले एउटै प्रकृतिको मुद्दामा दुईखाले फैसला दिएका थिए । गुप्ताको मुद्दामा अख्तियार २० दिन ढिलो गरेर पुनरावेदन गयो । त्यहीबेला कर्मचारी गणेशप्रसाद श्रेष्ठको मुद्दामा पनि अख्तियार १० दिन ढिलो गयो । यी दुबै मुद्दा सुशीला र तर्कराजको बेञ्चमा थियो । जयप्रकाशभन्दा पहिला गणेश श्रेष्ठको मुद्दामा सुशीला र तर्कराजबीच राय बाझियो । सुशीलाले ‘हदम्याद भनेर हुँदैन ।

विषय बस्तुमा गएर फैसला गर्नुपर्छ’ भन्दै गणेशलाई दण्ड जरिवाना तोकिन् । तर्कराजको राय थियो, ‘हदम्याद भनेको आधारभूत कुरा हो, हदम्याद नाघेर आएको मुद्दामा हामीले कुनै फैसला दिनु हुँदैन ।’ यो मुद्दा गएको तीन महिनापछि जयप्रकाशको मुद्दा गयो, ३० दिन म्याद नाघेर । सुशीला र तर्कराजको बेञ्चले डेढ वर्ष कैदसँगै एक करोड ६८ लाख जरिवाना तोक्यो । र, जयप्रकाश सञ्चार मन्त्री भएकै बेला ०६८ फागुन १० गते जेल चलान भए । उनले जेलभित्रैबाट ०६९ वैशाखमा पुनरावलोकनको माग गरे ।

दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीश भएको बेला गोपाल पराजुली, दीपकराज जोशी, देवेन्द्रगोपाल श्रेष्ठको बेञ्चले हदम्यादको आधारमा निस्सा दियो, कानुनी त्रुटी भयो (हदम्याद) भनेर । तर, उतिबेलाको निस्सा दिने निर्णयलाई यतिबेला आएर दीपक कार्की, आनन्ददेव भट्टराई र विश्वम्भर श्रेष्ठको बेञ्चले बदर गरिदिएको छ ।

टिप्पणीहरू