यस्तो तस्बिरले दिने तनाव « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

यस्तो तस्बिरले दिने तनाव

प्रकाशित मिति :  २४ पुष २०७३, आईतवार ०७:२६


जब–जब बन्दुक बोकेर देशको सिमाना रक्षा गर्ने, शान्ति–सुरक्षा कायम गर्ने प्रश्न आउँछ किन हो कुन्नि त्यस्तो काममा मधेसी तप्का हच्किने गरेको पाइन्छ । बरु कुर्सीमा बसेर गरिने काममाचाहिँ त्यो भेगको रुचि देखिने गरेको छ ।

तथ्यांकले नै भन्छ– पढेर, लेखेर फौजमा प्रवेश गर्नेमा मधेसी युवाको संख्या कम छ । उदाहरण नै हेरौं, नेपाल प्रहरीतर्फ ५४४४ जवानका निम्ति भर्ना खुल्दा मधेसलाई ६७२ जनाको कोटा थियो । यो भनेको खुलातर्फ सबै लडेर उत्तीर्ण हुने नभई खास समूहका निम्ति आरक्षण सिट हो । सो समूहमा लिखित परीक्षा दिँदा ५१३ जनालाई पनि उत्तीर्ण हुन धौधौ प¥यो जबकि जनजातितर्फ ७६८ मा सबै, महिलातर्फ ४८०, दलिततर्फ ३६०, पिछडा क्षेत्रबाट १२१ अर्थात् सबका सब पास भए । यसपालि पनि इन्स्पेक्टरतर्फ १७८० ले परीक्षा दिएकोमा १२६ जना मात्र पास हुने हो । पछिल्लोचोटि इन्स्पेक्टरकै निम्ति ११ महिला, ८ दलित, ४ पिछडा क्षेत्रबाट उत्तीर्ण भएकामा मधेसीतर्फ १६ जनाको कोटा थियो जसमा ११ जना मात्र पास हुन सके । ०७१ सालको असई भर्नामा पनि यस्तै भयो ।

१५३ कोटामा आदिवासी जनजाति २१, महिला १४, दलित १०, पिछडा ४ सबै जना कोटा पुग्ने गरी भर्ना भए तर मधेसीका निम्ति आरक्षित १९ सिटमा १७ जना मात्र बल्ल–बल्ल उक्लन सके । सेनामा पनि अवस्था यस्तै छ । सेनामा सात सय ६ जवानका लागि माग गर्दा १४ सय २२ ले आवेदन दिए तर अन्तिममा टिक्ने मधेसी युवाको संख्या भने ४ सय ४१ मात्र रह्यो । ०७२ सालमा ४ सय १४ पदका निम्ति ७ सय ९१ जना भिडेका थिए तर अन्तिममा ५९ जना मात्र उत्तीर्ण भए । यो वर्ष पनि २ सय ३२ जनाको दरबन्दी थियो तर पास भए जम्मा ५२ जना ।

प्रहरीतर्फ २/३ वर्षमा दरबन्दी खुल्ने र पद थोरै हुने हुनाले हो कि प्राविधिकका चाहिँ ठ्याक्कै कोटाअनुसार पास हुने गरेको पाइन्छ । ०७१ सालमा जनरल हेल्थतर्फ २, स्टाफ नर्सतर्फ १, कम्प्युटरतर्फ सई–१, रेडियो सञ्चारतर्फ १ मागअनुसार नै मधेसबाट पूर्ति भएको थियो । भाषिक समस्या, पहाडेसँग एउटै ब्यारेकमा बस्दाको लघुताभाष या हिमाल–पहाडको मौसम के कारण यस्तो हुने गर्छ सम्बन्धित निकायले खोजबिन गरी सहज वातावरण सिर्जना गर्नु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !