‘एमाले ओली र नेपाल दुबैको निजी कम्पनी होइन’

‘एमाले ओली र नेपाल दुबैको निजी कम्पनी होइन’

आज एमालेको संस्थापन पक्षले संसदीय दल र स्थायी समितिको बैठक बोलाएको छ । तर पार्टी एकतालाई अघि बढाउने हो भने ती दुबै बैठक तत्काल स्थगित गरेर वार्ता र सम्वादलाई अघि बढाउनुपर्ने आवाज दुवैतर्फ उठेको छ ।

विशेषगरी वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकतालाई जोगाउन उक्त माग गरेपछि बालकोट निकट दोस्रो पुस्ताका नेताहरु पनि सहमत हुनुभएको बताइन्छ । आइतबार राति कार्यदलमा भएको १० बुँदे सहमतिअनुसार बैठक आह्वान र स्थगित पनि दुबै पक्षको सल्लाहमा हुनुपर्ने माग छ ।

“पार्टी निर्माणमा सबैभन्दा धेरै योगदान गरेका नेता तथा कार्यकर्तालाई नै पार्टीमा छिर्न दिन्न भन्नु हुन्नथ्यो ।”

अध्यक्ष ओली र नेता नेपालबीच १० बुँदे सहमतिको भावनाबमोजिम काम गर्ने हो भने सल्लाहमा निर्णय गर्नुको विकल्प नभएको उहाँहरुको निश्कर्ष हो । अहिलेको अवस्थामा पनि दुईमध्ये कुनै एक नेताले एक्लै अघि बढ्ने निर्णय गर्नुभयो भने त्यहिँबाट थप समस्या आउने भन्दै दुबै पक्षको दोस्रो तहका नेताहरुले शीर्ष नेतृत्वलाई जानकारी गराइसकेको बताइएको छ ।

अध्यक्ष ओली पक्षका कार्यदल सदस्यहरुले हिजो उहाँलाई उक्त विषयमा जानकारी गराएको स्रोतले बताएको छ । तर,एमाले स्थायी समितिका एक जना सदस्यका अनुसार ओलीले उक्त प्रस्तावलाई स्वीकार्ने सम्भावना एकदमै क्षीण छ । उहाँ भन्नुहुन्छ, ‘केपी ओलीका नजरमा मानिस दुई थरि मात्र हुन्छन् । एउटा उहाँको वरिपरि परिक्रमा गर्ने खास एमाले र त्यसो नगर्ने जति सबै दुश्मन । त्यसरी परिक्रमा गर्नेहरु कत्तिको बोल्न सक्छन् भन्ने परिस्थितिले आगामी दिनको अवस्था निर्धारण हुने छ ।’

आज बोलाइएको दुबै बैठकमा उपाध्यक्ष भीम रावलसहितका नेता नजाने बुझिएको छ । रावल निकट स्रोतका अनुसार उहाँहरु संसदीय वा स्थायी समिति दुबै बैठकमा जानुहुन्न । बालकोटले पेलेर जाने निर्णय अवलम्बन गरे परिस्थिति थप जटिल हुनसक्छ । उहाँका अनुसार एमालेका २३ जना सांसद जसले प्रतिनिधिसभा ब्युँताउन अदालतमा मुद्दा हाले उनीहरु नै अहिलेको परिस्थितिको मुख्य सिर्जनाकार हुन् त्यसमा कुनै दुईमत छैन । त्यसको सेनापति माधवकुमार नेपाल हुनुभयो भने अरु चाहिँ पृतनापति र बाहिनीपतिको भूमिकामा रहनुभएको हो ।

“अहिले नेता नेपाल ६९ र अध्यक्ष ओली ७० वर्षको हुनुभएको छ । यो उमेरका नेताले नयाँ पार्टी बनाएर वा अर्को पक्षलाई निषेध गर्दै पार्टी पुनर्गठन गरेर अघि बढ्ने भन्ने सोच नै गलत हुन्छ ।”

त्यसैले आज नेपाल पक्षीय नेताहरुले पनि त्यसबारे सगोलमा बसेर सामूहिक निर्णय गर्ने भनिएको छ । एक्लै कसैले पनि केही निर्णय नगर्ने भनिएको अवस्थामा बालकोटले एकतर्फी निर्णय गर्नु यसअघि गरिएका दर्जनौं निर्णय र कारबाहीको हैसियतभन्दा कुनै अर्थमा फरक नहुने दावी गरिएको छ ।

दोस्रो तहका नेताहरुले आज बिहान १० बजेसम्ममा समस्या समाधानको कुनै न कुनै तस्बिर निस्कने बताउनुभएको छ । हिजो साँझ पनि नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल,घनश्याम भुसाल र भीम रावलहरुबीच त्यहि विषयमा छलफल भएको छ । उहाँहरुबीच १० बुँदेको भावनाअनुसार काम गर्नुपर्ने र एकलकाँटे रुपमा नेतृत्व अघि बढे पार्टी बैठकमा दोस्रो तहका नेताहरुको सहभागिता नहुने समझदारी बनेको बताइन्छ ।

ओलीले बुधबार बालकोटको घरको कौसीबाट बोल्नुभएका भाषा र शब्दलाई लिएर अहिले उहाँकै किचेन क्याबिनेटमा समेत विरोध शुरु भएको छ । उहाँका विश्वासपात्र नेताहरुले नै उक्त रवैयालाई गलत भन्नुभएको छ । आवेश र उत्तेजनामा आउँदैमा नेतृत्वमा बसेको जिम्मेवार व्यक्तिले तुच्छ शब्दको प्रयोग गर्नुले व्यक्तिको मात्रै होइन पार्टीकै शीर निहुरिएको रुपमा जिल्लाका कार्यकर्ताले लिएका छन् ।

एकताको सन्दर्भमा कार्यदलका सदस्यहरुबीच माधव नेपाल,झलनाथ खनाल र केपी ओली विनाको एमाले एकताको कल्पना पनि गर्न नसकिने एक किसिमको साझा धारणा बन्दै गएको छ । उहाँहरुबीच अनौपचारिक रुपमा माधव नेपाल र केपी ओली विनाको एमाले एकताको कल्पना पनि गर्न नसकिने भन्दै नयाँ शीराबाट प्रक्रिया अघि बढाउनुपर्ने सहमति समेत बनेको बताइन्छ ।

स्रोत भन्छ,‘दुबै जनालाई छाडेर हामी अघि बढ्छौं भन्ने अवस्थाभन्दा पनि दुबैलाई लिएर अघि बढ्नुपर्छ भन्ने सामूहिक मान्यता विकसित हुँदै गएको छ । पछिल्लो घटनाले सिकाएको पाठअनुसार अब त्यहि रुपले अघि बढ्नुको विकल्प छैन । किनभने एमाले ओली वा नेपाल दुबैको निजी कम्पनी होइन ।’

पार्टी निर्माणमा सबैभन्दा धेरै योगदान गरेका नेता तथा कार्यकर्तालाई नै पार्टीमा छिर्न दिन्न भन्नु हुन्नथ्यो । किनभने पार्टीभित्रका केही नेता एमालेलाई अहिले नै जसरी पनि टुक्र्याउने आशयको भाषण गर्दै हिँडेका छन् । त्यस्तो मनोवृत्ति दुबै खेमातिर देखिन्छ । तर धेरैजसो ओलीतिर रहेको बताइन्छ । त्यसैले यसको निम्ति जतिसक्दो छिटो पार्टी एकता गराएर महाधिवेशन गर्नुको विकल्प देखिँदैन । त्यसो गर्न सकिएमा त्यहिँबाट नयाँ शीराका साथ अघि बढ्न सकिने एकथरिको मान्यता पाइन्छ ।

अहिले नेता नेपाल ६९ र अध्यक्ष ओली ७० वर्षको हुनुभएको छ । यो उमेरका नेताले नयाँ पार्टी बनाएर वा अर्को पक्षलाई निषेध गर्दै पार्टी पुनर्गठन गरेर अघि बढ्ने भन्ने सोच नै गलत हुन्छ । त्यसो गर्दा त्यो पार्टीले कहिले जरा हाल्ने अनि कहिले हाँगा हाल्ने ? फल फल्ने त धेरै टाढाको विषय हुनेछ ।

दोस्रो पुस्ताका नेताहरुको विचारमा पहिलो पुस्ताका नेता सबैले जे जे प्राप्त गर्नु थियो प्राप्त गरिसक्नुभएको छ । तर दोस्रो पुस्ता भने तेस्रो र चौथो पुस्ताका नेताहरुको चेपुवामा नराम्रोसँग पर्नुभएको छ । उता आफूले प्राप्त गरेको उपलब्धि अरु कसैले नपाउन् भनेर पहिलो पुस्ता अझै लागिरहेको दोस्रो पुस्ताले महसुस गर्दै गएको देखिन्छ ।

तर पनि एमाले पार्टीमा माधव नेपाल र केपी ओली बाहेकको कल्पना कसैले पनि नगरेको उहाँहरुको मान्यता रहेको बताइन्छ । त्यसैले नयाँ उपाय निकाल्नैपर्ने अवस्थामा यतिखेर पार्टी नेतृत्व पुगेको छ । अन्यथा,एउटा पक्षले साथ छाड्नुपर्ने स्थिति आयो भने नयाँ परिस्थितिमा पार्टी थप कमजोर बन्नुबाहेक अरु केही हुने छैन ।

टिप्पणीहरू