भारतीय ज्वाईंलाई छोरा बनाएर नागरिकता दिन खोज्दा

भारतीय ज्वाईंलाई छोरा बनाएर नागरिकता दिन खोज्दा

नक्कली कागजात र सनाखत गर्ने ब्यक्तिसहित वडाध्यक्षको हस्ताक्षर किर्ते गरी नेपाली नागरिकता लिन खोज्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सप्तरी राजविराज नगरपालिका १५, देउरी भरुवाका देबन यादव र भारतीय नागरिक शिवनन्दन यादव हुन् । देवनले बाबु बनेर नागरिकता बनाइदिन खोजेका शिवनन्दन भने उनका ज्वाईं भएको खुलेको छ।

हिजो जिल्ला प्रशासन कार्यालय, सप्तरीमा नागरिकता बनाउन आएका बेला पक्राउ परेका हुन् । उनीहरुले वडाध्यक्षको हस्ताक्षर समेत किर्ते गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतले नागरिकतामा हस्ताक्षर गर्नै लागेका बेला अपरिचित व्यक्तिले फोन गरी देवन र शिवनन्दनले किर्ते गरेर नागरिकता बनाउन खोजेको जानकारी गराएका थिए ।

त्यही फोनको आधारमा उनीहरू पक्राउ परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले बताउनुभयो । फोनमा जानकारी पाएपछि वडा अध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जाँच गर्दा हस्ताक्षर समेत नक्कली देखिएको रामको भनाई छ । प्राय: सवै कुरा नक्कली देखिएपछि लगत्तै प्रहरी बोलाएर दुबैलाई पक्राउ गरिएको थियो ।

शिवनन्दनले आफू नेपाली नागरिक नै भएको दावी गर्दै वडाध्यक्षको हस्ताक्षर पनि सक्कली भएको र आफूहरुको वारेमा भ्रम फैलिएपछि वडाध्यक्षले पनि कुरा फेरेको दावी गरेका छन् । तर, स्थानीयले भने शिवनन्दन भारतीय नागरिक भएको बताए ।

यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सिडिओ जयनारायण आचार्यले बताउनुभयो । पक्राउ परेका दुवै जनामाथि गलत विवरण भरी नागरिकता लिन प्रयास गरेको र सरकारी कागजात किर्ते गरेकोले मुद्दा चलाइने भएको छ ।

टिप्पणीहरू