आफैंभित्र मारामार छ अनि…

‘महन्थ ठाकुर मात्र सधैँ संयोजक हुने ? ११ सांसद महन्थको, १६ सांसद मेरो । मधेसमा महन्थको पार्टी ठूलो कि मेरो ? महन्थको यो व्यवहार देख्दा मलाई खुबै दुःख लाग्छ ।’ अस्ति १४ र १५ गते उनै महन्थको पार्टी कार्यालयमा सम्पन्न मधेशी मोर्चाको बैठकमा आफूलाई उपेन्द्रले सुनाउने गरेको तीतो पीडा सुनाए पूर्व सञ्चारमन्त्री राजकिशोर यादवले ।

१४ गते बिहान ११ बजे बस्ने भनिएको मोर्चा बैठक एक घण्टा ढिलो शुरु भयो । एक घण्टा त्यहाँ उपस्थित भएका उपेन्द्र यो–यो बुँदा राखौं भनेर जनकपुरतिर उडे । उपेन्द्रको पार्टीबाट प्रतिनिधित्व गर्ने त्यहाँ राम सहाय थिए । उनी बाहिरिएको एक घण्टापछाडि मनीष सुमन, बृखेषचन्द्रलाल, राम सहायहरूको एउटा समिति बन्यो । छलफल पश्चात एमालेले संविधान संशोधनको विपक्षमा उठाएको आवाजविरुद्ध मोर्चाले १८ गते देशैभर खबरदारी प्रदर्शन गर्ने निर्णय भयो ।

बीचैमा महेन्द्रराय यादवले असन्तुष्टि जनाए । उनले मोर्चाको नभई सडक कार्यक्रम मधेशी गठबन्धनको मात्र हुनुपर्ने जिकिर गरे । तर, कसैले मानेनन् । संघीय गठबन्धनको मधेसमा काम छैन । जनजातिको आन्दोलनलाई मधेशी आन्दोलन भन्न मिल्दैन भन्दै भएभरका नेताले हकारे । अरू त अरू उनकै पार्टीका वरिष्ठ नेता रामनरेश रायलेसमेत अध्यक्षको प्रस्तावमा विरोध जनाए । चौतर्फी घेराबन्दीमा परेसँगै आफ्नो निर्णयबाट महेन्द्र ब्याक भए । भोलिपल्ट ११ बजे बैठक बस्ने भयो । तर, भोलिपल्ट बिहानै उपेन्द्रका पार्टीका नेता राम सहायले पार्टी अध्यक्षले त्यो बैठकमा नजा भनेका कारण आफू बैठकमा नआउने सन्देश पठाए । हाम्रो अध्यक्षले बनाएको खरोटमा किन रूपान्तरण गरियो, गठबन्धनलाई तपाईंहरूले किन उपेक्षा गर्नुभयो ? म आउन सकिनँ ‘सरी’ ! उनको भनाई थियो ।

उपेन्द्रको पार्टीको अनुपस्थितिविनै बैठक बस्यो । मधेसका सातवटै पार्टीको अध्यक्षले हैसियतले हस्ताक्षर गर्नुपर्ने । उपेन्द्रको हस्ताक्षर छुट्ने भयो । बीचमै हृदयेश त्रिपाठीले ६ पार्टीको हस्ताक्षर गरौं । उपेन्द्र र उनको पार्टीको नाम लेखेर खाली छाडिदिऊँ देखा जायगा भने । त्यही बीच लक्ष्मणलाल कर्णले चलाखी गरे ‘यस्तो गर्दा राम्रो सन्देश जाँदैन बरु उपेन्द्रको विचार छैन भने महन्थ ठाकुरको हस्ताक्षर राखेर विज्ञप्ति निकालौं कसैले पनि प्रश्न उठाउने मौका पाउँदैन ।’ कर्णको तर्क सिद्धिन नपाउँदै राजकिशोर यादवले उपेन्द्रको पीडा ओकलेका हुन् । यद्यपि, राजकिशोरको कुराको पनि  सुनुवाइ कसैले गरेन । ‘उपेन्द्रको नामको बखेडा छाडिदिनुहोस् । यस्तै हो महन्थलाई संयोजक बनाउनुहोस्’ भनेर अनिल झाले पनि टाउको हल्लाएपछि सबैले लक्ष्मणकै प्रस्तावमा सहीछाप जनाए । मधेसी मोर्चाको इतिहासमा पहिलोपटक महन्थको मात्र नाम राखेर विज्ञप्ती सार्वजनिक भयो । यसपछि उपेन्द्रको दिल झन दुख्ने भइहाल्यो ।

१६ गते उपेन्द्र फर्किए । १७ गते पुनः मधेशी नेता जुटे बिहान नौ बजे भारतीय राजदूतावास जान । जनकपुरमा भएका राजेन्द्र महतो राजदूतलाई भेट्न भन्दै हतार–हतार त्यताबाट फर्किए । तर, १८ गते बिहान नौ बजे जब मधेसी नेताले फोन गर्न थाले, उपेन्द्रले जवाफ फर्काए, ‘म त सिरहातिर जाँदै छु ।’

मधेशको हिसाव देखिएन महोदय

पछिल्लो तीन वर्ष शीतलहरका कारण तराईका सात जिल्लाका ६७ नागरिकले ज्यान गुमाउँदा न्यू इयर इभको नामममा १६ गते बिहीबार मधेसका केही बुद्धिजीवीले देवस्थान धुलिखेलमा पिकनिक खाएका छन् । लाखको बनभोज खानेमा तुलानारायण साह, श्रीमती रिता झा, पत्रकार धीरेन्द्र प्रेमर्षीलगायत रहेको बताइन्छ ।

मधेसमा कहाँ–कहाँ द्वन्द्वको सम्भावना छ पहिला दातृनिकायसमक्ष प्रस्ताव पेश गर्ने, अनि सामाजिक सद्भाव बढाउनुपर्छ भन्दै पुनः मुद्दा चर्काउनेक्रम जारी छ । मधेसको निम्ति प्रस्ताव हाल्ने एनजीओ चलाउनेमा तुलनारायण साहको नेपाल मधेस फाउण्डेसन, विजय कर्णको जागृत नेपाल, दीपेन्द्र झाको थर्ड एलायन्स, गणेश मण्डलको मधेसी नागरिक मण्डलसक्रिय छन् । यिनै संस्थाले दातृ निकायबाट कति रकम ल्याउँछन् र के–के शीर्षकमा खर्च गर्छन् पारदर्शिता छैन ।

तुलनारायणको फाउण्डेसनले ४ वर्षमा विदेशी दातृ निकायबाट कति रकम ल्यायो र के शीर्षकमा खर्च ग¥यो ? भन्दै सूचनाको हक माग्ने मधेसी नागरिकले खप्की खाएका छन् । सूचना माग्दा गाली खानुपरेपछि जनकपुरका अरुणकुमार साहले राष्ट्रिय सूचना आयोगसम्म उजुरी पु¥याएका छन् । यस सन्दर्भमा सूचना आयोगकी आयुक्त यशोदा तिमिल्सिनाकाअनुसार, आयोगमा यही पुस ११ गते दर्ता भएको यो उजुरीउपर कारबाही प्रक्रिया चलिरहेको छ ।

तराईका २२ जिल्लामा ७ सय ४५ आइएनजिओ सक्रिय छन् । तीनले मधेशमा २३ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको तथ्यांक एशोसिएसन अफ इन्टरनेशनल आइएनजिओसँग छ ।

टिप्पणीहरू