यसरी बाँडिएको रहेछ ठुल्ठूला पद « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

यसरी बाँडिएको रहेछ ठुल्ठूला पद

प्रकाशित मिति :  २४ पुष २०७३, आईतवार ०७:२२


दुई ठूला कम्युनिष्ट घटकबीच तत्काल तिक्तता देखिए तापनि समयक्रममा यिनीहरुको निकटताको सम्भावनालाई इन्कार गर्न सकिने अवस्था छैन । यसअघि पार्टी नै मिल्ने तहसम्मको सहमति जुटाएर दुई दलबीच संवैधानिक नियुक्तिहरुमा भागबण्डा मिलाइएको थियो । नेपाली कांग्रेसलाई स्थायी प्रकृतिको राष्ट्रपति र माओवादीलाई सभामुख दिने प्रस्ताव यसै आएको होइन ।

यी दुवै पद संसद्को दुई तिहाइ नभई हटाउनै नसकिने बलिया पिलर हुन् । अनि एमालेचाहिँ कुनै पनि बेला ढलमल हुनसक्ने अस्थायी प्रकृतिको प्रधानमन्त्री पदमै रमाउन इच्छुक देखिएको थियो । तर, बीचमा कांग्रेस बिच्किनाले माओवादीको भागमा उपराष्ट्रपति पदसमेत आइलाग्यो र सोही कारण प्रायः एमालेसँग रहने नेकपा (संयुक्त) परपर हुन थालेको घटनाक्रमले देखाउँछ । खासमा माधवकुमार नेपालले गणेश साहलाई उपराष्ट्रपतिको वचन दिएका रहेछन् तर परिस्थिति यसरी फेरिन पुग्यो कि माओवादीकै नन्दबहादुर पुन ‘पासाङ’ अप्रत्यासित हिसाबले बहादुर भवन सम्हाल्न पुगे ।

गणेश साहलाई ठूला दलहरु मिल्दा ठूलै घाटा आइलाग्यो । वाम राष्ट्रवादी धार निर्माण गरेर राप्रपा नेपाललाई समेत मिसाई भारतीय मोडलझैं दुई धु्रव बनाउने कोशिश त्यहींबाट शुरु भएको हो । दक्षिणमा पनि बिजेपी र कांग्रेस आई नेतृत्वका दुई मोर्चा छन्– एनडिए र युपिए । यहाँ कांग्रेस, एमाले नेतृत्वमा त्यस्तै मोर्चाको परिकल्पना गरिएको हुनुपर्छ । किन पनि यसो गरियो भने समानुपातिक समावेशीको मिश्रित प्रक्रिया अपनाएर चुनाव गर्दा प्रत्यक्ष निर्वाचनबाट कुनै एक दलले स्पष्ट बहुमतै पाए पनि साना दलको सहयोगबेगर सरकार गठन गर्नसक्ने अवस्था अझै केही वर्ष बिल्कुलै देखिँदैन । यसैकारण एमालेले माओवादीलाई आफू बराबर र रोजेकै मन्त्रालय जिम्मा लगायो । यसो गर्दा नेकपा (संयुक्त)ले चित्त दुखाउनु अस्वाभाविक थिएन ।

नेकपा (संयुक्त) रिसाउँदाको क्षतिपूर्तिस्वरुप प्रेमबहादुर सिंह, एकनाथ ढकाल, शिवलाल थापा, मेघराज निसाद, विश्वेन्द्र पासवानजस्ता १/२ सिटेहरुले फुल मन्त्री चलाउन पाए । यी सबै उदारताका पछाडि दुई कम्युनिष्ट पार्टीमा ०७४ माघसम्म सहकार्य गर्ने र त्यसपछि पनि कार्यगत एकतामार्फत पार्टी एकीकरणसम्म गर्ने सोचले काम गरेको थियो भन्छन् सहमतिका साक्षीहरु ।

त्यही सोचअन्तर्गत एमाले नेतृत्वको सरकार चलाउने उच्चस्तरीय संयन्त्रको अध्यक्षता माओवादी अध्यक्ष प्रचण्डले गरेका हुन् तर जसै नाकाबन्दी अन्त्य भयो, अनेकन रुप र अवतारका अमरेशहरुले सल्बलाउने मौका पाए । एउटै पार्टीबाट चोइटिएका सिपी मैनालीसँग त भौतिक एकता गर्न नसकेको एमालेले पल्लो तीर र विजातीय विचार बोकेको माओवादीसँग मनकै मिलन होला भनेर कसरी ठान्न सकेको होला ? अचम्म मान्छन् कमरेडहरू !


प्रतिक्रिया दिनुहोस !