कताबाट पाउनुभो यस्तो स्वाद कमरेड !

प्रधानमन्त्री, मन्त्रीलगायतका कार्यकारी प्रमुखहरुको सल्लाहकार टोलीमा पुग्न किन मान्छेहरु मरिहत्ते गर्छन् बुझ्न कतै गइरहनै पर्दैन, प्रचण्डका राजनीतिक सल्लाहकार चन्द्र खनाल ‘बलदेव’ लाई छोटो समयमै प्राप्त भौतिक लाभ मात्र हेरे पुग्छ । अघिल्लो निर्वाचनमा कपिलवस्तुको क्षेत्र नम्बर १ बाट लडेका उनले भएभरको जेथा (बुटवलको घडेरीसहित) बेचेर खर्च चलाएका थिए तर त्यतिले पनि पुगेन । पार्टीलाई बुझाइएको विवरणअनुसार त्यसबेला २८ लाख उल्टो ऋण लाग्यो । हार पनि व्यहोर्नुप¥यो ।

लगभग १३ हजार मतल्याएर एमालेका बलराम अधिकारीले जित्दा उनी भने ६४ सय मतसहित तेस्रो भए । हुन त चुनाव हारे पनि दोस्रो हुने दिपकुमार उपाध्यायले दिल्लीका लागि दोस्रोचोटि राजदूत पाए भने बलदेवले प्रचण्डको सल्लाहकारका रुपमा सरकारी सुविधा भोग गरिरहेका छन् । तर त्यतिले नपुगेर उनले ठूलै माछा फेला पारेछन् क्यार, नत्र त्यत्रो ऋणमा भएको मान्छेले साढे ४३ लाखमा कसरी जग्गा खरिद गर्न सक्थे ! स्थानीय स्रोतका अनुसार डेढ महिनाअगाडि उनले वाणगंगा नगरपालिका–१३ मा १५ का जमिन किनेका छन् । प्रतिका दुई लाख ९० हजार मूल्य तिरेर आफ्नै नाममा खरिद गरेको जग्गा साढुभाइ विष्णु शाहले मिलाइदिएका हुन् । श्रीमती यमा बञ्जाडेसमेत पार्टीमै पूर्णकालीन रहेकाले सत्ताको केन्द्रमा पुग्नेबित्तिकै बलदेवले फड्को मारेको देख्नेहरुले सहज अनुमान लगाएका छन्, ‘पक्कै पनि ठूलै काममा सफलता पाएछन्, कमरेडले ।’

केही महिनाअघि बाबुरामको नयाँशक्ति छाडेका मुमाराम खनालको सहोदर दाइ बलदेवको परिवार अर्घाखाँचीबाट कपिलवस्तुको कोपुवामा बसाइँ सरेको हो । जनसाँस्कृतिक महासंघ हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका खनालको पछिल्लो आर्थिक हैसियतलाई माओवादीका कमाउन नसक्ने कार्यकर्ताले चाहिँ ‘समयअनुसारको स्वाद’ भन्ने गरेका छन् । स्मरण रहोस्, बलदेवकी श्रीमती यमामाथि चाहिँ द्वन्द्वकालमै पार्टीको सुन लुकाएको र कार्यकर्ता पक्राएको आरोपसमेत लाग्ने गरेको थियो ।

टिप्पणीहरू