धर्ना बसे पूर्वराष्ट्रपति पुत्र

धर्ना बसे पूर्वराष्ट्रपति पुत्र

क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा धाँधली भएको र आवश्यक छानबिन गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना र नाराबाजी भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाका असन्तुष्ट नेता तथा कार्यकर्ताहरू संस्थागत निर्णय कार्यान्वयनको माग गर्दै केन्द्रीय कार्यालयमा धर्नामा बसेका हुन् ।

उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको,पार्टीको विधान,नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरेको दाबीसहित निर्णय सच्याउन माग गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य रामउदय यादवले विधि र विधानभन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताउनुभयो । उहाँले सभापतिलाई बाइपास गरेर, नगर सभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनशायका साथ क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउनुभएको छ ।

यादवले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दाबीसमेत गर्नुभएको छ । उहाँले विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफूहरू आमरण अनसन बस्न तयार रहेको चेतावनी दिनुभयो ।

त्यसैगरी, नेपाली काँग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्यता वितरणमा धाँधली भएको भन्दै धर्ना बसेका छन् । नेपाली काँग्रेस जीतपुर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाका मात्रै ९६ जनालाई चोर बाटोबाट सक्रिय क्रियाशील सदस्यता दिने काम भएको दाबी गर्नुभयो । उहाँले त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि काम नभएपछि धर्ना बसेको बताउनुभयो ।

धनुषाका पूर्वसांसद डा. चन्द्रमोहन यादवले लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था सृजना हुनु बिडम्बनापूर्ण भएको बताउनुभयो । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढंगले नयाँ क्रियाशील सदस्यता थप्ने काम भएको भन्दै त्यो नसच्चिएसम्म आफूहरु पार्टी कार्यालयमा धर्नामा बस्ने पूर्व रास्ट्रपति पुत्रको अठोट छ ।

टिप्पणीहरू