युवा संघले गच्छदारको स्वागत र आफ्ताब आलमको पूर्वस्वागत गर्दै

युवा संघले गच्छदारको स्वागत र आफ्ताब आलमको पूर्वस्वागत गर्दै

नेकपा एमालेको भातृ संगठन तथा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ नेपालले नेपाली काँग्रेसका उपसभापति तथा पूर्व प्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफ्ताव आलमलाई आज साँझ स्वागत गर्ने भएको छ ।

ललिता निवास प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका गच्छदार र ईटाभट्टामा जिउँदै मान्छे पोलेको अभियोगमा जन्म कैद भोगिरहेका आलमलाई युवा संघले व्यङ्गात्मक शैलीमा स्वागत गर्न लागेको हो ।

मंगलबार रातिदेखि सत्तामा आएको नेपाली काँग्रेसले गम्भीर अभियोग लागेकाहरूलाई संरक्षण गर्न खोजेको आरोप छ । हिजो मात्रै गच्छदार १० लाख रुपैयाँ धरौटीमा विशेष अदालतबाट छुटेपछि सरकार अपराधीको संरक्षणमा लागेको आरोप लागेको हो ।

सरकारले आफूपक्षका आरोपित नेताहरूलाई छुटाउन थालेको बताउँदै संघले बिरोधस्वरुप व्यङ्गात्मक प्रदर्शन गर्न लागेको बताइएको छ । संघले अहिले बेलुकी ५ बजे नयाँबानेश्वरमा विजयकुमार गच्छदारको स्वागत तथा आफ्ताब आलमको पूर्वस्वागतको व्यङ्गात्मक प्रदर्शन गर्न लागेको हो ।

टिप्पणीहरू