उत्तेजक भीडद्वारा बाल्कोटमा माधव,प्रचण्ड र चोलेन्द्रलाई झुण्ड्याउने चेतावनी, विश्वासको मत माग्ने देउवालाई नेपालको जवाफ « Jana Aastha News Online
Logo
५ माघ २०७८, बुधबार
|  Wed Jan 19 2022

उत्तेजक भीडद्वारा बाल्कोटमा माधव,प्रचण्ड र चोलेन्द्रलाई झुण्ड्याउने चेतावनी, विश्वासको मत माग्ने देउवालाई नेपालको जवाफ

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १६:००


पाँचौँ पटक मुलुकको कार्यकारी प्रमुख बन्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा शपथ लिएसँगै आफ्नो पहिलो राजनीतिक भेट एमाले वरिष्ठ नेता माधव नेपालसँग गर्नुभएको छ । शीतल निवासमा पहिलो बधाइ नेता नेपालबाटै पाउनुभएका प्रधानमन्त्री देउवा भेटघाटका लागि हिजो नेपाल निवास कोटेश्वर पुग्नुभएको हो । भेटवार्तामा सरकारलाई विश्वासको मत दिएर प्रतिनिधिसभालाई पूरै कार्यकाल चलाउन उहाँहरु बीच छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार हिजोको भेटमा देउवाले गठवन्धनलाई थप प्रभावकारी बनाउन नेपाल समूह पनि सरकारमा सहभागी हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो । देउवाले आफूलाई विश्वासको मत दिन र प्रतिनिधिसभा विघटनबाट बचाउन गरेको आग्रहमा नेता नेपाल सहमत भएको स्रोत बताउँछ ।

‘विश्वासको मतबारे हिजै फाइनल कुरा हुने त भएन । तर, प्रतिनिधिसभा जोगाउन पर्छ भन्नेमा हामी छौँ । समूहभित्र छलफल गरेर उपयुक्त निर्णय गर्छौँ भनेर माधव कमरेडले प्रधानमन्त्रीलाई भन्नुभएको बुझिन्छ’,स्रोतले भन्यो ।

देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेपनि नेता नेपालले तत्काल सरकारमा जाने सम्भावना नरहेको जवाफ दिनुभएको थियो । बताइएअनुसार गठवन्धनको सूत्रधारकर्ता भएकाले सरकारलाई सफल बनाउन नेता नेपालको भूमिकाको देउवाले अपेक्षा गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनबाट जोगाउन आवश्यक भूमिका खेल्ने वचन दिनुभएका नेता नेपालले सरकारमा जानेबारे भने देउवालाई कुनै निर्णय नदिएको बुझिएको छ ।

एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र खेमालाई समेटेर गठवन्धनका सबै दल सम्मिलित संयुक्त सरकार बनाउन कांग्रेस र माओवादीले प्रयास गरिरहेका छन् । दुवै समूह सरकारमा जान तयार भए मन्त्रालय भागबण्डामा जुनसुकै तहको लचकता देखाउन उनीहरु तयार रहेको पनि बताइन्छ । तर,पार्टीको आन्तरिक राजनीतिमा अप्ठेरो परिस्थितिको सामना गरिरहेका दुवै दल अहिले नै सरकारमा सहभागी हुने मनस्थितिमा छैनन् ।

बुझिएअनुसार प्रधानमन्त्री देउवासंगको हिजोको भेटमा नेता नेपालले एमाले विवाद मिल्ने दिशामा अघि बढेकाले तत्काल सरकारमा सहभागी हुन नसक्ने बताउनुभएको थियो ।

‘सरकारमा जाने कुरा हाम्रालागि प्राथमिकताको विषय कहिले पनि भएन । प्रतिनिधिसभा विघटनबाट जोगाउन बाध्य भएर देउवाजीलाई समर्थन गरेका हौँ । विश्वासको मत दिने कुरामा हामी क्लियर नै छौँ । तर,सरकारमा जान अहिले सम्भव नहोला भन्ने लाग्छ’, नेपाल समूहका एक नेता भन्छन् ।

यसअघि प्रतिनिधिसभा पुनर्स्थापना भएकै दिन साँझ कोटेश्वरमै बसेको विपक्षी गठवन्धनको बैठकमा नेता नेपालले आफू विपक्षी गठबन्धनबाट बाहिरिने घोषणा गर्नुभएको थियो । सो बैठकमा नेपालले एमाले एकताको बाटोमा अघि बढेकाले तत्कालका लागि गठवन्धनबाट अलग हुनुपर्ने अवस्था आएको बताउनुभएको थियो । तर,नेपाल निकट ती नेताले भने गठवन्धनबाट बाहिरिने निर्णय नभएको दाबी गरे ।

पार्टी एक नहुँदासम्म अलग विचार समूहका रुपमा आफूहरुको राजनीतिक गतिविधि चलिरहने उनको भनाइ छ । पार्टी एक हुने नहुने कुरा अध्यक्ष ओलीको भूमिकामा निर्भर रहने उनको जिकिर छ । हिजोको ओलीको अभिव्यक्ति र सूर्य थापा लगायतका नेताहरुको टिप्पणीले पार्टी मिल्ने भन्दा भाँडिने दिशामा अघि बढेको उनको बुझाइ छ ।

‘हिजो उहाँले बालकोट पुगेर गध्दारको सँज्ञा दिँदै माधव नेपाललाई पार्टीमा निषेध गर्छु भन्नुभयो । सूर्य थापाहरुले कार्यदलमा रहेका सहित हस्ताक्षरकर्ता २६ भाइलाई नै गद्दार भनिरहेका छन् । उहाँका कार्यकर्ताले माधव नेपालको पुत्ला जलाएका छन् । बाल्कोटको रुखमा माधव,प्रचण्ड र चोलेन्द्रलाई झुण्ड्याउने उद्घोष गरेका छन् । यस्तो अवस्थामा पार्टी एकता गर्ने कि विभाजनमा धकेल्ने भन्ने त ओलीकै हातमा रह्यो नि’,उनी भन्छन् ।

यता,ह्वीप नलाग्ने भएपछि ओली समूहकै केही सांसद मन्त्री माग्दै बूढानीलकण्ठ पुगेको अपुष्ट समाचार छ । देउवाले विश्वासको मत लिँदा ८ जना सांसदलाई लाइन लगाइदिने दाबीका साथ एक सांसदले मन्त्री मागेकोवारे बिस्तृत विवरण आउन बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस !