यस्तरी पनि खाँदा रहेछन्

जिल्ला शिक्षा कार्यालय सिरहाका तत्कालीन अधिकारी महेन्द्र महतोले जिल्लान्तर सरुवामा १ करोड ६० लाख भ्रष्टाचार गरेको आरोप छ । चार चरणमा ८० जना शिक्षकको जिल्लान्तर सरुवा भएको हो ।

महतोले निमावि खरुक्याही र प्रावि जयनगरधोक्रेको रिक्त एक दरबन्दीमा २/२ जना शिक्षक तथा अवकाश हुन चार महिना मात्र बाँकी रहँदा जउमावि सुखीपुरका सत्यनारायण चौधरी र राजकुमार साहको पारस्परिक सरुवा गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको सिफारिसविनै निमावि मल्हनवा र प्रावि घलेटोलमा पनि जिल्लान्तर सरुवा गरिएको छ ।

समाचार स्रोतका अनुसार निमावि पानबारी र प्रावि सिमलटोकी पनि डुमरीमा व्यवस्थापन समितिको म्याद एक वर्षअगावै समाप्त भइसकेको अवस्थामा महतोले सोही समितिबाट सरुवा सहमति लिन लगाई शिक्षक सुरेन्द्रप्रसाद साह र रामवचन यादव सरुवा गरेका छन् । जिशिअ महतोले विषयगत शिक्षक हँुदाहँुदै पनि भेरिया, अयोध्यानगर, कसहा तथा लक्ष्मीपुर पतारी माविमा सोही विषयका शिक्षकलाई सरुवा गरेको चर्चा छ । स्रोतका अनुसार जिशिअ महतो सरुवा हुने बेला करिब डेढ वर्षदेखि विद्यालयमा गयल रहेका निमावि महेशपुरका शिक्षक सीयाराम यादवलाई तलब निकासा गरिदिएका छन् । जिशिअले गैरकानुनी किसिमबाट भगवती प्रावि कृष्णपुरमा कार्यरत शिक्षक रामनारायण मण्डललाई अन्य विद्यालयमा सरुवा गरी निजको रिक्त दरबन्दीमा भोजपुरका शिक्षक रोहित यादवलाई ल्याएका छन् ।

बरियारपट्टी माविका शिक्षक अशोक यादवलाई लगडीगदीयानीमा सरुवा गरी रिक्त दरबन्दीमा जिल्लान्तर सरुवा गरिएको छ । यसअघि बारा जिल्ला शिक्षा कार्यालयमा रहँदा करोडौंको भ्रष्टाचार अभियोगमा अख्तियारद्वारा निलम्बन भई विशेष अदालतमा मुद्दासमेत खेपिसकेका महतो सिरहामा १ वर्ष १० दिन बस्दा अन्तिम २ महिनामा ८० जिल्लान्तर सरुवाका साथै ६२ जना शिक्षकलाई सरुवा पद स्थापना, २८ जनालाई काज सरुवा र ४५ जनालाई निमित प्रअ बनाउन सफल भएका छन् । सामान्य किसान परिवारका महतो विद्यालय निरीक्षकबाट जागिरमा प्रवेश गरी भ्रष्टाचारकै रकमबाट सिरहा सदरमुकाममा करोडाँैको ३ तले घर, विभिन्न सहरमा जग्गा–जमिन तथा छोरालाई डाक्टरी पढाउन सफल भएको स्रोत बताउँछ ।

– वीरेन्द्र महतो

टिप्पणीहरू