राजनेताका नाममा करोड,३५ सय प्रजाति संरक्षणका लागि जम्मा ५ लाख

राजनेताका नाममा करोड,३५ सय प्रजाति संरक्षणका लागि जम्मा ५ लाख

-आशिका लम्साल

नेताका नाममा स्मारक र मनोरञ्जन पार्कहरु बनाउन वर्षेनी करोडौं रुपैयाँ छुट्याउने प्रदेश १ सरकारले जैविक विविधताको संरक्षणका लागि वनस्पति पार्क निर्माणमा भने चासो दिएको छैन ।

वनस्पति पार्क निर्माणमा चासो नदिँदा प्रदेश १ मा मूल्यवान जडिबुटी र बहुमूल्य वनस्पति प्रजातिहरुको पहिचान र संरक्षण हुन सकेको छैन ।

आगामी वर्ष प्रदेश १ सरकारले राजनेताको स्मारक बनाउन भन्दै दुई करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै विभिन्न जिल्लामा सामुदायिक र मनोरञ्जन पार्क निर्माणका लागि करोडौं रुपैयाँ छुटयाएको छ । तर जैविक विविधताको संरक्षण र पहिचानका लागि अति आवश्यक पर्ने वनस्पति पार्क (उद्यान) निर्माणको संभाव्यता अध्ययन गर्न मात्र पाँच लाख रुपैयाँ छुट्याएको छ । उक्त रकम अध्यनका लागि पनि अपुग रहेको बताइन्छ ।

प्रदेश १ मा ३५ सय फूल फुल्ने वनस्पति

प्रदेश १ मा बहुमल्य,दुर्लभ र महँगा प्रजातिसहितका ३५ सय फूल फुल्ने वनस्पतिहरु छन् । तर, तिनको पहिचान र संरक्षणका लागि हालसम्म प्रदेशमा एउटा पनि वनस्पति उद्यान छैन । जसले गर्दा धेरैले ती वनस्पति चिन्न पाएका छैनन् भने संरक्षण पनि हुन सकेको छैन । पहिचान र संरक्षण अभावमा धेरै मूल्यवान अनि दुर्लभ वनस्पतिहरु मासिँदै गइरहेका छन् ।

प्रदेश १ वन मन्त्रालयको जैविक विविधता शाखाले प्रकाशन गरेको अनुसन्धानमूलक ‘प्रदेशका वनस्पतिका प्रजातिहरु’ नामको पुस्तकमा प्रदेशमा पाइने फूल फुल्ने ३५ सय प्रजातिमध्ये ३२ प्रकारका गुराँस, २ सय ३७ प्रजातिका सुनाखरी, ९ सय २४ प्रजातिका जडिबुटी, २ सय ७३ प्रकारका लहरे बनस्पति छन् । यसैगरी ५ सय २६ बुट्यान, ३ सय ९८ रुख र २३ सय ३ प्रकारका झारपत्र प्रजातिका वनस्पति रहेका छन् ।

विज्ञहरु केशव राजभण्डारी,राजेश तामाङ,रिता क्षेत्री,सुभाष खत्री, मोहनदेव जोशी र संजीवकुमार राईले संकलन गरेर तयार गरेको पुस्तकमा उल्लेख भएअनुसार नेपालमा कूल ६५ सय प्रकारका बनस्पतिको प्रजाति पाइन्छन् । तीमध्ये ६९ प्रतिशत प्रदेश १ मा रहेका छन् । हाल प्रदेशमा पाइने ५० प्रतिशत प्रजातिको नमूना संकलन भैसकेको छ ।

प्रदेश १ मा ७४ प्रजाति विश्वमै नपाइने अति दुर्लभ प्रकारका छन् । प्रदेशमा पाइने ९ सय २४ प्रकारका जडिबुटीमध्ये ‘हाइभ्यालु’ अर्थात महंगो मूल्य पर्ने प्रजातिका पनि धेरै छन् । तर त्यसको अझै पूर्ण अनुसन्धान भैसकेको छैन ।

प्रदेश १ मा विश्वमा ओसारपसार गर्न नपाइने ‘साइटिष्ट’ सूचीमा परेका एक सय प्रजातिका वनस्पति पनि छन् । अन्तराष्ट्रिय प्रकृति संरक्षण कोषले दुर्लभ भनेर सूचीकृत गरेका १६ प्रकारका बनस्पति प्रजाति पनि यहि प्रदेशमा पाइएका छन् ।

३५ सय प्रजातिका लागि एउटा मात्र साँघुरो उद्यान

प्रदेश १ मा संघीय सरकार मातहत रहेको इलामको माइपोखरीमा एक मात्र जिल्लास्तरको सानो वनस्पति उद्यान छ । तर त्यो सानो उद्यानले मात्र प्रदेशको सबै भूगोलमा रहेका वनस्पतिको पहिचान र संरक्षण हुन नसक्ने प्रदेश १ वन मन्त्रालय जैविक विविधता शाखाका सहायक वनस्पति अधिकृत राजेश तामाङ बताउँछन् ।

उनका अनुसार आगामी वर्ष प्रदेश सरकारले बनस्पति उद्यान स्थापनाका लागि संभाव्यता अध्ययन गर्न मात्र ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यति रकमले संभाव्यता अध्ययन मात्र पनि पूरा हुने देखिँदैन ।

धेरै प्रजातिका वनस्पति प्रदेश १ मा

देशकै होचो झापाको केचनकवलदेखि विश्वकै अग्लो सगरमाथा भूभाग प्रदेश १ मा पर्दछ । यहाँको हावापानी हिमाल,पहाड र तराई गरेर तीन तटमा फैलिएको छ । बंगालको खाडी पनि नजिक पर्ने भएकोले यहाँ अन्य प्रदेशमा भन्दा धेरै र बहुमूल्य,महंगा र दुर्लभ वनस्पति प्रजातिका लागि हावापानी सुहाउँदो रहेकोले धेरै प्रजातिका वनस्पतिहरु पाइएको बिज्ञहरु बताउँछन् ।

हिमाल, पहाड र तराईमा अलग अलग उद्यान आवश्यक

प्रदेश १ मा वनस्पतिहरुको ‘पेटेन्टराईट’ अनुवांशिकी सुरक्षाका लागि पनि हिमाल, पहाड र तराई तीनवटै क्षेत्रमा बृहत वनस्पति उद्यान (बोटानिकल गार्डेन) स्थापना गर्न आवश्यक भएको अध्येतासमेत रहेका वनस्पति विज्ञ राजेश तामाङ बताउँछन् । उनका अनुसार सरकारले चासो दिएर अलग अलग वनस्पति उद्यान स्थापना गर्न सके हरेक उद्यानमा कम्तीमा एक हजार दुर्लभ,मूल्यवान वनस्पतिहरुको उचित पहिचान र संरक्षण हुन सक्नेछ । जसले मौलिक पहिचानको अधिकार स्थापना गराएर पर्यावरणीय पर्यटन प्रबर्धनमा समेत सहयोग पुर्याउने छ ।

सहायक वनस्पति अधिकृत तामाङ भन्छन्, ‘हरियो वन नेपालको धन अनि मौलिक हावापानी र वनस्पतिको धनी भनेर मात्र हुँदैन बेलैमा बनस्पति उद्यानहरु स्थापना गरेर दुर्लभ र मूल्यवान वनस्पतिहरुको संरक्षण गर्न सके मौलिक पहिचान जोगाउँदै संरक्षण विस्तार गरेर औधोगिक विकासमा समेत सहयोग पुग्ने थियो ।’

टिप्पणीहरू