घ्यू नलाग्ने खेल, जिउ नलाग्ने झेल

  • संकेत कोइराला

ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिल अमेरिका घुम्न गएका बेला राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिलचाहिँ बाथरुमको ढोका खुल्लै राखी नांगै नुहाइरहेका थिए । यस्तो अनपेक्षित दृश्य देखेर उनले रिसाउँदै प्रश्न गरे– ‘लाज, सरम, घीन केही छैन, यस्तो के तमाशा देखाउनुभएको ?’ चर्चिलले हाजिरी शैलीमा उत्तर दिए– ‘म तपाईंलाई केवल यो बताउन चाहान्थें कि यो अवस्थामा ब्रिटिश सरकारसमक्ष त्यस्तो कुनै कुरा छैन, जो अमेरिकी राष्ट्रपतिका सामु गुप्त राख्न सकियोस् ।’

अनेक वर्णमा आएका नेपालका अधिकांश शासकको हालत चर्चिलको जस्तै छ । अरूले भरिदिएको हावाको गतिमा उड्ने बेलुनभन्दा परको अवस्था यहाँका सत्तारूढहरूको कहिल्यै रहेन । जसले हावा भरिने मौका पाएनन्, तिनीहरूका लागि सत्ता सधैं अंगुर अमिलोको कथासरह बन्यो । हिन्दी सिनेमाको यो गीत शायद नेपाली राजनीतिलाई देखेर बनाएको हुनुपर्छ, ‘जितनी चाभी भरी राम ने, उतनी चली खिलोना ।’ कुनै आग्रह, पूर्वाग्रह होइन अहिलेसम्म सर्वाधिक महत्वपूर्ण भनिएको २००७ सालको राजनीतिक क्रान्तिका ‘नायक’ त्रिभुवनले आत्मसमर्पण गरेका थिए तर बर्दी भिराइयो राष्ट्रपिताको । गाँस, बास, कपास सुरक्षित गरेर प्रवासमा मुन्टो लुकाउनु नायकत्व हुँदै होइन । यसरी रोपिएको निर्देशित प्रजातन्त्रको बेर्ना प्रचण्डपथसम्म आउँदा पनि दुईपाते हुन सकेन । त्यो समयका लेखकले त्रिभुवनलाई राष्ट्रपिताको पदवी भिराए भने अहिलेका लेखकहरूले प्रचण्डलाई देवअवतार हुँदै भित्ते राष्ट्रपतिमा थन्क्याए । प्रकारान्तरले उनका लागि प्रधानमन्त्री पद फगत मुन्टो लुकाउने जागिर बनेको छ ।

मुलुक राणाशासनबाट मुक्त भएपछि प्रजातान्त्रिक नेपालका ‘लोकप्रिय’ राजा त्रिभुवनले भनेका थिए– ‘जनताद्वारा निर्वाचित हुने प्रतिनिधिद्वारा बनाइने प्रजातान्त्रिक संविधानअनुसार शासित होउन् भन्ने हाम्रो सदैवदेखिको इच्छा र संकल्प छ । देशको परिस्थितिमा सम्भव हुने यथाशक्य शीघ्रताको साथ संविधानसभाका लागि चुनाव गरिने प्रयत्न गरिँदै छ । हाम्रो देशको संविधान त्यही हुनेछ । जुन यस संविधानसभाद्वारा तयार गरिनेछ ।’ राजा त्रिभुवनको यो सपना उनी बाँचुञ्जेल पूरा हुने छाँटकाँट कतै आएन । उनका छोरा महेन्द्रले राजपाट सम्हालेको चार वर्षपछि देशवासीका नाममा गरेको संबोधन त झन् विरक्तलाग्दो थियो, ‘हालै इलेक्सन कमिसनबाट पेश भएको रिपोर्ट र मन्त्रिमण्डलबाट उक्त घोषित तिथिमा आमचुनाव हुन नसक्ने व्यहोरा उल्लेख गरी चुनाव यथाशक्य, यथाशीघ्र गराउन प्रयत्नशील हुनेछ भन्ने हाम्रो हजुरमा जाहेर हुन आएको कुरा आज फेरि घोषणा गर्नुपरेकोमा स्वभावतः हामीलाई जति खेद लागेको छ ।’

६ दशकपछि गणतान्त्रिक मुलुकका दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको हालत पनि उस्तै छ । त्यो बेला पनि राजा महेन्द्रले दललाई यस्तै नैतिकताको पाठ सिकाउँथे, जसरी अहिले विद्याले सिकाइरहेकी छन् । यी सबै घटनाक्रमले उब्जाएको एउटै प्रश्न हो– दशकौं एउटै रोटेपिङमा हामी किन मच्चिरहेका छौं ? कहिल्यै घ्यू नलाग्ने धोका र कपटको राजनीतिक खेल कहिलेसम्म खेलिरहने ? यस विषयमा घोत्लिने समय धेरैपल्ट घर्किसकेको छ । अहिले त झन् नागरिक भएका राजाले आफ्नो पीडा पोख्दा गणतन्त्रका सारथीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्छ भने त्यो गणतन्त्रको जग कति मजबुत रहेछ आपैंm प्रष्ट हुन्छ । आफ्नो डर भगाउन उनीहरूले दरबार हत्याकाण्डको ट्रम्पकार्ड देखाउने सम्मको निकृष्टता प्रदर्शन गर्न पुगे । दरबार हत्याकाण्ड, मदन भण्डारी दुर्घटना, बिपी कोइरालाको सत्ता अवसान यस्ता काण्ड हुन्, जसको सिङ–पुच्छर खुट्याउने तागत भएका माइकालाल समकालीन पुस्ताले पाएको छैन भनेर ठोकुवा गर्न सकिन्छ । आफ्नो जागिर बचाउन गरिने यस्तै कुकर्मको परिणाम सधैं हात लाग्ने गरेको एउटै वस्तु हो– पश्चाताप ।

राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन् । रामायणकालिन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जोसँग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसँगको युद्धमा मारिएपछि क्षेत्रीलाई विद्या नै नसिकाउने संकल्प गरे । आखिर आख्यानको त्यही हठी परशुराम पात्रका अवतारहरूले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन् । यी पात्रहरू कतै गुण्डागर्दीको कमाईमा कानुन आफ्नो मुट्ठीमा कैद गर्ने अघोरी त कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडिरहेका छन् । ‘नयाँ नेपाल’ फिलिमको नाम दिएर खेलिएका खेलका फेहरिस्त यति घिनलाग्दा र निकृष्ट छन् कि जसलाई असभ्यताको पराकाष्टा मान्दा फरक पर्दैन । बिपीको समाजवाद, मदन भण्डारीको बहुदलीय जनवाद र माओको नौलो जनवाद क्रसर उद्योग, जग्गा दलाल, घुसखोर, हाइड्रोपावरका खेलाडी र राजश्वमाराको कब्जामा पुगेर खरानी भएका छन् । ०४६ सालको परिवर्तनलाई विस्थापित गर्न रिमिक्स शैलीमा उतारिएको संघीयता र गणतन्त्रले मुलुकलाई न गरी खानु, न मरी लानुको अवस्थामा पु¥याएको छ ।

सत्ताका हेडसरहरू भाषणमा जतिसुकै पूmर्तिला देखिएपनि काममा मालपोतको काइते खरिदारको हैसियत राख्न छोडिसके । त्यही कुर्सीमा बसेका बहुदलीय व्यवस्थाका प्रधानमन्त्रीहरूले आफ्नो अनुकूल नहुनासाथ संसद भंग गरेर चुनाव घोषणा गर्थे । नाफा–घाटा आफ्नो ठाउँमा होला तर तत्काल चुनावका प्रक्रिया अघि बढ्थे । अहिले त्यही कार्यकारी प्रधानमन्त्री न चुनाव गराउन सक्छन्, न संविधानमा प्राण हाल्न नै । कुर्सीमा बसेकाहरू राम्रो या नराम्रो कामको स्वामित्व लिन समर्थ हुँदैन भने तिनीहरूले कुर्सीको यात्रा नगर्नु नै बेश हुन्छ । केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर सपना देखे । एक्काइसौं शताब्दीको विश्व धुरीमा नेपाललाई पु¥याउने एजेण्डा ल्याए, त्यो सकारात्मक हो । तर विडम्बना उनकै दलको नेतृत्वमा रहेको सरकार र आफ्नै अर्थमन्त्रीले ल्याएको बजेटमा सरकार प्रमुखका ती ध्वनिलाई हावामा हानिएको तरबार बनाएर उडाइयो । अघिल्लो दिनसम्म संसारको कुनै शक्तिले आफ्नो सरकार हटाउने सामथ्र्य नरहेको दम्भ पालेका ओली भोलिपल्ट लल्याकलुलुक भए ।

भारत, चीन, अमेरिकाले सरकार सफल पारिदिन्छन् भन्ने चिन्तन उहिल्यै खोटो मोहोर सावित भइसकेको छ । यो फर्मूला विश्व दुई शक्ति राष्ट्रमा विभाजित हुँदा ताकाको कोल्ड वार समयको भूत मात्र हो । अहिलेसम्म पनि त्यही खोटो मोहोर बिकाउनेहरूको दबदबाबाट मुक्त हुन नसक्नु ओरालो यात्राको प्रमुख कारण हो । अहिले मात्र हैन, उहिल्यै देखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ । जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो । तीर्थाटनमा आएकी एउटी महिलासँग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस् बनाइदिए ।

नेता थुन्ने अरू नै, छुटाउने पनि अरू नै । कुर्सीमा आसिन गराउने अरू, खँदार्ने पनि अरू नै । शायद मर्दहरू नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ । कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्कंदो थियो । नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो । भारतीय नेता महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरूले मानवताको नाताले रिहाइको माग गर्दै नेपाल सरकारलाई चिठी लेखेका थिए । पद्मसमशेरका नाममा लोहियाले लेखेको पत्रमा भनिएको छ– ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईलाई भेट्न आउँदैछन् । श्री विश्वेश्वर प्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ । उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोशिश गर्न सकिन्थ्यो । मलाई विश्वास छ यी युवकको मृत्युबाट हामी सवैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरे मात्र बचाउने थोरै आशा बाँकी रहन्छ । विश्वेश्वरको रिहाइ नेपाल–भारत दुवैका लागि कल्याणकारी हुन्छ ।

आशा छ– तपाईंको तर्पmबाट मानवीय कर्म हुनेछ ।’ यता पद्मसमशेरले पनि प्रजातन्त्रको माग गर्दै सत्याग्रहमा उत्रिएकाहरूको माग संबोधन गर्नकै लागि नेहरूसँग आग्रह गरेका थिए । सोही प्रयोजनका लागि नेहरूले आफ्ना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रघुनाथसिंह, रामउग्रसिंहजस्ता कानुनविद् नेपाल पठाइदिए । आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरूलाई भेट्न गए । नेहरूले भनेका थिए, तपाईंहरू केका आधारमा विवरण दिनुहुन्छ, थाहा छैन मलाई । मैले पनि आफ्ना चार जना प्रतिनिधि पठाएँ । जसमध्ये दुईजना विश्वासपात्र र भरपर्दो चरित्रका थिए । तिनीहरूले त तपाईंहरूले भन्दा बिल्कुलै अर्कै प्रकारका खबर ल्याए । तपाईंहरूले एक्कैचोटि धेरै आशा गर्नुहुन्न । तिनीहरूले महाराजलाई एकान्तमै भेटेका थिए । महाराजको भनाइ छ– ‘सुधारको प्रगति आन्दोलनले गर्दा पछाडि घचेटिएको हो ।’ दोहोरो चरित्रको यस्तो कुटिल राजनीति अहिले झन् पेचिलो बन्दै गएको छ । पहिला कम्तीमा संवाद हुन्थ्यो, अहिले त इसारामा काम तमाम् हुन्छ ।

छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरूको ढाडस पाएका जंगबहादुरले पहिले आपूmलाई राणाजी बनाए । आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पु¥याए । भाइहरूको विवाह राजा खलकसँग मात्र गराएनन, आपूmलाई श्री ३ घोषणा गरेर राजपाटमा प्रभाव जमाए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिए पनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।

संघीयता त्यस्तो लुतो हो, जसले कम्तीमा डेढ दशक संक्रमणतर्पm देशलाई धकेल्छ । एउटा पुलिसको सिपाही सरुवा–बढुवामा त विवेक राख्न नसक्ने राजनीतिक नेतृत्वले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, वित्तीय संघसंस्थाहरूको क्षेत्रीय स्वायत्तताको व्यवस्थापन कसरी गर्लान् ? सोच्दा पनि कहाली लाग्छ । राज्यको जीवनमा गरिने सानो गल्तीले दरसन्तानको भविष्य अन्धकारमा धकेलिन्छ । देश रत्नपार्कमा बेच्न राखिएको ओखतीको विज्ञापन शैलीले चल्दैन । देशका योजनाले ५० वर्षपछि जन्मिनेको हक अधिकार सुरक्षित राख्ने हैसियत देखाउनुपर्छ । पहिला एउटालाई पूmलपाती चढाए हुनेमा अहिले चढाउँदा चढाउँदा रूखको पात त के जराले पनि नभ्याउने अवस्था छ । टोले, झोले, कुण्डले, मण्डलेको डन बनेर दलका मुखियाहरूले राणा शासनकालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी कमाण्डिङ जर्नेलहरूको झल्को दिने काम गर्दै आएका छन् ।

सिंहदरबारको कुर्सीमा आसीन शासकभन्दा सिंहदरबार भजाउने दलालहरू शक्तिशाली ठहर्दै आएका छन् । देशका विषय विज्ञहरू आफ्नो विषयमा कम अरू विषयमा बढी चतुर छन् । कालो कोट लगाउने वकिलहरू वकालतमा भन्दा जग्गा बेचबिखनको धन्दामा जमेका छन् । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरूलाई सल्लाह दिनमा धेरै बिक्छ । सम्पत्तिका नाममा जसको एउटा चिउरा मिल छैन, उनीहरू निजी क्षेत्रको नेता बनेका छन् । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरू मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भएका छन् । जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरू देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकेर स्वघोषित बुद्धिजीवी भई शहर पसेका छन् । एकातिर सामाजिक संरचनाका अवयव यसरी विशृंखलित भएका छन् भने अर्कातिर सिंहदरबार यस्तो ७६ औं जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने शेरहरू फर्किंदा रुझेको बिरालो बन्दै निस्किएका छन् ।

मानिस भन्छन्–नेपालमा सुन महँगो छ । तर हैन, सुनभन्दा कानुन, शिक्षा र स्वास्थ्य महँगो छ । माखामुन्द्रो बेचेर अदालत, स्कुल र अस्पताल धाउने मानिसको संख्या गनी साध्य छैन । नागरिकका लागि राज्यले आधारभूत रूपमा उपलब्ध गराउनुपर्ने विषय नै दलालीको भरपर्दो साधन भएका छन् । नगरपालिका आपैंmले आपैंmलाई धान्न नसकेको देशमा संघीयता नामको चरीले आतंक मच्चाएको छ । युरोपियन युनियन भएर एउटै मुद्रा– एउटै कानुन चलाउनेहरू नेपालमा संघीयता र धर्मको खेतीपाती चलाइरहेका छन् ।

उनीहरू एकाकार हुनु समयको माग हो भने पूर्वीय सभ्यताको जननी मानिने भारत वर्षको पुनर्पुष्टि गर्नु पनि हाम्रो दायित्व हो । वाल्मीकि, चाणक्य, वेदव्यास, कालिदासजस्ता कालजयी सम्पदा बोकेका हामी सभ्यताको नाममा प्लुटोतिर किन लहसिनुप¥यो र ? संसार एकाकार भएर अघि बढेका बेला घरखेत किन बाँड्नुप¥यो ? त्यसैले पानीलाई जमिन भनेर किलो ठोकाउनेहरूको बिगबिगीबाट मुलुकलाई बचाउनु अहिलेको कर्तव्य हो ।

कसलाई थाहा छैन– किलो जमिनमा ठोकिन्छ, पानीमा हैन ।

टिप्पणीहरू