मतदाता मर्दा मन दुख्दैन मान्यज्यू !

मधेसी नेताको काम मोर्चाबन्दी गरी घरी एउटालाई समर्थन गर्ने घरी अर्काेको विरोध गर्ने मात्र हो ? सत्ता र कुर्सीका लागि मोर्चाबन्दी गर्ने मधेसका मान्य’ले देशको विकास र सर्वसाधारणको प्रत्यक्ष सरोकारका कुरा संसद्मा कत्तिको उठाएका छन् ?

हरेक वर्ष जाडोयाम शुरु भएसँगै तराईमा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । पछिल्लो तीन वर्षको मात्र तथ्यांक हेर्ने हो भने तराईका सात जिल्लामा शीतलहरकै कारण ज्यान गुमाउनेको संख्या ६८ नाघेको छ ।

विपद् व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार तराईमा चल्ने चर्काे शीतलहरका कारण सबैभन्दा बढी रौतहटका सर्वसाधारणले ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो तीन वर्षमा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । महोत्तरीका १८, सिराहाका ७, धनुषाका ४, बाराका २, झापा र नवलपरासीबाट एक÷एक जना सर्वसाधारणले यही कारण ज्यान गुमाएको विरहलाग्दो तथ्यांक विपद् व्यवस्थापन केन्द्रसँग छ ।

शीतलहरको कारण महोत्तरीका १८ जना उनकै जिल्लावासीले ज्यान गुमाउँदा मधेसी जनधिकार फोरमका डा. शिवजी रायलाई सर्वसाधारणको यो पीडाले कहिल्यै छोएन । धर्मेन्द्रकुमार साह तेलीहरूको दिल दुखेन । त्यहाँबाट प्रतिनिधित्व गर्ने संघीय समाजवादी पार्टीको उर्मिलादेवी साह, स्वतन्त्र सांसद चन्द्रेश्वर झाहरूले कहिल्यै यो कुरा उठाउन आवश्यक ठानेनन् । धनुषामा मात्र शीतलहरकै कारण ४ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन । राजेन्द्र महतोकी पत्नी माधवी रानी साहले सर्लाही जिल्लाबाट प्रतिनिधित्व गर्ने हो । महतो पत्नीको ध्यान यता कहिल्यै पुगेको थाहा छैन ।

तीन वर्ष अवधिमा उनकै जिल्लावासी ३५ को प्राण शीतलहरले गुम्दा फोरम लोकतान्त्रिकबाट रौतहटबाट प्रतिनिधित्व गर्ने मोहम्मद मुस्ताफ आलमलाई छोएको होइन ।

सिरहाबाट सात जनाले ज्यान गुमाउँदा बैंकर सांसद वीरेन्द्र महतो र उटपट्याङ काम गरी सधैं विवादमा छाउने विशेन्द्र पासवानको यस्ता झिनामसिना कुराले मन छुने कुरै भएन ।

अत्यासलाग्दो मरण

विपद् व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो एक वर्षमा बाढीबाट ४ सय ९९ ले ज्यान गुमाएका छन् । पुल भाँचिएर २ को ज्यान गएको छ भने हवाई दुर्घटनामा परी ५३, डुंगा दुर्घटनामा परी ३३, लेक लागेर १४, आगलागीबाट ३२५, पहिरोको कारण ६३७ ले ज्यान गुमाएका छन् । प्राकृतिक विपद् भूकम्पका कारण ८ हजार ९ सय ६९ नेपालीले ज्यान गुमाएका छन् । तिनले अझै पनि राज्यबाट राहत पाउन सकेका छैनन् ।

टिप्पणीहरू