ओलीले घरको दैलो टेकेपछि भन्नुभयो ‘माधव नेपाललाई ठाउँ छैन’

ओलीले घरको दैलो टेकेपछि भन्नुभयो ‘माधव नेपाललाई ठाउँ छैन’

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त हुनुभएका केपी शर्मा ओलीले बालकोटस्थित निवासमा छिरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नामै किटेर उहाँलाई पार्टीमा कुनै स्थान नदिइने बताउनुभएको छ । दिउँसो युवा संघ र अनेरास्ववियुका समर्थकहरुको एस्कर्टिङ टोलीले उहाँलाई बालुवाटारबाट नारा लगाउँदै घर पुर्याएको थियो ।

त्यहि टोलीलाई धन्यवाद दिने क्रममा उहाँले माधव कुमार नेपाललगायतका कारण आफ्नो सरकार ढलेको बताउँदै उहाँले माधव नेपाललाई ‘खत माफ नगर्ने’ शैलीमा पार्टीमा कुनै स्थान नदिइने बताउनुभएको हो । ‘तर अरुले गल्ति र कमजोरी स्वीकारेर आए पार्टीमा स्थान रहेको,’ उहाँले उल्लेख गर्नुभयो ।

हिजो आफूलाई जनादेश प्राप्त र प्रधानमन्त्री शेरबहादुर देउृवालाई परमादेश प्राप्त उल्लेख गर्नुभएका ओलीले सर्वोच्च अदालत र प्रधानन्यायाधीशको चर्को आलोचना गर्नुभएको थियो । आज भने उहाँ नेता नेपालमाथि एकोहोरो खनिनुभएको हो । हिजो साँझ शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा उपस्थित भूतपूर्व प्रधानमन्त्री नेपालले ‘त्यहाँ गएर खुशीयाली मनाएको’ उहाँको आरोप थियो ।

पार्टी अध्यक्ष र दुई तिहाई नजिकको शक्तिशाली सरकार प्रमुखको दोहोरो जिम्मेवारीमा रहँदाको दम्भ आज बालकोट पुग्दा पनि उहाँमा कम नभएको बताइन्छ । पार्टीलाई एकीकृत बनाउँदै लैजाने क्रममा उहाँमा अरुको तुलनामा बढी उदार र फराकिलो सोच राख्नुपर्नेमा त्यो झन् साँघुरिँदै गएको आजको भनाईले समेत पुष्टि गरेको छ ।

उता, बालकोटबाट फर्केका युवा संघको एउटा जत्थाले नेपालको विरुद्धमा चर्को नारा लगाउँदै कोटेश्वरमा नेता नेपालको पुत्ला दहन गरेको छ ।

टिप्पणीहरू