राज्य लाचार हुँदाको रमिता

आफूले केही लछारपाटो लाउन नसक्ने बरु अरूकै भर पर्ने र मुख ताक्नेको बोलवाला छ यो देशमा । महाअभियोग प्रस्ताव थाती राखेर माननीयज्यूहरू सर्वोच्चको बाटो हेर्ने, विशेष अदालतको तारिख कुर्दै सरकार अलमलमा पर्ने त हाम्रो विशेषता नै हो । सर्वोच्चद्वारा ५० हजार धरौटी लिएर पछि सफाइ पाएका सिके राउतले राज्यको यस्तै–यस्तै अकर्मण्यताको फाइदा उठाउँदै महिना–महिना दिन बिराएर राजधानी आउने र पृथकतावादी गतिविधि अघि बढाउने छुट पाएका छन् ।

मधेसलाई नेपालबाट छुट्याउन आफ्नो अलग्गै नक्शा, झण्डा र संविधान बनाइसकेका राउतले अस्ति सोमबार काठमाडौं आएर एमाले अध्यक्ष केपी ओली र पूर्वप्रहरी प्रमुख रवीन्द्रप्रताप शाहको भक्तपुर बालकोटस्थित इञ्जिनियर (नयाँ राष्ट्रिय इञ्जिनियरिङ कन्सलट्यान्सी, ज्वागल ललितपुर) दीपक शाहकोमा डेरा जमाएका छन् । उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा झण्डै वर्ष दिनदेखि महिनाको ११ गते पारेर तारिख तोक्ने गरिएको छ । सामान्य प्रकरणमा छिटो फैसला सुनाउने प्रधानन्यायाधीश सुशीला कार्कीको उद्घोषविपरीत नेपाल आमालाई ‘रण्डी’ को संज्ञा दिँदै अलग राज्यका निम्ति खुला गतिविधि अघि बढाउनेप्रति देखाइने यस्तो उदारता अचम्मलाग्दो छ ।

के २/४ लाखको भ्रष्टाचारभन्दा राज्यविप्लव कम महत्वको मुद्दा हो ? जसले जे गरे पनि कसले के गर्न सक्छ ? भन्ने भावनामा बढोत्तरीकै कारण सिकेका अनुयायीको आँट र संख्या बढ्दै गएको पाइन्छ । उनीहरू ५ माघ ०६३ सालमा लहानमा मारिएका रमेश महतोको नाममा बलिदान दिवस मनाउँदै छन् । मंसिर १० गते रंगभेदविरुद्ध गिरफ्तारी दिवस मनाइसकेका छन् । पोहोर सार्क सम्मेलनताका युएन बिल्डिङको कुनाकानीतिरबाट निस्केर पर्चा छर्नेको संख्या १०/१२ जनाको थियो । यसपालि जनकपुरमा मात्रै ४÷५ सय संख्यामा उपस्थिति देखियो । सप्तरीमा करिब २५०, परासीमा सय, रूपन्देही, सिरहा, सुनसरी, रौतहट, पर्सालगायत देशभर १३/१४ सय मान्छे उतार्नु र २/३ सयको त गिरफ्तारी नै दिलाउन सक्नु चानचुने कुरा होइन । यसबीच, नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ को अवसर पारेर मधेसको अर्को पृथकतावादी गोइत समूहले समेत नेपाल बन्द गर्ने भनेको छ । सिंगो मुलुक संक्रमणबाट गुज्रिरहेका बेला अनेक स्वार्थ समूहले धमिलो पानीमा माछा मार्न खोज्नु अचम्मको कुरा पनि भएन ।

टिप्पणीहरू