तारे होटलतिर मान्य’को ताँती

पहिलो संविधानसभाको कार्यकालभरि केही सांसदलाई भेट्न संसदीय दलको कार्यालय होइन कुपण्डोलको समिट होटल वा बानेश्वरको एभरेष्ट होटल गए हुन्थ्यो । संविधान निर्माणमा सक्रिय केही सभासद् साँझ परेपछि कहिले धुलिखेल र नगरकोट वा गोकर्ण रिसोर्टमा भेटिन्थे । संविधानका विवादित बिषय मिलाउने नाममा हरेक दिनजसो ‘क्याम्प फायर’ गरेर सभासद्को भेला हुन्थ्यो, जहाँ संसद् सचिवालयका केही प्रभावशाली व्यक्तिसमेत सहभागी हुन्थे । तिनै भेलामार्फत संविधानसभाका गोप्य दस्ताबेज मिडियाले थाहा नपाउँदै विदेशी संस्थाकोमा पुग्थे, विदेशी संस्थाले सार्वजनिक गरेपछि मात्र मिडियाले संविधानका कतिपय प्रावधानको विषयमा थाहा पाउनुपर्ने अवस्था थियो । संविधानसभामा भएको विदेशी हस्तक्षेप अहिले संसद्मा लिगेसीका रूपमा टाँसिएको छ ।

संविधान कार्यान्वयनका लागि बन्ने निर्वाचन कानुनलगायत अन्य सरकारी विधेयक माथिका छलफलमा त्यही झल्को देखिन थालेको छ । पछिल्ला दिन निर्वाचन कानुन र अन्य सरकारी विधेयकमाथिका छलफल महँगा तारे होटलमा विदेशी प्रायोजनमा भइरहेका छन् । निर्वाचन कानुनमा समानुपातिक प्रतिनिधित्व र थ्रेसहोल्डमाथि विदेशी चासो छ । उनीहरूले समानुपातिक समावेशीको नाममा नेपालमा जनजातिलाई उचालिरहेका छन् भने संसद्मा चलखेल गर्न पाइने भएकाले थ्रेसहोल्ड नराख्न लबिङ गरेका छन् । राज्य व्यवस्था समितिले केही दिनपहिले याक एण्ड यती र हिमालय होटलमा आयोजना गरेको कार्यक्रममा स्क्याण्डिनेभियन मुलुकका निर्वाचनविज्ञले समानुपातिक प्रतिनिधित्व बढाउन सुझाव दिएका थिए । मुलुकको दूरगामी असर पर्ने त्यस्ता विधेयकमाथिको छलफल विदेशी प्रायोजनमा गराउँदा राष्ट्रिय स्वाधीनतामा आघात पर्ने भन्दै कतिपय दल र सांसदले विरोध गर्दै आएका छन् ।

निर्वाचन कानुनमा विदेशीले हस्तक्षेप गरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले कार्यक्रममै ‘भाते गोष्ठी’ लाई सहयोग गर्न नहुने बताए । संसद्को मानवअधिकार तथा सामाजिक न्याय समितिले पनि लगातार तारे होटलमा कार्यक्रम गर्दै आइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत हेर्ने अधिकार भएको सुशासन समितिमा त विदेशीको पैसामा कार्यक्रम गरिएको भन्दै रडाको नै मच्चिएको थियो । माओवादी सांसद अमनलाल मोदीले आपत्ति जनाएपछि बैठकमै हंगामा भयो । यसअघि पनि राष्ट्रिय सुरक्षा नीतिको विषयमा एक विदेशी संस्थाले राज्य व्यवस्था समितिका सदस्यलाई विभिन्न रिसोर्टमा लगेर छलफल गराएको थियो । पछि त्यही संस्थाको वेबसाइटमा नेपालको सुरक्षा नीतिबारे आफूहरूले छलफल गराएको लेखिपछि संसद्मा हंगामा भयो ।

पारदर्शिता कायम गर्न भन्दै सभामुख ओनसरी घर्तीले संसदीय समितिको बैठकमा खाना कुपन हटाइदिएपछि समितिहरुलाई तारे होटलमा जाने बाटो खुला भएको छ । तारे होटलका भोजन र भत्तामा पल्केर विकासे संस्थाका कार्यक्रममा जान थालेपछि संसद्को बैठक कैयांै पटक गणपूरक संख्या नपुगेर स्थगन भएका छन् ।

टिप्पणीहरू