गोप्य वार्तामा यतिसम्म गलफत्ती

वैशाख अन्तिम साताको निम्ति तिथि तोकेर सम्भवतः यही साता स्थानीय निकाय निर्वाचनको घोषणा हुँदै छ । झट्ट सुन्दा अहिलेकै अवस्थामा त्यो सम्भवजस्तो नदेखिए पनि यसका केही आधार भने तयार बनेको छ ।

मुलुकलाई हालको अवस्थाबाट कसरी अघि बढाउने भन्ने विकल्पको खोजीका क्रममा प्रमुख दलले चुनावलाई अघि सारेका हुन् । सत्ताधारी माओवादी र कांग्रेसले संविधान संशोधनमै जोड दिइरहेको सतहमा देखिन्छ भने प्रमुख विपक्षी एमालेचाहिँ कुनै हालतमा संशोधन प्रक्रिया अघि बढ्न नदिने मुडमा छ । एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै सतहमा मुठभेडको तयारी गरेजस्तो देखिन्छ । तर, बाहिर देखिने गरी मुलुकमा राजनीतिक गतिरोध कायम रहे पनि भित्रभित्रै वर्तमान समस्याको गाँठो फुकाउन तीन ठूला दलबीच घनीभूत संवाद शुरु भएको छ । सोमबारदेखि यस्तो भेटघाटले गति लिन थालेको हो ।

कहीँ एक्लाएक्लै त कहीँ समूहमा होटल र व्यक्तिका घर–घरमा यसरी एकअर्कालाई मनाउने क्रम शुरु भएको छ । छलफलका क्रममा संविधान संशोधन प्रस्तावप्रति विरोध जारी राख्दै एमालेले चुनावतिर जाने मनशाय प्रकट गरेको छ भने माओवादी र कांगे्रस मिलेर सम्झाउन जाँदा मधेसी मोर्चाले बांगो कुरा गरेर फर्काएको पनि पाइएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादीका नारायणकाजी श्रेष्ठ अस्ति बिहान महन्थ ठाकुरको घरबाट निराश मुद्रामा फिर्ता भएका छन् ।

‘संविधान कार्यान्वयन गर्नुप¥यो’ भन्ने पौडेलको आग्रहमा महन्थले ‘तपाईंहरू नै गर्नुस् न हाम्लाई के खाँचो’ भन्दै टर्रो जवाफ फर्काएको बताइन्छ । ‘तपाईंहरूको गुनासो संबोधन गर्न संशोधन प्रस्ताव ल्याउने अनि त्यसको स्वामित्व स्वीकार नगरेर हामीलाई अलपत्र पार्ने ? यस्तोमा ५ नम्बरका जनतासामु कुन मुख देखाउने ? एमाले सामुन्ने के भन्दै जाने ?’ माओवादी र कांग्रेसले साझा रूपमा यो कुरा राखेपछि महन्थले फेरि जवाफ फर्काए– समर्थन गरेर के, नगरेर के ? भोट हालेर के, नहाल्दा के ? हाम्रो हातमा के छ ? हामीलाई कसले नागरिकको दर्जा दिएको छ ? कमल थापाले चाहिँ सत्तापक्ष भएर पनि आफूसँग सल्लाह नगरिएकोमा आपत्ति जनाउँदै भन्ने गरेका छन्– ‘सकभर मधेसीलाई मनाऔं । यदि, मान्दैनन् भने पनि रोकिएर बस्नुहुन्न । चुनावमा जाऊँ ।’

माओवादी, कांग्रेस र राप्रपाका नेताबीच अलग–अलग थापाथलीको जापानिज किडो होटल र सानेपाको समिट होटलमा भेटवार्ता भएको हो । वार्तामा एउटै जिल्ला झापाका दुई केपी (सिटौला र ओली) पनि संलग्न थिए । उता, एमाले वरिष्ठ नेता माधव नेपाल पनि आफ्नै हिसाबले प्रचण्ड र देउवासँग संवादमा छन् । प्रचण्डसँग फोनमा दुई पटक र देउवासँग प्रत्यक्ष भेटमा एक राउण्ड कुरा गरिसकेका उनले सहमतिका कुरामा अघि बढ्ने र मिल्न नसकेका बुँदा विस्तारै मिलाउँदै जाने वाचा गरेका छन् । सहमतिको विकल्प छैन र मतदानबाट भाग्न हुन्न भन्ने कुरामा सबै नेता एकमत रहेको बताइन्छ ।

टिप्पणीहरू