उपराष्ट्रपतिमाथि यति ठूलो अत्याचार !

सोझो र इमानदार हुनुको पनि केही अर्थ रहेनछ । एकातिर आफ्नो नक्कली स्वर बनाउँदै एक कार्यकर्ताले जथाभावी चन्दा उठाई हिँड्दा बालुवाखानीजस्तो असम्बन्धित कारोबारमा जेठो छोरा जितेन्द्रको बद्नाम हुने, अर्कातिर विदेशीले समेत नाम बेची खाइजीविका चलाउने भएपछि उपराष्ट्रपति नन्दबहादुर पुन पासाङमाथि तनाव थपिएको हो ।

‘म उपराष्ट्रपति बोलेको । मेरा पूर्व पिएलए साथीहरूले दुःख पाए, गुहार माग्न आउलान्, यसो ८-१० हजार हेरिदिनुहोला है !’ भन्दै पासाङकै लवजमा नेपाल टेलिकम र राजश्वसम्बद्ध विभिन्न निकायका हाकिमसँग खर्च उठाउने माओवादी कार्यकर्ता रोशन सुवेदी (सिन्धुपाल्चोक राम्चे) यतिबेला प्रहरीको निगरानीमा छन् भने उपराष्ट्रपतिको नाम बेच्ने अर्का ठग मनोज सिंहलाई अघिल्लो साता ललितपुर प्रहरीले हिरासतमा लिएको छ । उता, यही बेला एउटा चिनियाँ कम्पनीले समेत सामाजिक सञ्जाल (विच्याट) मार्फत आफ्नो पर्यटन प्रवद्र्धनका निम्ति हाम्रा उपराष्ट्रपतिको नाम बेचेको प्रमाण भेटिएको छ ।

नोभेम्बर १७ तारिखमा जारी एक सूचनामार्फत ताइह नामक एउटा कम्पनीले उपराष्ट्रपतिको नाम दुरुपयोग गरेको हो । उसले निकालेको विज्ञापनको शुरुमै ‘नेपाल घुम्न जाऊँ’ उपराष्ट्रपति र पर्यटन मन्त्रीसँग भेट सुनिश्चित’ भन्ने वाक्यांश राखिएको छ । कम्पनीका अनुसार ७ हजार ४ सय ९९ आरएमबी (चिनियाँ युआन) अर्थात् एक लाख १६ हजार ७ सय ६० नेपाली रुपैयाँमा ९ दिनसम्म नेपाल घुम्न पाइनेछ । यही मूल्यभित्र हाम्रा उपराष्ट्रपतिसँग भेट्न पाइने गरी प्याकेजसमेत मिलाइएको छ ।

नेपाल आएको दोस्रो दिन चितवन, चौथो दिन पोखरा, छैटौं दिन नगरकोट, सातौं दिन भक्तपुर घुमाउने वाचासहित विश्वसम्पदा सूचीमा परेका भूकम्पग्रस्त हनुमानढोका दरबार स्क्वायर, स्वयम्भू, कुमारी मन्दिर घुमाउने लोभसमेत देखाइएको सो विज्ञापनमा हिउँ देख्न पाइने, अल्टिच्युड नलाग्ने ग्यारेन्टी गरिएको छ । छिमेकी मुलुकले आफ्नो ठानेर सस्तो मूल्यको पर्यटकीय गन्तव्यका रूपमा नेपालको प्रचार गर्नु साँच्चै प्रशंसनीय कुरा हो । तर, के यसो भन्दैमा आफ्नो नाफाका निम्ति अरू देशका विशिष्ट व्यक्तित्वलाई विनास्वीकृति, विनाजानकारी यसरी मुछ्न पाइन्छ ? अनि हाम्रा उपराष्ट्रपतिको हैसियत भनेको एउटा मन्दिरको प्रवेश शुल्कबराबर मात्र हो ? विदेशबाट किरा–फट्याङ्ग्रा जो आए पनि सहजै भेट्न पाइने हो ? यस्ता कुरामा नेपालका आधिकारिक निकायले कडिकडाउ अनुगमन गर्नु पर्दैन ?

स्मरणीय के छ भने गत जुनमा चीनले उपराष्ट्रपति पुनलाई दक्षिण एशियाली महोत्सवको प्रमुख अतिथि बनाएर कुनमिङ लगेको थियो । कतै पर्यटन क्षेत्रका माफियाले सरकारद्वारा गरिएको यही सम्मानको सौदा गर्न खोजेको त होइन ? यसबारे उपराष्ट्रपतिको स्वकीय सचिवालयलाई बुझ्दा यस्ता सूचना प्राप्त भएको र कार्यालयले आधिकारिकता बुझिरहेको जानकारी प्राप्त भयो ।

सचिव सुकबहादुर रोकाका अनुसार ठमेलको एक चाइनिज होटलले समेत पासाङको फोटो झुण्ड्याएर व्यापार प्रवद्र्धन गरेको थाहा भएपछि केही साताअघि स्थानीय प्रहरीको सहयोगमा त्यो फोटो हटाइएको छ । विभिन्न परियोजना र विकास निर्माणका कामसँग सम्बन्धित चिनियाँ नागरिकको सहज पहुँचमा रहेका उपराष्ट्रपतिले अहिले भने हरेक विदेशीको आधिकारिकता पुष्टि गरेर मात्र भेट्ने गरेको सुकबहादुरको दाबी छ । ‘औपचारिक भ्रमण दलचाहिँ परराष्ट्र मन्त्रालयको संयोजनमै आउने भएकाले भेटघाटमा समस्या छैन,’ उनी भन्छन् ।

टिप्पणीहरू