कसैले गल्ती गरेकै थिएन र कमरेड ?

कसैले गल्ती गरेकै थिएन र कमरेड ?

-साहस न्यौपाने

झण्डै दुई तिहाइ माननीयको समर्थनसहित शुरुका अढाई र जम्मा साढे तीन वर्ष सिंहदरबारको मुली रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकाल वामपन्थी आन्दोलनका लागि सुखद हुन सकेन । दुई ठूला कम्युनिष्ट पार्टीले पाएको संयुक्त जनमतमा टेकेर प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीबाट राजनीतिक स्थायित्व,सम्बृध्दि र सुशासनको आमअपेक्षा थियो । तर,ओलीको कार्यकाल अत्यधिक उडन्ते सपना र थोरै वास्तविकताले घेरियो ।

ओलीलाई सफल प्रधानमन्त्रीका रुपमा पूरै कार्यकाल बिताएर सिंहदरबारबाट सुखद बिदाइ हुने सुवर्ण अवसर थियो । झण्डै साढे तीन वर्षे कार्यकाल यति विवादित बन्यो कि अन्तत: अदालतको आदेशले दुखद बहिर्गमनको बाटो रोज्नुपर्ने अवस्था उत्पन्न भयो । अरुका पनि कुरा सुनेर,आफूले गरेका कामको समीक्षा गरेर सच्चिने,सच्याउने विकल्पभन्दा आफैँ अन्तिम सत्य ठान्ने कठोर विकल्प रोज्नुको परिणाम अल्पकालमै सत्तायात्रामा ब्रेकमात्र लागेको छैन वामपन्थी आन्दोलन पनि निराशाजनक अवस्थामा पुगेको छ ।

आज सिहंदरबारबाट बाहिरिंदै गर्दा उत्तेजना,आवेग र प्रतिशोध बोकेर होइन विगतका कर्मप्रति समीक्षा गरेर लोकतन्त्र,संविधान र वामपन्थी आन्दोलनप्रति उहाँको प्रतिवद्धताले भावी दिनको बाटो तय गर्छ ।

त्यसो त,ओली असफल हुनुका पछाडि अन्य फ्याक्टर पनि जिम्मेवार होलान् । अरु नेताका पनि धेरथोर भूमिका पक्कै छन् । तर,प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा जस-अपजस दुबैको भारी कमरेड ओलीले नै बोक्नुपर्ने हुन्छ । ओलीसँग विगतका कमजोरीबाट पाठ सिकेर नयाँ ढंगले अघि बढ्ने महान अवसर अझै पनि छ । आज सिहंदरबारबाट बाहिरिंदै गर्दा उत्तेजना,आवेग र प्रतिशोध बोकेर होइन विगतका कर्मप्रति समीक्षा गरेर लोकतन्त्र,संविधान र वामपन्थी आन्दोलनप्रति उहाँको प्रतिवद्धताले भावी दिनको बाटो तय गर्छ । सफलताको इतिहास कोर्ने महान अवसर गुमाइएर पनि अर्को अवसर सृजना गर्ने मौका पनि कमरेड ओलीसँगै छ ।

ओलीका कदमले संविधान र लोकतन्त्रमाथि उब्जाएका प्रश्नको मुलुक र वामपन्थी आन्दोलनले आज जवाफ खोजिरहेको छ । दुई-दुई पटक प्रतिनिधिसभा विघटन,झण्डै दुई तिहाइ जनमत भएको शक्तिशाली पार्टीको विभाजन,राष्ट्रपति संस्थामाथि उठेका यावत प्रश्नमाथि ओलीले गरेका तमाम निर्णय जोडिएका छन् । यी सबै ओली कार्यकालका तीता यथार्थ हुन् । पाँच महिनामा दुई पटकसम्म संसद विघटन गर्ने कदम कानुनी रुपले त गलत सावित भैसक्यो राजनीतिक कोणबाट पनि जस्टिफाई गर्न कठिन छ । किनभने ओलीको त्यहि कदमले नेकपामा विभाजनको रेखा कोरेको थियो भने एमालेलाई विभाजनको संघारमा पुर्याएको हो ।

शक्तिशाली प्रधानमन्त्रीका रुपमा सत्तारोहण गर्नुभएका ओलीको बहिर्गमन जुन ढंगले भयो,सायदै कसैले पनि सोचेको थिएन । एकल बहुमतको प्रधानमन्त्री अल्पमतमा पर्नु र अदालतको परमादेशले सिंहदरबार छोड्न बाध्य हुनुमा मुख्य जिम्मेवारी उहाँले नै लिनुपर्छ ।

अवस्था कस्तो आइलाग्यो भने, ओलीसँग न प्रधानमन्त्री रह्यो,न एकतावध्द शक्तिशाली पार्टी । चुनावी सरकारको नेतृत्वसमेत कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा पुगेको छ । शक्तिशाली प्रधानमन्त्रीका रुपमा सिंहदरबार छिर्नुभएका ओली साढे तीन वर्षपछि सिंहदरबारबाट बाहिरिंदा हात लाग्यो शून्यको अवस्थामा पुग्नुभएको छ ।

जहाँ अधिकार हुन्छ त्यहाँ अंकुश लगाउने ठाउँ पनि रहन्छ । त्यसरी लगाइएका अंकुशले शासकहरुलाई बाटो बिराउनबाट रोक्छ र सही दिशानिर्देश गर्छ ।

पार्टी र सरकार एकैचोटी ध्वस्त हुनुको जिम्मेवारी लिने कि नलिने ? किनभने अनेक सजिला विकल्प हुँदाहुँदै कठोर विकल्प रोज्न के कारणले उहाँ बाध्य हुनुभयो ? जो सत्तामा हुन्छ, उसको आलोचना हुनु अन्यथा होइन । आफ्नो आलोचना भएकै कारण संविधान,संसद,पार्टी सबैतिर ध्वंस मच्चाउनुको परिणाम आजको अवस्था हो । यसको जिम्मेवारी लिन अस्वीकार गर्नु भनेको अर्को ध्वंस निम्त्याउनु हो ।

तर,ओली सच्चिनेमा एमालेकै नेताहरु आशंका गर्छन् । अदालतको परमादेशले पदमुक्त भएलगत्तै बालुवाटारमा निकट नेताहरुसंगको अनौपचारिक छलफल र हिजाेकाे देशवासीका नामको सम्बोधनमा आफ्नै पार्टीका नेताहरुप्रति गरेको कटाक्षले पनि उहाँ आफूलाई रिभ्यु गर्ने ठाउँमा पुगिसकेको देखाउँदैन । राम्रो काम गर्दागर्दै पनि पार्टीकै नेताहरुले आफूलाई हटाएको आक्रोश पालेर अझै आफ्ना कमजोरी लुकाउने प्रयास सफल होला ? वामपन्थी आन्दोलनमा जोडिएका हरेकले आज ओलीमाथि यहि प्रश्न उठाएको छ ।

हरेक नेता र शासकले बुझ्नुपर्ने कुरा के हाे भने,काम गर्ने मान्छेबाट गल्ती हुन्छ,तर त्यसलाई सच्याएर जानु उसको महानता हो । सफलताको स्रोत पनि हो । प्रतिशोध र आग्रह,पूर्वाग्रहले गलतमाथि गलत परिणाम दिँदै जान्छ । जिम्मेवार पदमा रहेको व्यक्तिको आलोचना हुनु स्वभाविक हो,तर आलोचनालाई अन्यथा लिएर प्रतिसोध साँध्नु ठूलो गल्ती हो । जहाँ अधिकार हुन्छ त्यहाँ अंकुश लगाउने ठाउँ पनि रहन्छ । त्यसरी लगाइएका अंकुशले शासकहरुलाई बाटो बिराउनबाट रोक्छ र सही दिशानिर्देश गर्छ । कमरेड ओलीलाई भदौ २६ गतेको नेकपा स्थायी कमिटी बैठकले सही बाटो हिंड्न प्रेरित गरेको थियो तर उहाँले पुस ५ निम्त्याउनुभयो । त्यहाँबाट शुरु भएको उल्टो यात्रा सर्वोच्च अदालतले लगाएको अंकुश तोड्दै जेठ ७ मा पुगेपछि ओली नमिठो बहिर्गमनको बिन्दुमा पुग्नुभएको कटु सत्य हो ।

कमरेड ओलीले गरेका गल्तीको परिणाम उहाँ,उहाँको पार्टी, वामपन्थी आन्दोलन,लोकतान्त्रिक आन्दोलनले मात्र भोग्नुपरेको छैन आमजनताले पनि व्यहोर्नु परेको छ । जनताले खोजेको स्थायित्व, विकास,संमृद्धि,सुशासनजस्ता कुराहरु आज गौण बनेका छन् । संविधान,कानून,विधि,विधान जतासुकै जाओस् मेरो विकल्प मै हुँ ठान्ने प्रवृत्ति जवर्जस्त हावी हुँदा वामपन्थी सरकारले सिंहदरबारबाट मात्र हैन प्रदेशबाट पनि बिदा हुनुपर्ने अवस्था बनिरहेको छ । गण्डकी सरकार ढलिसकेको छ भने लुम्बिनी र बागमती सरकार धरापमा छन् । त्यतिमात्र हो र, गणतन्त्रको प्रतीक राष्ट्रपति संस्था नराम्रोसंग विवादित बनेको छ । राष्ट्रपतिविरुध्द हप्तैपिच्छे अदालतमा रिट पुग्ने विडम्बनापूर्ण अवस्था बनेको छ । फेरि पनि प्रश्न उही छ-गल्ती कसैले गरेकै छैन र कमरेड ! गल्ती नगरी क्षति हुन्छ ?

टिप्पणीहरू