सुजाताको घर किन्ने कोही छ ?

यदि तपाईंसँग एकमुष्ट १६ करोड रुपैयाँ छ भने सोझै मण्डिखाटार पुग्नुस् । ०४६ को परिवर्तनपछि सबभन्दा लामो समय देशको शासनसत्ता सम्हालेका नेताले अन्तिम श्वास फेरेको घर, जमिन सबै आफ्नो नाममा पार्न सक्नुहुन्छ ।

स्तनको उपचारका लागि नेपाल सरकारले ५० लाख रुपैयाँ निकासा गरेपछि अत्यधिक आलोचित बनेकी थिइन्, कांग्रेस नेतृ सुजाता कोइराला । अहिले उनका बाबु तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्राण त्यागेको मण्डिखाटारस्थित उनको घर–जग्गा बिक्रीमा छ । हिजोआज चाबहिल मालपोततिर लेखापढी गर्नेदेखि त्यस क्षेत्रमा केन्द्रित भएर जग्गाको काम गर्ने दलालहरू आकर्षक कमिशनको लोभमा सुजाताको घर–जग्गा बेचाउन जोडतोडसँग लागि परेका छन् । तर, त्यस्ता हिम्मतिला ग्राहक अझै भेटिएका छैनन्, जसले एकैचोटि सुजातालाई १६ करोड बुझाउन सकुन् । अलग अलग किन्न चाहनेका लागि पनि ढोका बन्द छ ।

सो जमिन प्रतिआना ३० लाख १८ हजार आठ सय ६७ रुपैयाँ पर्न जान्छ । मण्डिखाटारतिर चलेको भाउअनुसार प्रतिआनाको १८–१९ लाख रुपैयाँ पर्छ (तर, बिक्रीका जग्गा बिरलै छन्) । सुजाताको नक्सामा ५३ आना जमिन छ । तर कारोबारीहरुको दाबी छ, हालसाविक गराएमा आँखा चिम्लेर ६० आना पुग्छ । बेचाउनेलाई एक प्रतिशत कमिशनको व्यवस्था पनि छ । त्यो भनेको १६ करोडको १६ लाख । जमिन बेचाउन जोडतोडले लागि परेका एकजना कारोबारीका अनुसार किस्ताबन्दीमा रकम तिर्ने गरी अनेकन व्यक्ति आइलागेका छन्  । तर, सुजातालाई चाहिएको छ, एकमुष्ट दिने । उक्त घर रहेको ठाउँ सडक, यातायात, खानेपानी, ढल, अस्पताल, शिक्षण संस्थालगायतका हरेक दृष्टिले पायक पर्दछ । यसबारे सुजाताका सहयोगी हरि ढुंगानालाई सोध्दा आफूलाई जानकारी नभएको बताए ।

उता, स्तन क्यान्सरबाट थला परेकी सुजाताले अहिले स्वास्थ्यलाभ गरेको सन्देश आफ्नो फेसबुक वालमा पोष्ट गरेकी छन् । उनले डिसेम्बर १८, अर्थात् पुस ३ गते बिहान १० बजेर २ मिनेट जाँदा लेखेकी छन्, ‘पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमीपश्चात् विभिन्न टेष्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सर सिस्ट देखापरेको थियो । भर्खरैमात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ । भगवानको आशीर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै स्वास्थ्यमा सुधार आउँदैछ । चाँडै नै सार्वजनिक जीवनमा फर्किनेछु ।’

टिप्पणीहरू