पूर्वराजाले बुहारीलाई पनि नपत्याउँदा

‘छोरा बिग्रेपछि बुहारीको भर हुन्न’ भन्ने आममानसिकता नै रहेछ पूर्वराजा ज्ञानेन्द्र शाहमा पनि । लागुऔषधको कुलतले पारिवारिक जिम्मेवारीबाट पछि हटेका छोरा पारस साथमा नरहे पनि बुहारी हिमानी र तिनका लालाबाला निर्मल निवासमै छन् । तर, ती बुहारीप्रति पनि ज्ञानेन्द्रको उति धेरै भर नभएको बुझाउँछ, एउटा आर्थिक कारोबारले ।

आफ्नो सम्पत्तिबाट नाति हृदयेन्द्र, नातिनीहरु कीर्तिका र पूर्णिकाको नाममा विभिन्न ठाउँमा लगानी गरेका उनले कुनै पनि ती लालाबालाको संरक्षक तिनका बाबु–आमालाई बनाएका छैनन् । नेपालकै कानुनअनुसार पनि नाबालकमाथि पहिलो हक आमा र दोस्रो बाबुको लाग्छ । यसविपरित ज्ञानेन्द्रले पत्नी तथा उनीहरुकी हजुरआमा कोमललाई संरक्षक बनाएर गरेका विभिन्न बित्तीय लगानीमध्ये सिईडीबी हाइड्रो फण्ड लिमिटेडको कागजात जनआस्थालाई प्राप्त भएको छ ।

त्रिपुरेश्वरका अनिलकुमार रुङ्गटा, वीरगञ्ज– ७ का विजयसिंह बैद्य, विराटनगर– ५ का रमेशप्रसाद नेपाल, वीरगञ्ज– ३ ठेगाना भएको न्यु एरा इन्भेष्टमेन्ट प्रालिका तर्फबाट अनुज क्याल र मञ्जुश्रीमार्ग, ६९, बत्तीसपुतली, काठमाडौं ठेगानाका अजितनारायणसिंह थापाले कम्पनी दर्ता ऐन २०६३ को दफा १०७ सँग सम्बन्धित रहेर दर्ता गरेको सिईडीबी हाइड्रो फण्डमा पूर्वराजा ज्ञानेन्द्रको ‘राम्रै’ लगानी छ, नाति–नातिनाका नाममा । ज्ञानेन्द्रले क्षेत्रपाटीका भुवनलाल सिंहको छोरा विप्लवमान सिंहसँग उक्त फण्डको ६३० कित्ता अग्राधिकार शेयर ६३ हजारमा ९ वर्षीय हृदयेन्द्र, १० वर्षीया पूर्णिका र ८ वर्षीया कीर्तिकाको नाममा खरिद गरेका हुन् ।

उक्त कम्पनीको अग्राधिकार शेयरधनीमा त्रिविका उपकुलपति तीर्थराज खनियाले छोरा किशोरको नाममा, स्वतन्त्र तिब्बती गतिविधि चल्ने भनी विवादास्पद छाउनीस्थित भेन्छेन गुम्बाका सञ्चालक धावाछिरिङ लामासहित सानेपा, सत्मार्ग २० का गोपालप्रसाद पोखरेल, प्याफलका अभिजित श्रेष्ठ, कालधाराकी समा राज्यलक्ष्मी सिंह, ओमबहालका पियुष मित्तल, धुम्बाराहीका दिनेशचन्द्र रेग्मी, नयाँबानेश्वरका डा.डिबी श्रेष्ठ, मुन्नु श्रेष्ठ, बनस्थलीका मृगेन्द्र भुर्तेल पनि छन्, झापा–चारपानेस्थित पूर्वाञ्चल इन्भेष्टमेन्टजस्तै क्रम संख्या १६८ मा पूर्णिका, १६९ मा हृदयेन्द्र र १७० मा कीर्तिकाको नाम अग्राधिकार शेयरधनीमा सूचीकृत छ । र, ती प्रत्येक नाबालकको नाम मुन्तिर हातैले लेखिएको छ, ‘संरक्षक– कोमल राज्यलक्ष्मी शाह ।’

०७० जेठ २८ गते कम्पनी रजिष्ट्रार कार्यालयमा गरिएको ‘टिप्पणी र आदेश’ अनुसार, विप्लवमान सिंहको सात हजार चार सय ८० थान अग्राधिकार शेयर पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रालिको नाममा नामसारी भएको छ । सोहीअनुसार पूर्णिका, हृयेन्द्र र कीर्तिकाको नाममा प्रतिव्यक्ति ९ लाख ३७ हजार बराबर र पार्थबहादुर सिंहको नाममा चार लाख ९६ हजार अग्राधिकार शेयर बाँडफाँड भई आएको लेखिएको छ । त्यसको कूल चुक्ता पुँजी २३ करोड १३ लाख १५ हजार कायम गरेको र क्लिन इनर्जी डेभलपमेन्ट बैंकको एक करोडको पुरानो शेयर लागत पनि कायम रहेको छ । कम्पनीको आर्थिक वर्ष ०६८÷६९ को लेखा परीक्षणमा सोहीअनुसार २४ करोड १३ लाख १५ हजार चुक्ता पुँजी देखाइएको टिप्पणीलाई उपरजिष्ट्रार दीपक घिमिरेले पेश र सहायक रजिष्ट्रार विनोदकुमार खड्काले सदर गरेका छन् ।

शेयरको आधिकारिक दर्ताका लागि पारसका तीनै सन्तानको नागरिकता नहुँदा संरक्षकका हैसियतले हजुरआमा कोमलले आफ्नो नागरिकता पेश गरेको हुनुपर्छ । उनले ०४५ चैत २९ मा ‘श्री ५ अधिराजकुमारी कोमल राज्यलक्ष्मीदेवी शाह’ नाम उल्लेखित दर्ता नं. ७१६÷१४७४३ नम्बरको नागरिकता पेश गरेकी हुन् । सामान्यतया नाबालकका बाबु–आमा जीवितै रहेको अवस्थामा यसरी हजुरबा र हजुरआमाका नाममा कुनै अभिलेख कायम हुने गर्दैन । तर आमाको नाम मात्रै राखेर बाबुको छुटाउँदा अन्यथा मानिने आशंकाको कारण यस्तो चलाखी गरिएको कसैकसैको बुझाइ छ ।

– विश्वमणि सुवेदी

टिप्पणीहरू