राष्ट्रपति कार्यालयमा देउवाको शपथ, ओली जानुभएन

राष्ट्रपति कार्यालयमा देउवाको शपथ, ओली जानुभएन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज दिउँसो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवालाई साँझ ६ बजे शपथ गराउने कार्यक्रम तय गरिएको थियो । तर राष्ट्रपति कार्यालयको सूचना विवादित भएपछि शपथ दुई घण्टा ढिलो शुरु भएको हो ।

यसअघि राष्ट्रपति कार्यालयको सूचनामा धारा ७६ को कुन उपधाराअन्तर्गत नियुक्ति गरिएको हो प्रष्ट नभएको भन्दै देउवाले शपथ लिन अस्वीकार गर्नुभएको थियो ।

सर्वोच्च अदालतले सोमबार संविधानको धारा ७६ काे उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू वा गराउनु भन्ने परमादेश दिएको भए पनि राष्ट्रपति कार्यालयले संविधानको कुनै धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएको छैन । सामन्यतयाः पूर्वप्रधानमन्त्रीहरु शपथ ग्रहणमा उपस्थित हुने प्रचलन भएपनि ओली शीतलनिवास नगएको बुझिएको छ । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्रीको उपस्थितिलाई अनिवार्यजस्तै मानिन्छ । तर,आजसम्म सरकारी निवासमै रहनुभएका ओलीले शपथ ग्रहण समारोह बहिष्कार गर्नुलाई जानकारहरुले गैरलोकतान्त्रिक चरित्र भनेका छन् ।

टिप्पणीहरू