राजधानीबाट हुरुरु रोल्पा

प्रचण्ड–बाबुरामसँग ०६९ मा छुटेपछि तीन वर्ष मोहन वैद्यसँग बिताएका नेत्रविक्रम चन्दले माओवादीकै नाममा आठौं महाधिवेशन उद्घाटन आगामी फागुन १ गते काठमाडौंको खुलामञ्चमा गर्ने भएका छन् । बन्दसत्रको निम्ति भने जनयुद्धको केन्द्र रोल्पा, थबाङ तोकिएको छ । बन्दसत्रका लागि शहिद स्मृति भवन निर्माण शुरु भएको छ, जसको लागत झण्डै एक करोड पर्ने बताइन्छ । सोही प्रयोजनका लागि भन्दै देशभर भटाभट चन्दा उठाइँदै छ । करिब २ हजार मान्छे बस्न सकिने सो भवन पाउन लागेको थवाङमा पहिलोचोटि ०१५ सालदेखि कम्युनिष्ट पार्टीको प्रवेश भएको हो ।
०३० सालदेखि मोहनविक्रमले त्यहाँको राजनीति गरे पनि ०४४ सालमा चौथो महाधिवेशन विभाजन हुँदा पातलो मसाललाई छाडेर थवाङले मोहन वैद्य नेतृत्वको मोटो मशाल रोजेको थियो । त्यही पार्टीको नेतृत्वमा ०५२ सालमा जनयुद्ध भयो । शान्तिकालमा आएपछि प्रचण्ड–बाबुरामले जनयुद्धको बाटो छाडेको भन्दै थबाङले मोहन वैद्य नेतृत्वको पार्टी छान्यो । वैद्यले पनि क्रान्ति गर्न नसक्ने भन्दै अहिले यो ठाउँ चन्द माओवादीको पकडमा छ । नेत्रविक्रम चन्द रोल्पामै जन्मेका हुन् ।

टिप्पणीहरू