कसरी तोकूँ म आफ्नो शरीरको मूल्य ?

  • खिमा रिजाल

जनयुद्ध दीर्घकालीन भयो–भएन समयले बताउला तर त्यसमा सहभागी भएकाहरूलाई परेको असरचाहिँ पक्कै नपुरिने घाउ बन्यो । सशस्त्र द्वन्द्वमा आफ्नो १० वर्ष लगानी भएकाले सायद यो असरबाट म पनि अछुतो रहिनँ । त्यसैले सदाझंै नियमित डाक्टरकोमा चेकअप गरेर फर्कंदै थियांै । रत्नपार्कमा कोटेश्वरको गाडी कुरेर यस्तै ५ बजेतिर बसिरहेका थियांै । हेर्दा बौद्धिकजस्तो, सभ्य पनि लाग्ने एउटा अधबंैसे पुरुष हाम्रोअगाडि गाडी रोक्न आए र कति भन्ने प्रश्न तेस्र्याए । शुरुमा त केही बुझिनँ, अपरिचित व्यक्ति भएकाले खास चासो राख्नुपर्ने पनि थिएन । दोस्रोपटक मेरो छेउको साथीलाई सोही प्रश्न तेस्र्याए, यतिबेलासम्ममा हामीले कुरा बुझ्यौं । दुवैले एकार्काको अनुहार हे¥यौं । शायद सेकेण्डभरमा हाम्रो शरीरबाट एक माना पसिना झ¥यो होला । नीलोकालो भयांै र भन्यांै– शायद हजुर गलत ठाउँमा पर्नुभयो † अहिलेसम्म हामीले आफ्नो शरीरको मूल्य तोकेका छैनांै । हाम्रो जवाफले लाज मान्नु त कता–कता किन संकेत गरेको त भनेर भुत्भुताउँदै बाटो लागे ।

मैले साथीलाई कम्तीमा दुई झापड दिऊँ भनेको तर पेशागत आचरणले दिँदैन भनेर पछि हट्यौं । ती भद्र महामहिम अल्लि अगाडि गएर रोकिए, जहाँ सडकपेटीमा जीवन गुजार्ने १२÷१३ वर्षकी, खुट्टामा चप्पल पनि नलगाएकी, लामो मैलो कुर्ता सुरुवाल भएकी, पातली ख्याउटे नानीलाई फकाएर अगाडि बढे । हामी दुई कानुनका विद्यार्थी, निरीह प्राणीजस्तो टुलुटुलु हेरिरह्यौं । गाउँमा जन्मे÷हुर्केका, शरीरको मूल्य वा देह व्यापारबारे सुनेका तर दिनदहाडै यसरी खुलेआम मानिसले शरीरको मूल्य सोध्ने कहिल्यै कल्पना पनि नगरेका चेलीहरू यस्तो फन्दामा प¥यांै ।

सशस्त्र द्वन्द्वमा मारिएका वा बेपत्ता पारिएका व्यक्तिलाई राज्यले क्षतिपूर्ति भनी झारा टार्ने काम गर्दा मैले सधैं जीवनको सोधभर्ना रकमले हुनै सक्दैन, बाँच्नका निम्ति राहत त हुन सक्ला तर रकम र मान्छे एउटै होइन । यदि, त्यसो हो भने तिमीले दिएको रकम फिर्ता दिन्छांै, हामीलाई आफ्ना मान्छे फिर्ता देऊ भनेर असहमति जनाएँ तर आज जिउँदै मेरो शरीरको मूल्य सोध्दै छन् अधबैंसे पुरुषहरु । मरेको मान्छेको मूल्य हुँदैन भनेर सधंै बहस गर्ने म आज जिउँदै आफ्नो मूल्य सोधिँदा नाजवाफ छु । उफ् मेरो काठमाण्डु ! मेरो आशाको महल ! मलाई माया गरेर हुर्काउने आफ्नो बुबा पुरुष, दादा पुरुष, कहिल्यै चर्को नबोल्ने श्रीमान् पुरुष अनि मेरो शरीरको मूल्य सोध्ने पनि पुरुष नै । हजारौं मृत्यु छलेर बाँचेकी मैले आफ्नो जीवनको मूल्य कसरी तोकूँ !

सोच्यौं, एकपटक त्यो बालिकालाई खोसेर पुलिस गुहारौं तर पुलिसले उल्टो त्यही नानीलाई खिसिट्युरी गर्लान् । उनैले भन्लिन्, ‘रहरले गएँ त अरूलाई के चासो ?’ तर त्यति सानी नानीलाई पनि छाडेनन् अधबैंसेले । जसलाई आमाबाबुको न्यानो काख चाहिएको थियो, बेलामा खाने तातो–चिसो चाहिएको थियो अनि २ अक्षर चिन्ने रहर थियो तर उनले त्यो त पाइनन् नै जवानीमा प्रवेश नै नगरी आफ्नो कौमार्य गुमाउँदै थिइन् । फेरि हाम्रो समाज र सभ्य देखिने प्रतिष्ठित व्यक्तिले भन्नेछन्, त्यो केटी नै खराब छे । जब–जब महिला बलात्कृत हुन्छन्, हाम्रा बुद्धिजीवी छोटो, उत्ताउलो र भड्किलो कपडा लगाएर पुरुषलाई आकर्षित गर्नेमाथि घटना नघटे कस्तामाथि घटोस् भन्छन् । घरभित्र बाहेक विरलै गर्मीमा पनि आधा बाहुला कपडा लगाउने म र मेरी साथी । कहीँ–कतै भड्किलो डे«स पनि थिएन, किन ती अधबैंसेले शरीरको मूल्य सोध्न आए ? किन त्यति सजिलै ती अवोध बालिका जो पेटीमा जीवन गुजार्छिन्, लाई टपक्क टिपी गाडीमा हालेर टप्किए !

बिहे उमेर कम्तीमा २० वर्ष भनेर तोकिए पनि सडकको बास भएकाहरूको कसले संरक्षण र सुरक्षा गर्ने ? यदि, सिष्टमले काम गरेको हुँदो हो त रत्नपार्कजस्तो सार्वजनिक स्थानबाट पुलिसकै आँखाअगाडि ती नानी त्यो स्वाँठबाट कसरी लुटिन्थिन् र हामीजस्तो बाटोमा हिँड्नेहरूको शरीरको मूल्य सोधिन्थ्यो ?

टिप्पणीहरू