उच्चस्तरीय संयन्त्र बनाउन माओवादीको प्रस्ताव

उच्चस्तरीय संयन्त्र बनाउन माओवादीको प्रस्ताव

नेकपा (माओवादी केन्द्र)ले सरकार संचालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । गठवन्धनमा सहभागी दलहरुका शीर्ष नेता सम्मिलित संयन्त्र गठनको आवश्यकतामाथि जोड दिँदै माओवादीले त्यस्तो प्रस्ताव गरेको हो ।

आज बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा संयन्त्र निर्माणबारे छलफल भएको नेता लिलामणि पोखरेलले जानकारी दिनुभयो । गठवन्धन सरकारलाई प्रभावकारी बनाउन शीर्ष नेता सम्मिलित संयन्त्र गठनका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने निर्णय भएको पोखरेलले बताउनुभयो । बैठकमा सरकारमा पार्टीले खेल्ने भूमिकाबारे पनि छलफल भएको उहाँको भनाइ छ ।

सरकारले विश्वासको मत प्रप्त्र नगर्दासम्म संयन्त्र बनाएर जान उचित हुने बैठकको निष्कर्ष पोखरेलले सुनाउनुभयो । यसबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको पनि उहाँले जानकारी दिनुभयो ।

वैठकले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारि गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेको छ । साथै प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिने निर्णय गरेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिनुभयो ।

मन्त्री चयनका लागि बैठक बोलाइएको भनिएपनि माओवादीले सरकारमा जानेको नाम टुंगो लगाएको छैन । ‘हामी सरकारमा सहभागी त हुन्छौँ । तर को-को जाने भन्ने टुंगो लागेको छैन । आजको वैठकमा नीतिगत कुराहरु मात्र छलफल भयो’, भुसालले भन्नुभयो ।

माओवादी केन्द्रबाट पम्फा भुसाल, जनार्दन शर्मा, देव गुरुङ्ग, देवेन्द्र पौडेल लगायत मन्त्रीको चर्चामा छन् ।

टिप्पणीहरू