पैसो पाएपछि के जात, के धर्म

नेपाली कांग्रेसको युरोपियन संरचना बनाउन जुटेका कार्यकर्ता भेलाको उद्देश्य र आयोजना गलत भएको भन्दै मारपिटमा उत्रिएका छन् । १० वर्षअघि गठित समितिको अहिलेसम्म अधिवेशन गर्न नसकेपछि थप छलफल गर्न जर्मनीको फ््रयांकफर्टमा भेला आयोजना गरिएको थियो । खर्चपर्च तथा प्रमुख अतिथिको आतेजाते टिकटको व्यवस्था एमालेसम्बद्ध एनआरएन उपाध्यक्ष कुमार पन्तले गरेका थिए ।

दिल गुरुङ अध्यक्ष र गंगाधर गौतम महामन्त्री रहेको समितिमा अरूको भूमिका खासै देखिँदैन । समिति गठन भएको २ वर्षपछि युरोपका वरिष्ठ कांग्रेसलाई छलेर सीमित व्यक्तिबीच लिस्बोनको एउटा रेस्टुरेण्टमा गर्न खोजिएको अधिवेशनको व्यापक विरोध हुँदा निष्कर्षविना टुंगिएको थियो ।

यस पटकको भेला पनि संगठन विस्तार र सदस्यको चाहनाभन्दा अर्को वर्ष हुने गैरआवासीय नेपाली संघको अधिवेशनमा कुनै व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको चर्चा चलेको छ । समापन संबोधनमा प्रमुख अतिथि रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले एनआरएनएको आगामी अधिवेशनमा कुमार पन्तलाई सहयोग गर्न निर्देशन दिएपछि कुरा प्रस्ट भएको थियो ।

उपस्थित एक जना कांग्रेस कार्यकर्ताका अनुसार समितिका महामन्त्री गंगाधर गौतमले कुमार पन्तलाई तपाईं आर्थिक व्यवस्था मिलाउनुस्, अरू कुरा म मिलाउँछु भनी भेला बोलाउने जिम्मा लिएका थिए । यो सबै व्यवस्था मिलाउन लण्डन बस्ने चिरन शर्माले गंगाधर गौतमलाई सहयोग गरेको बताइन्छ ।

स्वाभिमानी कांग्रेसलाई फसाएर एमालेलाई फाइदा पु¥याउन भेला बोलाइएको र आर्थिक लाभ पनि लिएको आरोप लागेपछि जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्ष चिन्तामणि सापकोटालगायतले प्रश्न उठाएका थिए । भेलाको औचित्यमाथि नै प्रश्न उठेपछि महामन्त्री गौतमले देबु शर्मालाई लगाएर चिन्तामणिलाई पिट्न लगाएको र जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुभाष जोशीलगायतले झगडा मिलाएर दुबै पक्षको हात मिलाएको बताइन्छ । तर, देबु पौडेल र गंगाधर गौतमले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग अर्को पक्षले गरेपछि विवादबीच भेला सकिएको थियो ।

– रमेश पन्थ

टिप्पणीहरू