पालाको पैचो

‘गुन’ तिर्ने अचम्म अचम्मका तरिका अचेल साहित्यवृत्तमा देखिन थालेका छन् । हालै धरानमा सम्पन्न कार्यक्रममा ‘पालाको पैंचो’ यारहरूलाई मालामाल बनाइदिएपछि हेमन यात्री विवादमा तानिएका छन् । त्यहाँको विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा हेमनले आफूनिकट ‘यार’ को हातमा सेटिङ मिलाएर पुरस्कार थमाइदिएका हुन् ।

विमल सिंगापुरे लाहुरे पूर्णबहादुर गुरुङका पुत्र हुन् । रमेश केसी, टंक घिमिरे, नवीन सुब्बाजस्ता प्रगतिशील कविको संगतमा परी क्रान्तिकारी कविता लेख्ने विमल ०४८ सालमा धादिङ, जुकेपानीको सवारी दुर्घटनामा परी बितेका थिए । उनैको जन्मदिनको अवसर पारेर सो पुस्तकालयले हरेक वर्ष झैं २४ मंसिरमा प्रतियोगिता आयोजना गरेको थियो । हेमन पुस्तकालय कार्यसमितिका मान्छे होइनन्, तैपनि हर्ताकर्ता देखिए । कार्यक्रम डिजाइन गर्नेदेखि निर्णायक राख्नेसम्म । वम देवान, जसराज किराती, मनु मञ्जिल, महेश पौडेललाई निर्णायक बनाए ।

र, प्रथम पुरस्कार रोल्पाका विष्णु संन्यासको पोल्टामा पारिदिए । विष्णुले रोल्पा र दाङमा हेमनको एकल कविता वाचन प्रतियोगिता आयोजना गरेका थिए, केही वर्षअघि । सोको गुन तिर्नु थियो । दोस्रो, महेश पौडेलको जोडमा सुनिता खनाललाई गयो र तेस्रो भए नवीन प्यासी । अरू समय नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सव निष्पक्ष भएन भनी गाली गर्दै हिँड्ने महेशले नै महोत्सवका उत्कृष्ट कवितालाई डम्पिङमा हालेर आफ्ना गुटकाहरूलाई जिताएपछि आलोचनामा परेका छन् । यता, हेमनको गुटलाई अतिथि र निर्णायक बनाएको चाल पाएपछि सो कार्यक्रम बम देवानले बहिष्कार गरेका थिए ।

टिप्पणीहरू