तिर्ने र तिराउनेमै तारन्तारको तयारी

सिंगो जीवन र जवानी कांग्रेसलाई अर्पण गरेका सिनेकर्मी एकातिर र सबैतिरको रहलपहल चाखेर अन्त्यमा कांग्रेसी बन्न आइपुगेका चैतेबीच घम्साघम्सी छ, निर्माता संघमा । यो भिडन्तमा साँस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, महाधिवेशन प्रतिनिधि रमेशजंग रायमाझी, महासमिति सदस्य मधुकुमार श्रेष्ठ, क्षेत्रीय सभापति रोज राना एकातिर र चैते कांग्रेस राजकुमार राई, रामकेशर बोगटीहरू अर्काेतिर उभिएका छन् ।

रमाइलो पक्ष के छ भने, संस्थामा दुई कार्यकालसम्म अध्यक्ष रही विकास बोर्डको अध्यक्षसमेत भएका राईले ८ लाख रकमसहित भवन निर्माणको नाममा जुटेको पच्चिसांै लाख हिनामिना गरेका थिए । अनियमितता गर्ने राजकुमार राई र सो पैसा ओकल्नेमा आकाश अधिकारी परेका छन् । उनले शुक्रबार मात्र सोमध्ये ६ लाख रकम बुझाएका हुन् ।

रकम हिनामिना गरी संस्थालाई टाट पल्टाएको आरोप लगाउँदै नवल खड्काहरूको समूहले काठमाडौं जिल्ला प्रशासनमा उजुरी दिएको थियो । सोही आधारमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको सक्रियतामा आकाश अधिकारीले ६ लाख रकम दाखिला गरेका हुन् । उनले राजकुमारलाई बचाउनुको कारण रहेछ, निर्माता संघको भावी निर्विरोध अध्यक्ष बनाइदिने वचन । सुवेदीका अनुसार ‘साधारणसभा अबको १५ दिनभित्र गर्न र त्यसको हप्ता दिनभित्र राजकुमार राईबाट भएको हिनामिनाको सम्पूर्ण रकम दाखिला गर्न निर्देशन दिइएको छ ।’

यता, राजुकमारका कारण कांग्रेसनिकट चलचित्रकर्मीबीच भाँडभैलो मच्चिएको, विकृति ल्याएको आरोप लगाउँदै राई खेमालाई अध्यक्ष बन्ने बाटो रोक्न अर्काे प्यानल सक्रिय छ । उक्त प्यानलबाट रोज रानालाई अध्यक्षमा अगाडि सारिएको छ भने राजकुमार राईको प्यानललाई बोक्नमा प्रदीपकुमार उदय, माओवादीनिकट चेतन सापकोटा, नयाँ शक्तिकी करिष्मा मानन्धरहरू सक्रिय छन् । रोजलाई अध्यक्षमा अगाडि सार्नेमा तीर्थ थापा, रमेशजंग रायमाझी, मधुकुमार श्रेष्ठहरू छन् । यसअघि नै राजकुमारको ज्यादतीविरुद्ध सिडिओ कार्यालय गुहारेका नवल खड्काले राजकुमारले हिनामिना गरेको ८ लाखमध्ये ६ लाख तिरेर २ लाख रुपैयाँ छुट दिएपछि रुष्ट भएको खड्का समूह अदालत जाने तयारीमा छ ।

टिप्पणीहरू