युथ फोर्स ब्युँतियो, बालकोटमा २ हजार गाडी र ३ हजार मोटरसाइकलले ओलीको स्वागत गर्ने महेश बस्नेतको दाबी

युथ फोर्स ब्युँतियो, बालकोटमा २ हजार गाडी र ३ हजार मोटरसाइकलले ओलीको स्वागत गर्ने महेश बस्नेतको दाबी

शान्ति प्रक्रियामा आएपछि माओवादीको वाइसियलसङ्ग भिड्न महेश बस्नेतको नेतृत्वमा जन्माइएको नेकपा एमालेको भातृ संगठन युथ फोर्स ब्युँताइएको छ । नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्स ब्युँताएको बताइएको छ । आज काठमाण्डौमा बसेको युवा संघको बैठकले युथ फोर्स गठन गरेको हो ।

एमाले नेता तथा युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले युथ फोर्सलाई यसअघि नै खारेज गरिएको भए पनि पुनःगठन गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार, ‘युथ फोर्स किसानले घरमा सिरानमुनि राखेको खुकुरी जस्तै हो । अप्ठ्यारो पर्यो भने वा संकट पर्यो भने यसलाई फेरि निकालिनेछ । युथ फोर्स अहिले त्यसैगरी जन्मिएको छ ।’

“युथ फोर्स किसानले घरमा सिरानमुनि राखेको खुकुरी जस्तै हो । अप्ठ्यारो पर्यो भने वा संकट पर्यो भने यसलाई फेरि निकालिनेछ ।”

उहाँले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकताअनुसारको प्रतिकारका लागि योजना बनाउनसमेत निर्देशन दिनुभएको छ । साइबर सेनासँग सहकार्य गर्दै एमालेविरुध्द भ्रम छर्नेहरुलाई उचित शिक्षा दिन उपयुक्त भूमिका निर्वाह गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।

बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजार वटा मोटरसाइकललले स्वागत गर्ने समेत बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसक्ने र पुनः नेकपा एमालेकै सरकार बन्ने दाबीसमेत गर्नुभएको छ ।

५ सय १ सदस्यीय युथ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखमा पुष्प श्रेष्ठलाई राखिएको छ ।

टिप्पणीहरू