जनमोर्चाले गठवन्धन नछोड्ने, सरकारबारे केही दिनमा बोल्ने
विपक्षी गठवन्धनको एउटा शक्ति राष्ट्रिय जनमोर्चा तत्काल कांग्रेस नेतृत्वको गठवन्धन सरकारमा सहभागी नहुने भएको छ । उपाध्यक्ष दुर्गा पौडेलले तत्काल सरकारमा जाने सम्भावना कम रहेको बताउनुभयो ।
पौडेलले सरकारमा सहभागिताबारे पार्टीले एक-दुई दिनमा निर्णय गर्ने पनि जानकारी दिनुभयो । सरकारमा नगए पनि जनमोर्चाले सरकारको कामको आधारमा समर्थन र आलोचना गर्ने उहाँको भनाइ छ ।
सरकारमा सहभागी नभए पनि जनमोर्चाले गठवन्धनको निरन्तरतामाथि भने जोड दिएको छ । ‘प्रतिगमनको आन्दोलनको एउटा पार्ट सकियो । यसको आवश्यकता अझै छ भन्ने हामी सबैको साझा बुझाइ हो । त्यसैले जनमोर्चा गठवन्धनलाई निरन्तरता दिनुपर्छ भन्नेमा छ’, पौडेलले भन्नुभयो ।
हिजोको गठवन्धनको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आफूलाई अनुरोध गरेको पनि उहाँले बताउनुभयो। पौडेलले भन्नुभयो, ‘शेरबहादुरज्यूले क्याबिनेटमा आउनुपर्यो भनेर हिजै रिक्वेष्ट गर्नुभएको थियो । मैले पार्टीले निर्णय गर्छ भनेर जवाफ दिएँ ।’
एमाले वरिष्ठ नेता माधव नेपाल पनि गठवन्धनको निरन्तरताको पक्षमा रहेको उपाध्यक्ष पौडेलले बताउनुभयो । हिजोको बैठकमा नेता नेपालले गठवन्धनको आवश्यकता बाँकी नै रहेकाले निरन्तरता दिन आग्रह गरेको उहाँको भनाइ छ । ‘पार्टीमा आन्तरिक जटिलता देखा पर्यो । केही समय हामी रिजर्भ बस्छौं भन्ने कुरा थियो उहाँको । गठवन्धनबाट बाहिरिन्छौँ भन्नु भएन,बरु गठवन्धनको आवश्यकता अझै छ भन्ने थियो उहाँको’, पौडेलले भन्नुभयो।
टिप्पणीहरू