आउनोस्, यसको छिनोफानो गरौं « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

आउनोस्, यसको छिनोफानो गरौं

प्रकाशित मिति :  ८ पुष २०७३, शुक्रबार ०९:१६


  • नारायण नेपाल

जन्मँदै रोगी संविधान, ०७२ ले अराजकता, सामाजिक विखण्डन र देशभर दंगा मच्चाएको छ । प्रचण्डको काँधमा बन्दुक राखेर एकपछि अर्को राष्ट्रघात र जनघातको शृंखला जारी छ । जनयुद्ध र जनआन्दोलनपछि तितर–वितर भएका पूर्वपञ्चलाई बल्लबल्ल एकताको मालामा गाँसिएको छ । कसले किन हिजो फुटायो र आज केका लागि जुटाउँदै छ ?

चुनावताका समानुपातिक मत हालेको सेनाले संविधानमाथि सुझाव दिँदा लिखित असहमति जाहेर गरेको थियो । केही समयअघि सूक्ष्म राजनीतिक विश्लेषण गरिरहेका छौं भन्दै विज्ञप्ति निकालेको छ । गत साता भद्रकालीको मुख्यालयभित्र नागरिक समूहको नाममा एक कार्यक्रम भएको थियो । प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई साक्षी राखेर केही युवाले संसद्वादी पार्टी र उसका नेताको धज्जी उडाए । आक्रोश पोखे ।
खुमबहादुर खड्का सनातन हिन्दूराष्ट्र अभियानको नाममा पश्चिम नेपालतिर भाषण गर्दै छन् । कांग्रेसबाट ठूलो टिमसहित अलग्गिएर राजतन्त्र र हिन्दूराष्ट्रको अभियान चर्काउने भन्दैछन् । पूर्वपञ्चको एकता, सेनाको राजनीतिक चासो र कांग्रेसीको सनातन हिन्दूराष्ट्र अभियान बाघ कराउनु र बाख्रा हराउनुको संयोगजस्तै छ ।

अगुवाहरू अग्रगमनको यात्रा सुनिश्चित गर्नेभन्दा पश्चगमन र प्रतिगमनलाई कसरी संस्थागत गर्ने भन्नेमा बहस गर्दै छन् । जनयुद्धका नायक प्रचण्डको चिन्ता हिजो आफूले बहिष्कार गरेर बन्दुक उठाएको संसदीय व्यवस्थालाई नेपालमा कसरी पुनःस्थापित गर्ने भन्नेमा ज्यादा देखिन्छ । ओरालो लागेको मृगलाई गाईको बाच्छोले पनि खेद्छ भनेझैं प्रतिगमनको ओरालो यात्रामा लागेका उनलाई सबैले खेद्दै छन् । लोकमानले सातो बोलाएकोलाई कुलमानले उतार्ने हुन् कि आफैं डुब्ने हुन् ।

नेपाली कांग्रेसभित्र एकथरी भन्छन्, हिन्दूराष्ट्र भएपछि राजा स्वतः आइहाल्छन् र अर्काथरी भन्छन्, राजा आएपछि स्वतः हिन्दू अधिराज्य हुन्छ । क्या उदेकलाग्दो बहस ?

उता, राजावादी उत्साहित छन् । मण्डले राष्ट्रवादको स्वर उरालिएको छ । केपी र माधव महाकालीको दोष पखाल्न खोज्दै छन् ।
नेपाली राजनीतिको पछिल्लो परिघटनालाई लिएर १ पुसमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले संयुक्त विज्ञप्तिमार्फत कार्यगत एकता गर्ने जनाएका छन् ।

माओवादी महासचिव विप्लव, किरण र मोहनविक्रम सिंहले संयुक्त विज्ञप्ति निकालेका हुन् । यसले नेपाली राजनीतिमा नयाँ ध्र्रुवीकरणको संकेत देखापरेको छ । यो मोर्चामा एमाले, नेपाल मजदुर किसान पार्टी र सिपी मैनाली नेतृत्वको नेकपा मालेसहित सहभागी भए झनै राम्रो हुने थियो ।

स्वाभिमान र आदर्शलाई नचुकाई र आस्थालाई नझुकाई राजनीतिमा टिक्नु र बजारमा बिक्नु क्या चुनौती छ । महान् बलिदानबाट स्थापित मूल्य–मान्यता आज कौडीको भाउमा अवमूल्यन हुँदै छ किन ? स्टालिनको निधनपछि सोभियत संघ विघटन भयो । माओको निधनसँगै चिनियाँ समाजवादी सत्ता ढल्यो, उनको देशका सामान्य प्राध्यापक र कर्मचारीले देश र राजनीति अनि कूटनीतिको निर्णय लिन सक्छन् । तर, हाम्रोमा भने चाहे प्रचण्ड, ओली, वैद्य र मोहनविक्रमको हकमा  राजनीतिक जिम्मेवारीबाट बाहिर हुनासाथ सायद चुलो बाल्न धौ–धौ हुनेछ– न कसैले सुन्छ न पुज्छ । कोमामा पुगुञ्जेल कार्यकारी पद चाहिने किन होला ?

राजनीतिक सत्ता र कार्यकारी जिम्मेवारीविहीन भएर आदर्शवान नेता हुन नसक्ने कस्तोे विडम्वना ! एउटा पसल थापेरै बस्नुपर्ने । यता, समाजमा बढेको भ्रष्टाचार र बेथितिले विस्तारै नयाँ युवा जमातलाई कम्युनिस्ट राजनीतिप्रति वितृष्णा जगाउन खोज्दै छ । कम्युनिस्ट राजनीतिमा लोकप्रियता, आस्था–निष्ठा र स्वाभिमानको ग्राफ निकै ओरालो लागेको छ । जनतालाई धूलो–मैलोमा भोकै राखेर महल पजेरोमा रमाउने, निष्ठा कम भएका मान्छे मात्र कम्युनिस्ट भएका हुन् भन्ने गलत छाप परेको छ । संसदीय राजनीतिविरुद्ध प्रयोग भएको माओवादी आन्दोलन आज सक्ने जतिले कमाऊ र रमाऊ भन्दै पुनः संसदीय राजनीतिको धारमा रुमल्लिँदै छ, कमाओवादीको पहिचानमा छ । आज नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख दायित्व भनेको कमनिस्ट र कमाओवादीविरुद्धको मोर्चाबन्दी हो ।

हिजो बहसको विषय चीन र रुसकै परिवेशमा कसरी समाजवादी सत्ता स्थापना भयो भन्नेमा थियो । त्यही बहसमा तटस्थ बसेको उत्तरकोरिया आज अमेरिकाको सातो बोलाइरहेछ । चीन र रसियाले दुनियाँ हल्लाइरहेछ । हाम्रा अग्रज भने त्यही बहसमा यो ठीक र ऊ ठीक भन्दै जन्ती–मलामी गएका छन् । भात–पानी नचल्नेसम्म भएका छन् । कति समूहले इतिहासको पानाबाट अस्तित्व गुमाएका छन् । नेपालमा कम्युनिस्टविरुद्ध कम्युनिस्ट र लालझण्डाविरुद्ध लालझण्डा भिडाउने साम्राज्यवादी योजनालाई रोक्ने तागत देखाउलान् त नेपालका कम्युनिस्ट गुरुबाहरूले ?

हिजो चीन र रुसको बहस कसरी समाजवादी सत्ता स्थापना भयो भन्नेमा थियो । तर, हाम्रो बहस कुरा र गफगाफमा मात्र जित्ने तर व्यवहारमा हार्ने किन भयो ? पार्टीभित्र गुट र गुटभित्र उपगुटको संसारमा रमाउने संस्कार छाडेर नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको औचित्य पुष्टि गर्न ऐतिहासिक अवसर आउँदै छ । आत्मग्लानि र पश्चाताप होइन, दृढ अठोटका साथ अगाडि बढ्नेहरूलाई सहयोग गर्न सक्छौं ? जनता विकल्पको खोजीमा छन् । पछाडि फर्केर होइन, अगाडि बढेर जान तयार छन् । के हाम्रा नेता र हामी नयाँ विकल्पको बहस र प्रयोगमा जान सक्छौँ ?


प्रतिक्रिया दिनुहोस !