एमाले बैठक रोकियो,मन्त्री छान्ने जिम्मा प्रचण्डलाई तोकियो

एमाले बैठक रोकियो,मन्त्री छान्ने जिम्मा प्रचण्डलाई तोकियो

अहिले १ बजे बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । १० बुँदे सहमति अनुमोदन र सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले स्थगित भएको बताइएको छ ।

यसअघि हिजो साँझका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । माधव नेपाल पक्षसहितको बैठक बसेर कार्यदलको प्रस्ताव पारित गर्ने तयारी थियो । तर,बरिष्ठ नेता माधव नेपाल कार्यदलको प्रस्तावमा सहमत नभएपछि बैठक स्थगित भएको बताइन्छ ।

सहमतिबारे नेता नेपाललाई बुझाउन बिहान कार्यदलका सदस्यहरु कोटेश्वर पुगेका छन् । आज बिहानै उपाध्यक्ष भीम रावलले नेता नेपाललाई भेट्नुभएको थियो ।

यता,नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा भर्खर सकिएको छ । सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्न बैठक बसेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार बैठकले मन्त्री टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बैठकले हिजोको फैसलाको स्वागत गर्दै अदालतलाई धन्यवाद दिने निर्णय गरेको बताइएको छ ।

माओवादीले गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गरेर सरकारमा जाने मन्त्रीको नाम दिने तयारी गरेको बुझिएको छ । पम्फा भुसाल, जनार्दन शर्मा, देव गुरुङ्ग, देवेन्द्र पौडेल लगायत मन्त्रीको चर्चामा छन् ।

टिप्पणीहरू