अदालतको आदेश र नेताहरुको ‘बर्थ डे’

अदालतको आदेश र नेताहरुको ‘बर्थ डे’

आफ्नो जन्मदिन हरेकका लागि विशेष दिन हो । विशेष दिनलाई विशेष बनाउन जन्मदिन मनाउने प्रचलन नेपाली समाजमा बढ्दो छ । आफन्त,साथीभाइ, प्रियजनलगायतसँग हर्ष बाँड्दै उपहार र शुभकामना लिनु जन्मदिनको खास विशेषता हो ।

आमरुपमा समेत जन्मदिन मनाउने प्रचलन सामान्यकृत भइसक्दा सेलिब्रिटीहरुको जन्मदिन अझ खास हुने गर्छ । मुलुक हाँक्ने जिम्मेवारीमा रहेका राजनीतिक दलका शीर्ष नेताहरुको जन्मदिन झन् खास नहुने कुरै भएन । तर,नेताहरुको जन्मदिनकै दिन राजनीति नै उलटपुलट हुने गरी आएका सर्वोच्च अदालतका पछिल्ला फैसला भने अनौठो संयोग बनेका छन् ।

पार्टीको अन्तरसंघर्षमा तटस्थ रहँदै आउनुभएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आज ७३ औँ जन्मदिन मनाउँदै हुनुहुन्छ । गौतमको जन्मदिन अदालतको फैसलाले एमाले नेतृत्वको सरकार ढल्ने अनौठो संयोग बन्यो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज फैसला सुनाउँदै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै ओली नेतृत्वको सरकार औपचारिक बिदाइको पर्खाइमा छ । हिजोमात्र सर्वोच्चको फैसलापछि एमाले एकता हुने दाबी गर्नुभएका गौतमलाई अदालतको फैसला ‘सरप्राइज गिफ्ट’ बन्न पुग्यो ।

जन्मदिनमा अदालतबाट ‘सरप्राइज गिफ्ट’ पाउनेमा एमाले वरिष्ठ नेता माधव नेपाल पनि पर्नुहुन्छ । नेता नेपाल नेकपाको अन्तरसंघर्षमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध वारपारको लडाईं लड्दै गर्दा सर्वोच्चले माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काइदिएको थियो । नेता नेपालको जन्मदिन फागुन २३ गतेको उक्त फैसलाले उहाँलाई नसोचेको झट्का दिएको थियो । नेता नेपाललाई झण्डैझण्डै पार्टीविहीनताको अवस्थामा पुर्याउने अदालतको उक्त फैसला र उहाँको जन्मदिन अचम्मको संयोग बन्यो । सायद हरेक वर्ष जन्मदिन मनाउँदा नेता नेपाललाई सर्वोच्चको त्यो फैसलाले झस्काइरहन्छ ।

जन्मदिनमा अदालतबाट नमीठो झड्का पाउनेमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पनि हुनुहुन्छ । फागुन ११ गते जतिबेला संसद विघटन विरुद्ध मुद्दाको फैसला आउँदै थियो,प्रधानमन्त्री ओली बालुवाटारमा जन्मदिनको कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । केक काटेर प्रियजनहरुसँग मुख मीठो बनाउँदै गर्दा सर्वोच्चले ओलीले गरेको संसद विघटनको निर्णय उल्ट्याएर जन्मदिनको ‘सरप्राइज गिफ्ट’ दिएको हो ।

टिप्पणीहरू