अब म कम्युनिष्ट रहिनँ

  • भीमबहादुर कडायत, माओवादी परित्याग गरी नयाँ शक्ति प्रवेश गरेका नेता

अछाम सदरमुकामस्थित माध्यमिक विद्यालयको प्रधानाध्यापक हुँदाहुँदै कम्युनिष्ट संगठन निर्माणमा सक्रिय भएकै कारण जागिर खोसिएका भीमबहादुर कठायतले मालेकालदेखि एमाले, महाकाली सन्धिपछि फेरि माले र एकता पछि एमाले हुँदै आफ्नो राजनीतिक यात्रा निरन्तर चलाए । माओवादी शान्तिप्रक्रियामा आएसँगै उतै गए । सुदूरपश्चिममा प्रेमसिंह धामी र भीमबहादुर कडायत नै हुन्, पञ्चायतकालदेखि कम्युनिष्ट आन्दोलनको विरासत थेग्ने । तर, पार्टीमा भीम रावलहरुको जग्जगी चल्न थालेपछि तिनलाई उत्पादन गर्ने कडायतहरु नै त्यहाँ टिक्न सकेनन् । महाकाली सन्धिको विरोधमा एमाले विभाजित हुँदा मालेमा गए । फर्किएर जाँदा आफ्नो क्षेत्रमा अरु नै हावी थिए, आफ्नो भूमिका शून्यमा पु¥याइएको रिसमा पार्टी त्यागे । अहिले फेरि माओवादी छाडेर बाबुरामको नयाँ शक्तिमा लागेका छन् ।

० माओवादी किन छाड्नुभयो ?

– जनयुद्ध लडेर राजतन्त्र समाप्त पार्न सहयोग गरेका कारण १० वर्षअघि एमाले छोडेर उक्त पार्टीलाई समर्थन गरेको थिएँ । जनयुद्धमा ज्यान गुमाएकाका परिवार, घाइते, अपांग सब लागेर, २० औँ वर्षदेखि नेपाली जनताको बीचमा काम गरिरहेका कांग्रेस–एमालेलाई हराउँदै जनताले माओवादीलाई एक नम्बरको पार्टी बनाए । तर, जनताको आशाको व्यवस्थापन गर्नुको सट्टा त्यसमा उहाँहरुले तुषारापात गर्दै जानुभयो । अहिले हेर्नुस् त, नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादी गरेर थुप्रैचोटि फुटिसके । त्यसैबाट डा.बाबुराम भट्टराईले नयाँ शक्ति बनाउनुभयो । नयाँ संकल्प गरेर बाबुरामजी आउनुभएपछि त्यसलाई स्वागत गरेँ ।

० प्रचण्डसँगका असहमति के–के थिए ?

– १० वर्ष जनयुद्ध हाँकेको कोर टीमलाई पनि लिएर जानसक्नुभएन । मैले ०३८ सालमा जिल्ला पार्टी सक्रिय दलबाट काम शुरु गरेँ । महाकाली सन्धिमा मत विभाजित हुँदा वामदेवजीहरुलाई समर्थन गरेँ । पछि फेरि एमालेमा फर्कियौँ । ‘माले वारिका, एमाले  जति पारिका’ भनेजसरी पनि एमालेमा बसियो । पछि एकता गरिए पनि सबैलाई उल्लु बनाउने काम मात्रै भयो । माओवादीमा त त्यो भन्दाबढ्ता विकृति देखियो ।

० तपाईं जनयुद्ध नलडेको मान्छे, तर जनयुद्धको माया किन यति धेरै ?

– नेपाली कांग्रेसले जनमुक्ति सेना गठन गरेर ००७ सालमा राणाशाही ढाली  ०४८, ०५६ सालमा बहुमत ल्यायो । एमालेले (तत्कालिन माले) ०२८ सालमा झापा संघर्ष चलाएकै हो । तर, माओवादी शान्तिप्रक्रियामा आएपछि तेस्रो पार्टी भयो । ०५१ सालमा एमाले पहिलो पार्टी भयो, अल्पमतकै भए पनि एक्लो सरकार बन्यो । मैले नै सेती–महाकालीबाट ११ सिट जिताएर एमालेले सरकार बनाएको हो । तर, ०६४ मा तेस्रो बन्यो । त्यहाँका नेता, कार्यकर्ताको परिश्रमले फेरि दोस्रो पार्टी भएको छ । १० वर्ष युद्ध हाँकेको, न भूतो न भविष्यतो भनेजस्तो पार्टी किन यसरी स्खलित भयो ? जनता दोषी त हैनन् । कांग्रेस–एमाले पनि दोषी हैनन् । उनीहरुकै आन्तरिक कारणले हो † माओवादी जनयुद्धको विरासत बाबुरामसँग पनि छ । बौद्धिक मान्छे हुन्, इञ्जिनियर नै हुन् । उनले किन माओवादी छाडे ? देशको प्रधानमन्त्रीसम्म बनेका मान्छे, पार्टीको पनि दोस्रो हैसियतमा काम गरेका मान्छे । उनलाई माओवादी चाहिएन । मोहन बैद्यलाई चाहिएन, विप्लवलाई चाहिएन । अनि, भीमबहादुर कडायतलाई मात्रै किन चाहियो ? म त जनयुद्ध लडेको होइन, एमालेबाट गा’हुँ । तर, गणतन्त्र र समाजवादका लागि त्याग त मैले पनि गरेको छु नि !

० तीन हजारसम्मको केन्द्रीय कमिटी भएको त्यत्रो पार्टी छाड्नुभयो नि है ?

– ल, भन्नुस्, दुनियाँमा कहाँ छ त्यस्तो ? सबभन्दा ठूलो देश चीनको कम्युनिष्ट पार्टीमा सात जनाको स्थायी कमिटी, पोलिट्ब्युरो २५ जनाको छ, एक–डेढसयको केन्द्रीय कमिटी छ । त्यो पार्टीका सदस्य छन्, आठ–नौ करोड । पौने तीन करोड जनसंख्या भएको देश, एक–डेढ लाख सदस्य भएको पार्टीमा चार हजार केन्द्रीय सदस्य † तीन सय कुन्नी कति त पोलिट्ब्युरो रे † हिजो अस्ति लालगद्दार भनेर हिँडेका मान्छे एकतापछि पोलिट्ब्युरो हुन पुगेका छन् † के कारण एकता भयो ? कम्युनिष्ट भनेको त सत्यबाट तथ्यमा पुग्ने हो नि † भन्दा कम्युनिष्ट भन्ने, व्यवहार पाखण्डको प्रदर्शन गर्ने, ढोँगी हुने ? एमालेमा त्यही देखियो, माओवादीमा त्यही देखियो । अहिले त देशमा सबभन्दा ढोँगी भनेकै कम्युनिष्ट भए । वर्गीय लडाइँ कहाँ गयो ? सत्ता, शक्ति र सम्पत्तिका लागि मारामार ग¥या’छन्, पार्टी फु’टाछन् † केका लागि ? यो सब देखेर परित्याग गरिदिएँ ।

० हिजो एमालेसँग जति मोहभंग भा’थ्यो, १० वर्षमा प्रचण्ड माओवादीसँग त्योभन्दा बढी वितृष्णा पैदा भयो ?

– प्रचण्ड हैन, सम्पूर्ण माओवादी भनौँ न † तुलनात्मक रुपमा बाबुरामले जे भन्नुभएको थियो, स्थिति त्यही बनेर आयो । उहाँले माओवादीको काम छैन भन्नुभा’थ्यो । नभन्दै नयाँ शक्तिमा राजनीतिज्ञहरुसँगै कलाकार आए, कर्मचारी आए, प्रहरी आए, डाक्टर, इञ्जिनियर, वकिलहरु त कति हो कति ! साराका सारा मान्छे नयाँ शक्ति भइसके । फुल डेमोक्रेसी त यो हो नि !

० प्रचण्डले दिएको सम्पत्ति विवरण पनि ढोँग हो ?

– उनले मलाई सम्पत्ति बुझाउने हुन् र मलाई थाहा हुन्छ ?

० अहिले प्रचण्ड चर्को भारतपरस्त भा’छन्, पहिला उनै चर्को भारतविरोधी थिए । किन होला ?

– पहिला कसैलाई कसैसँग रिस उठ्यो भने दरबारिया भन्थे । अहिले दरबार छैन । कोही मान्छेलाई केही भन्नुप¥यो कि, ‘भारत’ भनिदिए पुग्यो । अहिले पनि ४० लाख नेपाली भारतका सडकदेखि महलसम्ममा छन् । कोही राष्ट्रवादी भए तिनलाई फर्काउनुप¥यो नि † दैनिक १५ सयदेखि दुई हजार युवा खाडी जान्छन् । यो २७ वर्षसम्म कांग्रेस–एमालेले मात्रै सरकार चलाए । खै के भयो त परिवर्तन ? एउटा देशमा पार्टीपिच्छेका राष्ट्रियता छुट्टै हुन्छ ? माओवादीको अलग्गै राष्ट्रियता, एमालेको अलग्गै, कांग्रेस, राप्रपाको अलग्गै राष्ट्रियता भनेजस्तो व्याख्या हुने गरेको छ । इण्डियामा एक अर्बभन्दा बढी जनसंख्या छ, विविध किसिमको प्रान्त छ, ‘हिमालयसे कन्याकुमारी तक हमारा देश एक’ भन्छन् । भाजपाले पनि त्यही भन्छ, कंग्रेस आइले पनि त्यही भन्छ । हाम्रो देशमा पनि कोही अराष्ट्रिय तत्व छैनन् । के नेपाली सेनाले सिमानाको रक्षा गर्न कुनै लडाइँ आजसम्म लडेको छ ? कहिले सिमाना मिचिन्छ, कहिले अतिक्रमण हुन्छ । त्यस्तो बेला त्यहाँका बासिन्दाहरु नै लडेका छन् । सरकारमा हुँदासम्म दिल्ली धाउने, हट्नासाथ राष्ट्रियता ? यस्तो पनि हुन्छ ?

० संघीयताको नाममा जुन वितण्डा चलिरहेको छ नि, किन होला ?

– त्यसको कारक जम्मै हामी हो । पहिलो संविधानसभा जम्मा दुई वर्षका लागि बन्यो । तर, त्यसबाट संविधान बनेन । लगभग तीस अर्ब रुपैयाँ खर्च भयो । नेपाली जनताको गाँस काटेर, जुम्ला, बाजुरा, अछामका जनता सिटामोल नपाएर मर्ने अवस्थामा जिम्मेवार पार्टीले संविधानसभाबाट संविधान बनाउन आठ वर्ष लगाए । कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकारमा इतिहासमै रेकर्ड राख्ने गरी ६–६ जना उपप्रधानमन्त्री भए । भारतको इतिहासमा जनता पार्टीको सरकार हुँदा जम्मा एकचोटि दुई जना उपप्रधानमन्त्री । खानेबेलामा मिलिजुली खाऔँ भनेर एक ठाउँ बस्ने, देखिहाल्नुभयो, सांसदको सुविधा बढाएको । जब देश र जनताको लागि केही गर्ने बेला आउँछ, अनि विवाद हुन्छ । संघीयतालाई सबैले मानिसकेपछि सबैलाई एक ठाउँमा राखेर निराकरण गर्नुपर्ने हो नि † जनतालाई भेडाबाख्रा सम्झिएर यिनीहरु टकराव गर्दै छन् । ९० प्रतिशतले बनाएको संविधान भन्छन्, एक वर्ष भयो लागु हुँदैन † यो अकर्मण्यता, अयोग्यता पार्टीका शीर्षस्थ नेताको होडबाजीका कारण भएको हो । यो कुनै विवाद होइन । नेपाली जनता र नेपाल राष्ट्रको भलो चिताउने हो भने विवाद गर्ने कुरा छैन ।

० माओवादीमा रहुञ्जेल बाहिरबाट आएको भनेर कत्तिको हेपे ?

– त्यहाँ त ‘मैँ लाऔँ, मैँ खाऔँ, सुखशयल मैँ गरुँ’ भन्ने मानसिकता रहेछ † हामी एमालेमा हुँदा अर्को पार्टीबाट आएको साथीप्रति गौरव महसूस गथ्र्यौं । एक कदम पछाडि हटेर पनि स्थान दिन्थ्यौँ । तर, माओवादीमा पुराना गतिविधिमा आपसमै रम्ने † नयाँ मान्छे आएपछि ‘खानै आयो कि क्या हो’ भनेर सौता पसेजस्तो व्यवहार गर्ने !

० माओवादी नै छाडेपछि पुरानै पार्टी फर्किएको भए हुँदैनथ्यो र !

– के गर्न फर्किने एमालेमा ? सत्ताको लागि, सम्पत्तिको लागि भन्ने हो भने हामी किसानका छोरा, अहिले पनि हलो जोतेर पेट पालिन्छ । यो मुलुकमा सर्वेसर्वा, देशकै मालिक भएर राजा बसेका थिए । तर, जनताले किन तिनलाई फाले ? जनताबाट निर्वाचित भएका केही बाहेकका मान्छे सेकेण्ड ज्ञानेन्द्र बनिसकेका छन् । साँँच्चै भन्ने हो भने हाम्रो देश गरिब छैन । तराईमा राम्रोसँग खेतिपाती गर्ने हो भने पहाडमा तराईले धान चामल पठाउँछ । जंगल, पानी, हामीसँग के छैन ? चार जना प्रधानमन्त्री बनाएर एमालेले नयाँ चिज के ग¥यो ?

० एमाले फर्किनुप¥यो भन्न कोही आएनन् ?

– किन नआउँदा हुन् ? मेरा केटाहरु अहिले पनि एमालेमै छन् । पार्टीका नेताले पनि भन्या होलान् † वामदेवजीले भन्या होलान्, माधवजीले भन्या होलान् † तर, केका लागि फर्किने ? खानका लागि ? खानलाई त म किसानको छोरो, खेतबारी छ, हलो जोतिहाल्छु । अहिलेसम्म एमाले नभएर बाँचेकै छु, खाएकै छु । क्याबिनेट मन्त्री भएर ज्वरो आए सिंगापुर, खोकी लागे अमेरिका हिँडेका छन्, देश गरिब भन्छन्, हरितन्नम् † यहाँ डाक्टर नक्कली, पाइलट नक्कली, इञ्जिनियर नक्कली !

० तपाईंकै कार्यकर्ता भीम रावल नेता भइसके, तपाईंचाहिँ किन यस्तो हराउनुभएको ?

– छैठौँ महाधिवेशनमा अछामको पाँच नम्बर इलाका कमिटी सदस्य हुन्, भीम रावल । जब पार्टी फुट्यो, हामीलाई आरोप लगाए । अहिले सम्झिँदा त्यतिबेला पार्टी नफुटाएको भए भीम रावलजस्ता इलाका सदस्यहरु यति माथि–माथि नहुने रहेछन् । जानीबुझेरै हामीलाई गलहत्याएका रैछन् ! मैले अछाम जिल्ला, सदरमुकामको हेडमास्टर छोडेर मालेमा काम गरेको हुँ । तर, भयो के त ? टायरको चप्पल लगाउन नभएकाहरुको तीन करोडको बिल्डिङ ठडियो, काठमाडौंमा । जनताको मुक्तिको लागि भनेर, सर्वहारा वर्ग भनेर हामी कम्युनिष्ट पार्टीमा लाग्यौँ, तर यिनीहरु व्यवहारमा सबभन्दा ठूला सामन्त भए ।

० अब तपाईं कम्युनिष्ट रहनुभएन ?

– भारतमा भाजपा र कंग्रेस आई अस्तित्वमा छन् । के तिनीहरुबीच कहिल्यै संयुक्त सरकार बन्छ ? अमेरिकामा डेमोक््रयाट र रिपब्लिकनबीच कहिल्यै संयुक्त सरकार बनेको देख्नुभएको छ ? तर, हाम्रोमा कांग्रेस र कम्युनिष्टको संयुक्त सरकार बन्छ । केका लागि ? जनतालाई ठग्न होइन ? त्यस्तो बेलामा माओवादीले केही गर्ला भनेर एउटा आशाको किरण पलायो । तर, एमालेभन्दा पनि खत्तम भएर सकियो । नेपालमा नामका कम्युनिष्ट धेरै भए, व्यवहारका कोही भएनन् । म पनि भइनँ । हो, हिजो म पनि कम्युनिष्ट नाम लेखेको पार्टीमा थिएँ, आज कम्युनिष्ट नाम नलेखेको पार्टीमा गएँ । नेपालमा कम्युनिष्ट हुन कसैले सकेनन्, साइनबोर्डमात्रै हो । विचारले त म सधैँ कम्युनिष्ट तर, पार्टीले म अब कम्युनिष्ट होइन ।

० पार्टी छोड्ने भएपछि प्रचण्डले केही भनेनन् ?

– म माओवादी होइन नि यार, म त एमाले नि ! माओवादीलाई साथ पो दिएको !

० तपाईंले छोडेर सुदूरपश्चिममा माओवादीलाई कति क्षति हुन्छ ?

– अछाम, कैलाली, कञ्चनपुरतिर त असर देखिन थालिसक्यो ।

० आजकल जीविका कसरी चल्दैछ ?

– नागढुंगामा मनोज सिग्देल भन्ने स्थायी शिक्षक छन्, उनीसँग एक रोपनी जग्गा भाडामा लिएर जस्तापाताको घर बनाएको छु । उनले गाइपालेका छन्, बिहान बेलुकी गाईको पूजा गरेर मलाई पनि दूध दिन्छन् । उनलाई एक वर्षको १० हजार दिन्छु । जेठो छोरो लम्कीमा किसानी गर्दैछ ।

टिप्पणीहरू