प्रधानमन्त्रीको सम्पत्ति

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति देखेर मानिस चकित भएका छन् । सम्पत्ति देखेर भन्दा पनि सम्पत्ति नदेखेर चकित भएको भन्दा शायद ठीक होला । उहाँले हालै आफ्नो सम्पत्ति विवरण जो सार्वजनिक गर्नुभयो, त्यसमा विवरण मात्रै छ, सम्पत्ति केही छैन । त्यसपछि मानिसले प्रश्न उठाउन थाले, सम्पत्तिचाहिँ खोइ त ?

पहिले–पहिले कमरेड मानिस भन्ने गर्थे, प्रचण्डसँग यत्रो सम्पत्ति कहाँबाट आयो हँ ? अहिले उहाँको सम्पत्ति विवरण हेरेपछि तिनै मानिस भनिरहेका छन्, प्रचण्डसँग त्यत्रो सम्पत्ति थियो, कहाँ गयो हँ ?

कस्तो अप्ठ्यारो । सम्पत्ति छ, भन्यो कहाँबाट आयो भन्छन् । छैन भन्यो कहाँ गयो भन्छ । वास्तवमा प्रधानमन्त्रीले धेरै समयसम्म सम्पत्ति विवरण सार्वजनिक नगर्नुको कारण नै यही हो । विवरण सार्वजनिक नगरुञ्जेल विवरण खोइ भन्दै थिए । सार्वजनिक गरेपछि सम्पत्ति खोइ भन्दै छन् । अब कहाँबाट ल्याएर देखाउनु सम्पत्ति ? सम्पत्ति नभएर विचरा प्रधानमन्त्रीज्यू अहिलेसम्म डेरामा बसिरहनुभएको छ । लाजिम्पाटमा उहाँको डेरा सबैले देख्नुभएकै होला । अब एउटा डेरावाल प्रधानमन्त्रीसँग कहाँबाट आउनु अकूत सम्पत्ति ?

टिप्पणीहरू