ख्वै, केही दिएन

महाभूकम्पले जे–जति ध्वस्त बनाएको हो त्यसको पुनर्निर्माण गर्न भनेर सरकारले एउटा प्राधिकरण गठन गरेको थियो । सुन्नमा आएको छ, प्राधिकरणका इञ्जिनियर यतिवेला पुनर्निर्माणको काम छाडेर हडतालतिर लागिरहेका छन् रे ! हडताल इञ्जिनियरको माग रहेछ, सरकारले हामीलाई भत्ता दिएन ।
उता, भूकम्पपीडितको माग छ, यो पुनर्निर्माण प्राधिकरणले हामीलाई राहत दिएन । जम्मै पीडितलाई राहत दिने भनेर सरकारले कार्यक्रम नै बनाएको थियो । तर, प्राधिकरणले त्यो बाँडिदिएन । त्यसैले पीडित भनिरहेका छन्, ‘हामीलाई राहत दिएन ।’
अर्कोतिर प्रधानमन्त्री प्रचण्डले भनिरहनुभएको छ, यो पुनर्निर्माण प्राधिकरणले मलाई रिजल्ट दिएन । काम राम्रो गरेन । त्यसैले रिजल्ट राम्रो आएन ।
अब तपाईं प्राधिकरणका प्रमुखलाई सोध्नोस्, उहाँको पनि गुनासो रहने गरेको छ, हामीलाई कर्मचारीले सहयोगै दिएन । कर्मचारीलाई सोध्नोस्, उनीहरू भन्छन्, प्राधिकरणले हामीलाई सुविधै दिएन ।
सुविधा दिन पैसा चाहियो । प्राधिकरण भन्छ, सरकारले बजेट दिएन । बजेट बनाउने निकाय अर्थ मन्त्रालय हो । अर्थको गुनासो छ, दाताले पैसै दिएन । दाता भन्छन्, पैसा त दिने भनेकै हो, हामीलाई योजना दिएन ।
अब योजनाकार भन्छन्, योजना कसरी बनाउने, त्यसका लागि कमिशन दिएन ।
सबै कुरा दिएनमा अडिएको छ । के सरकारलाई थाहा थिएन ?

टिप्पणीहरू