बिर्सिए, बिर्सिए सबै कुरा बिर्सिए « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

बिर्सिए, बिर्सिए सबै कुरा बिर्सिए

प्रकाशित मिति :  ८ पुष २०७३, शुक्रबार ०८:४०


शहिद परिवारको बिचल्ली छ, टुहुरा बच्चाको बिजोग छ, घाइते अझै छर्रा बोकेर बाँचेका छन्, युद्धका घाउ बल्झिरहेका छन् । उपचार छैन, राहत छैन । नेता बिलासी जीवनशैलीमा रमेका छन्, शहरमा महल ठड्याएका छन्, सन्तानलाई महँगो स्कुल, कलेजमा पढाएका छन् । सत्ता, पद, पैसा, ऐशका लागि जनतालाई ढाल बनाएर घर न घाटको बनाएको आरोप माओवादीलाई त्यसै लागेको होइन । जनयुद्धताका बाँडेका आश्वासन, घन्काइएका नारा नेताकै स्वार्थमा लिप्त रहँदा जुन जोगी आए पनि कानै चिरेका भन्दै जनता निराश बनेका छन् । जनयुद्धको आधारइलाका मानिएको रुकुम, रोल्पाका जनता माओवादीले खोला तरेर लौरो बिर्सने काम गरेको बताउन थालेका छन् ।

अरू त परको कुरा, माओवादीले युद्धताका रुकुम चुनवाङ गाविसको भेरीडाँडामा स्थापना गरेको केन्द्रीय कार्यालयको हविगत देख्दा धेरै कुरा प्रष्ट हुन्छ । ‘त्यतिवेला केन्द्रीय समितिका पदाधिकारीको नियमित आवत जावत हुन्थ्यो,’ एक सहिद परिवारका आफन्तजनले भने,  ‘सर्वाेच्च कमाण्डर (अहिलेका अध्यक्ष) पुष्पकमल दाहाल (प्रचण्ड) पनि सोही गाविसका विभिन्न स्थानमा बसोबास गर्थे, अहिले त पूरै बेवास्ता छ, अपमान छ ।’

विस्तृत शान्ति–सम्झौतापछि उक्त कार्यालय काठमाडौंको पेरिसडाँडा सारियो, जुन कुरा यहाँका बासिन्दालाई थाहै दिइएन । अहिले बेवारिसे अवस्थामा रहेको उक्त कार्यालयमा कुनै राजनीतिक गतिविधि हुँदैन । स्थानीयले यस कार्यालयलाई पर्यटकीय क्षेत्र बनाउनसमेत माग गरेका छन् । स्थानीयले द्वन्द्वको वेला केन्द्रीय कार्यालय र नेताको कडा सुरक्षा गरे । उनीहरूलाई जनयुद्धको आधारइलाका देशको राजधानी बन्छ भनेर ढाँटिएको रहेछ । तत्कालीन केन्द्रीय कार्यालय अहिलेकोे पेरिसडाँडादेखि सम्पर्कविहीन छ । चुनवाङ र पेरिसडाँडाको सम्बन्धमा तुषारापात भएको स्थानीयको बुझाइ छ । ‘हामीले कार्यालय र नेताको सुरक्षा ग¥यांै,’ स्थानीय प्रभात विष्टले भने, ‘अहिले नेता र पार्टीले यस गाउँलाई भुले ।’ माओवादी शान्ति प्रक्रियामा आएदेखि हालसम्म कुनै शीर्ष नेता चुनबाङ पुगेका छैनन् ।

अध्यक्ष प्रचण्ड रोल्पाको राङकोट सपरिवार पुग्दा यहाँका बासिन्दा पनि आफ्नो गाउँघर आउने आशामा थिए । तर, प्रचण्ड त्यतैबाटै फर्किए, चुनबाङ आएनन् । ‘राङकोटबाट आउन पैदल दुई घण्टा मात्र लाग्छ,’ स्थानीय छयालालसिंह पुनले भने, ‘प्रचण्डले जनयुद्धको आधारभूमिलाई माया मारिसकेछन् ।’ हामी माओवादीलाई जिताउन लड्न–भिड्न पछि परेकै होइनौं, स्थानीय मनलाल खड्काले प्रश्न गरे, ‘हाम्रो योगदानमा कहाँनेर माओवादीले खोट देख्यो र उपेक्षा ग¥यो ?’

आफूले गाँस, बास र सुरक्षा दिएका प्रचण्ड मुलुकको प्रधानमन्त्री भएको बेला दाङको घोराहीदेखि चुनबाङ नियमित सडक सञ्जालसँग जोडिनुपर्ने, मुसीकोट–चुनवाङ, काँक्री–चुनवाङ सडक सञ्चालनमा आउने आशा भने बोकेका छन् । मुसीकोट–चुनवाङ सडक शुरु गरिएको १५ वर्ष पुग्दा १२ किलोमिटर मात्रै बनेको समाचार यसअघि जनआस्थामा प्रकाशन भएको छ । ‘यहाँका विद्यालय, खानेपानीलगायत पूर्वाधार पहिलेकै जस्तो अभावपूर्ण छन् जस्तै छन्,’ उनले भने । भेरिडाँडामा तत्कालीन नेकपा माओवादीकोे ०६२÷०६÷१८ देखि २२ सम्म केन्द्रीय बैठक चलेको थियो । सोही बैठकबाट माओवादी शान्ति वार्तामा आउने निर्णयमा पुगेको हो ।


प्रतिक्रिया दिनुहोस !